बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई

लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७८, बुधबार

पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ ।

जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाए ।

अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक रहेका छन् । नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८ मा वितरण गरिने लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ ।

आयोजक पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमका अनुसार कोइरालाले लोक संगीतमा अतुलनीय दिएको योगदनाका कारण सम्मान गर्न लागिएको हो ।

कार्यक्रममा जेष्ठ कलाकार सम्मान र रगं पत्रकार सम्मान कार्यक्रम समेत गरिने उनको भनाई छ । पहिलो पटक अबार्ड वितरण गर्न लागिएका कारण केही बर्ष अघिका गीतलाई समेत छनोटमा मान्यता दिनेभएतापनि आगामी वर्षबाट हरेक वर्ष निस्किएका गीतले मात्रै सहभागीता जनाउन पाउने छन् ।

‘नेपाली कला संस्कृतीको क्षेत्रमा क्रियाशिल प्रतिभालाई थप उर्जाशिल बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएका हो’ गौतमले भने ।

यसपाली चलचित्र विधालाई समेट्न नसकेपनि अर्को वर्ष थप्दै जाने गौतमले बताए । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौ, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौ’ उनले भने ।

जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्नेगरी आफूहरुले कार्य गर्ने बताए । ‘कोरोनाले थलिएको विषम परिस्थितीमा पनि अवार्ड कार्यक्रम गर्ने आट गर्नु सुन्दर पक्ष हो, यस्ले कलाकारलाई उर्जा थप्नेछ’ उनले भने ।

अवार्ड वितरण कार्यक्रम आगामी कार्तिक ५ गते दिउँसो २ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा हुने तय भएको आयोजकले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->