पोखरा – पोखराको औद्योगिकीकरणका अगुवा फणिन्द्रमान श्रेष्ठको आज ८० वर्षको उमेरमा निधन भएको छ ।
गण्डकी नुडल्स प्रालि स्थापना गरी दक्षिण एसियाकै पहिलो चाउचाउ ‘रारा चाउचाउ’ उत्पादनको सुरुवात गर्ने फणिन्द्रकै अगुवाइमा पोखरामा शक्ति ग्यास कम्पनी,निलगिरी सोप एण्ड इण्डष्ट्री स्थापना भएको थियो ।
शक्ति ग्यास कम्पनीबाट अहिले पनि शक्ति ब्राण्डको खाना पकउाने एलपीजी ग्यास उत्पादन हुन्छ भने निलगिरि साबुन उद्योग भने बन्द भइरहेको छ । रारा चाउचाउको उत्पादन पनि भइरहेको छ । पछि सो उद्योगको स्वामित्व सूर्यबहादुर केसीले लिएका थिए ।
पूर्वसांसद समेत रहेका सूर्यबहादुरको निधनपछि कम्पनी उनका छोराहरुले हाँकीहरको छन् । फणिन्द्रमान पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् ।
२०४७ देखि २०५९ सालसम्म संघको अध्यक्ष रहेका उनले पोखराको औद्योगिकीकरणमा ठूलो योगदान पु¥याएको पूर्वअध्यक्ष अशोक पालिखेले बताए ।
पालिखेका अनुसार बेलायती सेनाबाट निवृत्त भएपछि उनी उद्योग स्थापनातर्फ लागेका थिए । ‘बेलायती सेनामा रहँदा देखेका र सिकेका कुरालाई व्यवहारमा उतार्न र देशमा औद्योगिक वातावरण निर्माणमा उहाँको ठूलो योगदान छ’,पालिखेले भने,‘त्यो बेला उद्योग स्थापना गर्नु सजिलो थिएन अझ दक्षिण एसियामै पहिलो चाउचाउ उद्योग खोल्ने सोचलाई जति प्रशंसा गरेपनि कम हुन्छ ।’
कालान्तरमा फणिन्द्रमानले उद्योग छाडे तर उनले उद्योगप्रतिको मोह त्यागेनन् । खाना पकाउने ग्याँस, साबुनलगायतका फरक उत्पादनमा मन लगाइरहे । जीवनको उत्तरार्धमा भने उनी आफ्नो जन्मथलो लमजुङ दुरडाँडाको फोस्रेगाउँमा बसोबास गर्थे ।
गाउँमा रहँदा पनि उनी कृषिमा आधुनिकीकरण गर्ने कर्ममा लागिरहेको स्थानीय राजनीतिज्ञ प्रेमबहादुर दुराले जानकारी दिए ।‘उहाँसँगको भेटमा सर्धैं गाउँमा केही गर्नुपर्छ भन्ने कुरा हुन्थ्यो’,दुराले फणिन्द्रलाई सम्झे ।
१९९८ सालमा लमजुङको दुराडाँडाको फुस्रेगाउँमा जन्मेका फणिन्द्रमानको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो । उनी पाचन तथा पिसाबसम्बन्धी रोगले ग्रसित रहेको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । संघले उनको निधनमा शोक व्यक्त गरेको छ ।
फणिन्द्रमानका एक छोरा र एक छोरी छन् । छोरा रमेश श्रेष्ठका अनुसार पिताको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।





