बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !

बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !

क्षति भएको ७ महिनासम्म हेर्न आउँदैन् बिमा कम्पनी ।


  • तारानाथ आचार्य
  • कार्तिक ११ २०७८, बिहिबार
business with csr

‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन् । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’

बागलुङ/ बरेङ गाउँपालिका २ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैंची लगाएका छन् । हिउँद बर्षा दुवै याममा देखिन सक्ने क्षतिको खतरालाई कम गर्न उनले बालीको बिमा पनि गरेका छन् । तर, धनीश्वरले क्षति वहन गर्छ भनेर गरेको बिमा अहिले निल्नु न ओकेल्नु भएको छ ।

प्रभु इन्योरेन्समा बिमा गरेका धनीश्वर सदरमुकाम र पोखरा कयौं पटक धाए । बिमा गर्न उनको बगानमै पुगेका कम्पनीका प्रतिनिधिलाई कयौं पटक फोन गरे । तर, न त बिमा रकम पाए, न त बगान सफा गर्न पाएका छन् । बिमा कम्पनी प्रभु इन्स्योरेन्सले बेवास्ता गरेका कारण धनीश्वर पीडित छन् ।

गाउँमा रहेका २४ परिवारले अलैंचीको खेती गर्छन् । नमुना अलैंची समूहमा आबद्ध किसानमध्ये धनिश्वर धेरै जमिनमा अलैंची लगाउने किसान हुन् । अन्यबाली प्रतिस्थापन गरेर व्यावसायिक अलैंचीमा लागेका उनको खेतीमा अहिले खरानी मात्रै छ । आगलागीपछि अलैंचीका मुनाको धनीश्वरले व्यवस्थापन गर्न पाएका छैनन् ।

२०७८ साल बैशाख १३ उनको अलैंची बगानमा आगो लाग्यो । नजिकैको जंगल हुँदै आएको आगो निभाउने प्रयास गर्दागर्दै बगान पस्यो । उनले निभाउने प्रयास गरे तर आगोले अलैंचीको बगान सकेपछि मात्रै निभ्यो । बगानमा आगो लाग्दा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक सबैले देखे ।

बिमा गरेकाले प्रहरी मुचुल्का, कृषि प्राविधिक तथा वडाध्यक्षको सिफारिस सबै तयार गरे । बिमा कम्पनीलाई फोन गर्दा जवाफ आयो, ‘अहिले कोभिडको बेला छ, बगान नछुनस्, हामी आएर हेर्छौं ।’ बैशाखमा आश्वासन दिएका प्रभु इन्स्योरेन्सका प्रतिनिधि अहिलेसम्म पौडेलको बगान पुगेका छैनन् ।

जिल्लामा कोरोनाको त्रास नगन्य भएर सबै क्रियाकलाप सञ्चालनमा आउँदासमेत इन्स्योरेन्सले उनको बगानमा प्रतिनिधि नपठाएको हो । ‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस भन्छन्,’ पौडेल भन्छन्, ‘मैले खरानी सफा गर्न समेत पाइनँ । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’

पौडेलले ९ लाख ९६ हजार रुपैयाँको बिमा गरेका थिए । आगलागी भएको ७ महिनासम्म पनि बिमा रकम नपाएकोमा पौडेल आक्रोशित छन् । नेपाल सरकारले प्रिमियममा दिएको ७५ प्रतिशत अनुदान लिएका पौडेलले कृषि ज्ञान केन्द्र बागलुङलाई जानकारी गराएका थिए ।

‘उहाँको गुनासो धेरै आएको छ । हामीले ताकेता मात्रै गरेका छैनौं । मन्त्रालयबाट बिमा कम्पनीसँगै कुराकानी भएको खबर छ,’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भने, ‘यस्तै घटना देखेर किसानले बिमा गर्नै मान्दैनन् ।’ बिमाको प्रिमियम शुल्क शतप्रतिशत सरकारले व्यहोर्दा भुक्तानी नपाइने भन्दै किसानले बाली तथा पशुपंक्षी बिमा गर्न चासो नदेखाएको उनले बताए ।
अघिल्लो आर्थिक वर्षमा किसानको प्रिमियम भुक्तानीको लागि आएको ६ लाख रुपैयाँमध्ये केही रकममात्रै खर्च भएको थियो । इन्स्योरेन्स कम्पनीको लापरवाहीकै कारण यसवर्ष पनि एक जना किसानले मात्रै बाली बिमा गरेका छन् । अरु किसानको बिमामा चासो छैन ।

किसानको मात्रै होइन, प्रभु इन्स्योरेन्समा कोरोना बिमा गरेका बागलुङका पत्रकारले पनि बिमा रकम पाएका छैनन् । बिमा पोलेसीमा उल्लेखित अवधिभित्रै कोरोना संक्रमण भएका ६ जना पत्रकारको दाबी पेश भएको भएपनि प्रभु इन्स्योरेन्सले बहनाबाजी गरेर भुक्तानी नदिएको पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले बताए ।
‘प्रक्रिया पुगेको एकदेखि दुई सातासम्म भुक्तानी पाउनुपर्ने हो तर अहिले त फोनसमेत उठ्न छोडिसक्यो,’ रानाले भने, ‘भुक्तानी दिन नसक्नेले किन अभियान चलाएर बिमालेख भराएका होलान् ?’

‘किसानले आफैं फाइल ढिलो ल्याउँछन्’

प्रभु इन्स्योरेन्सले भने आगलागी भएका किसानले नै फाइल ढिलो पठाएका कारण भुक्तानीमा ढिलाइ भएको जवाफ दिने गरेको छ । ‘हामी बगानमै पुग्नु पर्दैन, फोटो भिडियो भएपनि पुग्छ,’ प्रभु इन्स्योरेन्सका बिमा दावी हेर्ने अधिकारी बतशल ढकालले भने, ‘उहाँको फाइल ढिला आएको हो, हामीले रोकेको हैन ।’

पत्रकारहरुको कारोना बिमाका विषयमा अर्थ मन्त्रालयले निर्णय गर्न ढिलाइ गरेका कारण भुक्तानी दिन नसकेको तयारी जवाफ उनले सुनाए । ‘बिमा कम्पनी, पुनर्बिमा कम्पनी, राष्ट्रिय बिमा बोर्ड र अर्थ मन्त्रालयको दायीत्व तेकिएको थियो,’ उनले भने ‘२० वटै कम्पनीको एउटै नियम हो, अहिलेसम्म कम्पनीहरुले ९ अर्ब दायित्व भुक्तानी गरिसके, बाँकी भुक्तानीको काम त अर्थको हो ।’ बाली तथा पशुपंक्षी बिमालाई चुस्त बनाउनु पर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->