पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित बनिसकेका प्रशिक्षकहरुले सहजिकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए ।
‘नाटकले मनोरञ्जन मात्र दिदैन, सन्देश पनि दिन्छ, यसको बेग्लै महत्व भएकोले गण्डकी प्रदेशका ११ जिल्लाका सहभागीलाई तालिम दिन लागिएको हो’ कुलपति विखर्चीले भने ।
‘तालिममा सिकेका सिपहरु प्रशिक्षार्थीहरुले आफ्नो जिल्लामा गएर प्रयोग गर्नुहुनेछ जसका कारण गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई क्रियाशिल बनाउन सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास हो’ उनले भने ।
गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको भनाई छ ।
‘प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्ति उत्पादन गरेर उनकै माध्यमबाट सो जिल्लामा नाट्य गतिविधि हुने वातावरण निर्माण गर्नेछौ’ श्रेष्ठले भने ।
नाटक निर्देशन कार्यशालाको लागि सहकार्य गरिएको संस्था पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना हुन लागेको कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुशी छौँ, नाटक निर्देशन कार्यशालाले गण्डकी प्रदेशको नाट्य क्षेत्रमा सकारात्मक उर्जा थप्नेछ’ परिवर्तनले भने ।
हरेक जिल्लाबाट नाटकमा क्रियाशिल बनेका व्यक्तिहरुलाई कार्यशालामा सहभागी गराउन लागिएको उनको भनाई छ ।
‘यो कार्यशालाले एउटा जग निर्माण गर्नेछ, रंगकर्मीलाई सक्रिय र संगठित बनाउन कार्यशालाले सघाउनेछ’ उनले भने ।





