बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

काटेको धान झरीले कुहिने डर, भोक टार्ने चिन्ता

काटेको धान झरीले कुहिने डर, भोक टार्ने चिन्ता


  • ढोरपाटन संबाददाता
  • कार्तिक २ २०७८, मंगलबार

नवलपुर – बेमौसमी समयमा परेको निरन्तरको झरीले धानवालीलाई नराम्ररी असर पारेको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारको रुपमा मानिएको नवलपुरका अधिकांश भू–भागमा लगाईएको धानबालीमा समेत बर्षातले असर पारेको हो ।

यहाँ छिटो पाक्ने र केही ढिलो पाक्ने जातका धान लगाउने गरिन्छ । सुख्खा, कम पानी लाग्ने र टाँडी खेतमा छिटो पाक्ने र सिंचाईको राम्रो प्रवन्ध भएका तराई र मधेसका समथर फाँटमा ढिलो पाक्ने जातका धान लगाईएको थियो ।

छिटो पाक्ने धान भदौको अन्तिम सातादेखि अशोजको दोस्रो सातासम्म किसानले भित्राउन भ्याएपनि धेरै क्षेत्रफलमा लगाईएको ढिलो पाक्ने धान अहिले खेतमै कुहिने सम्भावना रहेकाले कृषकहरु चिन्तित छन् ।

दशैं अगाडि नै काट्न तयार भएको धान दशैंको उत्सवमा भकारीमा थन्क्याउन धपेडी हुने भएपछि दशैं लगत्तै कृषकहरुले धान काटेका थिए । अहिले ति काटिएका धानका पाँजा खेतमै डुवानमा परेको छ । त्यस्तै, हावासँगै आएको पानीले पाकेर पहेलपुर भएको धानका बोट नै जमिनमा सुतेका छन् ।

कावासोतीका कृषक यज्ञप्रसाद भुसालले करीव १ विगाहामा लगाएको काट्नै तयार भएको धान ढलाईदिएको बताए । कावासोती क्षेत्रमा लगाईएको धान सबै काट्ने बेला भएको र काटेको धान आकासे पानी खेतमा जम्दा डुवानमा परेको बताए ।

देवचुलीका किसान भोला काफ्लेले पनि १ बिगाहाको काटिसकेको धान पानीमा रुझेर भिजेको बताए । आईतवारदेखि निरन्तर परेको झरीले खेतमै डुवेको धान अव घाम लागे पनि नसुक्ने भन्दै धान–पराल केही काम नलाग्ने गरि नष्ट भएको बताए ।

विनयी त्रिबेणीको बगुवनका किसानहरुको भने चिन्ता भिन्दै छ । चैतेधान भित्राउने बेलामा असारे झरीले डुवायो । साउन र भदौमा विनयी खोला र नारायणीको बाढीले खेतको धान पुरिदियो । बचेकुचेको पाकेको धान भित्राउने बेलामा पनि पानीले डुवायो । बगुवनबासीको एउटै पिरलो छ– यसबर्षको भोक अव के गरि टार्ने ? बालबच्चाको मुखमा माड कसरी लगाउने ?

यता कृषि ज्ञान केन्द्र नवलपुरले भने खेतमा नकाटिएको र ठाडै रहेको धानलाई पानीले खासै असर नगर्ने हुँदा उत्पादनमा त्यति असर नगर्ने अनुमान गरेको छ ।

कार्यालय प्रमुख गोपाल लापमछानेका अनुसार गतसालको भन्दा राम्रो उत्पादन हुने प्रक्षेपण गरिएपनि भित्राउने वेलामा मौषम प्रतिकुल हुँदा १५ देखि २० प्रतिसत उत्पादनमा ह्रास आउने अनुमान छ । यसवर्ष नवलपुरमा मात्रै २० हजार ७ सय ३० हेक्टर जमिन क्षेत्रफलमा धानवाली लगाईएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->