बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुश्मा बजारका पाँच पसललाई जरिवाना

कुश्मा बजारका पाँच पसललाई जरिवाना


  • संजय रेग्मी
  • कार्तिक ४ २०७८, बिहिबार

पर्वत/ चाडपर्वको माहोल रहेकै बेलामा जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत सदरमुकाम कुश्मा बजारका बिभिन्न चोक तथा भित्री क्षेत्रमा रहेका पसलहरुमा छड्के अनुगमन गरेको छ ।
दशैँ सकिएर तिहार भित्रैनै लागेको बेलामा तिहारसँग सम्बन्धित खाद्य बस्तुहरु बजारमा भित्रिन सक्ने तथा उपभोग्य मिति सकिएका बस्तुहरुको समेत बिक्री वितरण हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथाकी, उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, जिल्ला प्रहारी कार्यालयका अन्य पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी र पत्रकारसहितको उपस्थितिमा पसलमा राखिएका सामग्रीहरुको अनुगमन गरिएको थियो।

बुधवारको अनुगमनलाई प्राय छायाँमा पर्ने साना गल्ली क्षेत्रमा केन्द्रित गरिएको तिहारमा कोसेलीको रुपमा उपभोग गरिने झिलिङ्गामा अनावश्यक रङहरुको प्रयोग गर्ने गरिएका त्यसमा बढी केन्द्रित गरिएको प्रजिअ खत्रीले बताईन्। ‘तिहार आउनै लागेको बेलामा दशैँमा जस्तो म्याद नागेका बस्तुलाई समेत घुसाएर बिक्री गर्ने, मूल्य सूची लुकाएर व्यापार गर्ने लगायतका समस्याहरु देखिने सम्भावना रहन्छ । तिहारमा प्रयोग हुने खाद्य वस्तुलाई आकर्षक बनाउन हानिकारक रासायनिक पदार्थको प्रयोग पनि भएको हुन सक्छ’, उनले भनिन्, ‘हामी तालिका बनाएर यता जाँदै छौँ भनेर अनुगमनमा जाँदैनौ, छड्के रुपमा जुन पसलमा जति बेला पनि पुगेका हुन सक्छौँ । प्रशासनकै कर्मचारी वा प्रहरी पनि ग्राहक बनेर पसलमा जान पनि सक्छन् ।’

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नवीन सुवेदीका अनुसार बुधबार बजारका विभिन्न १५ वटा पसलहरुमा छड्के अनुगमन गरिएको थियो । जसमध्ये उपभोग्य मिति गुज्रिएर पनि बिक्रीका लागि राखिएका सामग्रीहरु बरामद गरेपछि पाँच वटा पसलहरुलाई पाँच हजार रुपैयाँका दरले जरीवाना तिराइएको छ । अनुगमनका क्रममा ७५ पोका झिलिङ्गा, ३५ प्याकेट कुकिज बिस्कुट, लेवल नै नराखिएका घ्यूका डब्बा, २६ पोका दालमोठ, भुजा, मसला, चिया, दालमोठ, चिज बल्सलगायतका खाद्य वस्तुहरु बरामद गरिएको थियो । ती सबै सामग्रीहरुलाई जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लगेर नष्ट गरिएको छ ।

‘हामीले उपभोग्य वस्तुहरुको मूल्य सूची नराखेका पसलहरुलाई पनि विशेष निगरानीमा राखिरहेका छौँ । मूल्यसूची नटाँस्ने हो भने उपभोक्ता सिधै ठगिने खतरा हुन्छ । व्यापारीले नियम उल्लघंन नगरे त प्रशासनको डर मान्नै पर्दैन’, अधिकृत सुवेदीले भने, ‘अब तिहारको बेलामा अखाद्य बस्तुदेखि बिस्फोटक पदार्थको प्रयोग पनि बढुने सक्ने कुरामा हामी सचेत भएर अनुगमन गरिरहेका छौँ । त्यस्ता चिजको कारोबार नगर्न सबैमा अनुरोध गरेका छौँ, अटेरी गरेमा कारबाही हुन्छ ।’

चाडबाडको बेलामा प्रशासनले अनुगमन त गर्ने गरेको नै छ, त्यो बाहेकको बेलामा पनि नियमित रुपमा अनुगमन गर्ने हो भने उपभोक्ताको स्वास्थ्य अधिकारमाथि व्यवसायीले खेलवाड गरिरहेको पाइने उपभोक्ता बताउँछन् । तर अघिपछि भन्दा चाडबाडको बेलामा मूल्य वृद्धि, अखाद्य वस्तु, म्याद नाघेका सामग्रीलगायतको कारोबार अघिपछिको तुलनामा धेरै हुन सक्ने जोखिम भएका कारण प्रशासनले चाडबाड सहितका केही अवस्थाहरुमा बजारमा विशेष निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->