पर्वत / ‘कर तिर्न पोखरा काठमाडौंबाट जलजलाको केन्द्रमा आउनुपर्ने बाध्यता थियो । त्यति काम गर्नयहाँसम्म आउँदा बाहिर बसेका मान्छेको कति खर्च हुन्थ्यो,’ जलजला गाउँपालिकाका मिलन मल्ल भन्छन्, ‘अब त जो मान्छे जहाँ छ उसले त्यहींबाट आफूले बुझाउनुपर्ने कर तिर्न पाउने सुविधा पाइयो ।’
पर्वतको जलजला गाउँपालिकाले सेवाग्राहीको घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरु गरेको छ ।अनलाइनबाटै घरबाट कर तिर्ने सुविधा पाएपछि मिलनजस्तै अन्य ७ हजार बढी करदाता मख्ख छन् । ‘प्रविधिको प्रयोगले सबै कुरा सजिलो बनाएको बेलामा गाउँपालिकाले यो सुविधाको उपयोग गर्ने अवसर ल्याउनुले हामीलाई सजिलो हुने देखियो,’ मिलन भन्छन् ।
संघीयता आएपछि जनताको दैलोमा नै सिंहदरबारको अनुभूति हुने नागरिकको अपेक्षा थियो । सोही योजनाअनुरु जलजलाको अभ्यासले नागरिकलाई दैलोमा नै सरकार रहेको अनुभूति दिएको छ ।
गाउँपालिकालाई प्रविधिमैत्री बनाएर सेवाग्राहीलाई सकेसम्म कार्यालयमा नगई घरमै बसेर पनि काम गर्न सक्ने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले बताए। ‘गाउँपालिकाका सबै वडा सहज अवस्थामा नभएकाले थोरै कर तिर्न पनि धेरै पैसा खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न घरबाटै कर तिर्न सकिने व्यवस्था गरिएको हो,’ उनले भने ।
सबै वडा बराबर दूरीमा नभएको र सडक सञ्जालसमेत सहज नभएका कारण अनलाइनमार्फत कर तिर्ने सुविधाले सहज हुने क्षेत्रीले बताए । उनी भन्छन्, ‘एप्सबाट तिर्ने भएपछि घरमै बसेर थोरै मोबाइल डेटाबाट नै कर तिर्न सकिने अवस्था भएको छ। यसो गर्दा नागरिकको सास्ती थोरै भए पनि कम हुन्छ भन्ने हाम्रो अपेक्षा छ।’
गाउँपालिकाको कार्यालयका सूचना तथा प्रविधि अधिकृत अनिल खत्रीले गाउँपालिका भरमा रहेका ७८ सय करदाताले यो एप्समार्फत सजिलै आफ्नो कर बुझाउन सक्ने बताए। मोबाइल सेटमा आइएमई पेमार्फत गाउँपालिकाको प्रोफाइलमा गएर कर तिर्न सकिने जानकारी दिए । ‘एप्स’ सञ्चालनमा आएको केही दिन मात्र भएकोले अहिले ८÷१० जना करदाताले मात्रै रकम जम्मा गरेको भए पनि अब बिस्तारै सबै करदाताको पहुँचमा यो सुविधा पुग्ने पनि खत्रीले बताए ।
‘घर जग्गासम्बन्धी जति पनि करहरू लिँदै आइएको छ घरबाटै तिर्ने हो। सम्पत्ति तथा भूमि कर व्यवस्थापन गर्ने भनेर पालिकाले लगानी गरेर सफ्टवेयर बनाएको छ,’ उनले भने,‘त्यसमा करदाताको डेटाहरू राखिएको छ, कर तथा परिचय पत्र पनि राखिएको छ ।
तर, इन्टरनेटको सुविधा नभएको अवस्थामा वा अन्य असुविधा भएको समयमा भने पुरानै तरिकाबाट कर तिर्नुपर्ने खत्रीले सुनाए । ‘एप्स’ मार्फत नै कर तिरेका करदाता मल्लले गाउँपालिकामा पुगेर घन्टौं लाइनमा बसेर कर तिर्नुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरे । ‘अनलाइनबाट कर तिर्दा गाउँमा रहेकालाई त भइहाल्यो, बाहिर बसेकालाई झनै फाइदा भयो,’ उनले भने ।





