शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एक सय वर्षदेखि अलपत्र म्याग्दी ठाडाखानीको तामाखानी

एक सय वर्षदेखि अलपत्र म्याग्दी ठाडाखानीको तामाखानी


  • धु्रबसागर शर्मा
  • कार्तिक १२ २०७८, शुक्रबार

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी एक सय वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भिरमा रहेको विशाल तामाखानी आजभन्दा १०७ वर्षअघि विसं १९७१ सालसम्म संचालनमा आएको र त्यसपछि तत्कालिन सरकारले प्रतिवन्ध लगाएका कारण बन्द भएको थियो । उक्त खानी अहिलेसम्म पनि संचालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा पुगेको हो ।
तत्कालिन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणाहरुको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाकाहरुले बताएका छन् ।
तर,देशमा राजनीतिक परिवर्तन भै घरदैलोमा नै स्थानीय सरकारको पहुँच पुगेपछि पनि उक्त तामाखानी संचालनमा ल्याउन कुनै पहल नगरिएको ठाडाखानीका युवा गिरी छन्त्यालले बताए । “राजनीतिक परिवर्तन पछि गाउँ जनप्रतिनिधिहरु आएपछि गाउँघरका जनताले आफ्ना गाउँका स्रोत साधन र सम्पदाहरुको प्रयोगगरी मनग्गे आम्दानी गर्न सक्ने आशा राखेका थिए,तर चार वर्ष वित्यो केही पनि भएन” छन्त्यालले भने ।
तामाखानी वषौंदेखि अलपत्र अवस्थामा रहँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । उनले भने “हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं, तामाखानी संचालन, मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच, केन्द्रिय लाइनको विजुली लगायतका धेरै सुविधाहरु पाइन्छ कि भन्ने लागेको थियो” छन्त्यालले भने “तर चार वर्ष वितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्नका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गर्नुबाहेक अरु कामहरुको बारेमा कुनै पहल भएको छैन।”
ठाडाखानी छन्त्याल र विकहरुको मात्रै बसोबास रहेको बस्ती हो । यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विकहरुका पुर्खाहरु १०६ वर्ष पहिला रुमले भीरको तामा खनेर विक्रि र अन्नसंग विनिमय गरी जीवनयापन गर्ने गर्दथे । तर तत्कालिन सरकारले अत्यधिक भेजा (कर) लिन थालेपछि तामा खानी बन्द गरेर अन्य वैकल्पिक पेसा र बैदेशिक रोजगारीतर्फ लाग्नु परेको रघुगंगा गाउँपालिका ६ का वडासदस्य समेत रहनुभएको टेकजीत छन्त्यालले बताए ।
रुमले भीरमा ५ ओटा सुरुङहरु रहेका छन् । सुरुङको प्रवेशद्धारबाट दुई मिटर भित्र छिर्ने हो भने तामाका विशाल धाउहरु देख्न सकिने स्थानीयले बताएका छन् ।
यहाँको तामाखानी संचालनमा आउने हो भने वार्षिक करोडौं रकम राजस्व आम्दानी हुनुका साथै स्थानीयले दीर्घकालीन रोजगारी पाउने बलियो सम्भावना रहेको स्थानीय बृद्धबृद्धाहरुको भनाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->