मुस्ताङ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको दर्शन गरेकी छिन । शनिबार बिहान मुस्ताङ आएकी राष्ट्रपति भण्डारीसहितका कर्मचारीले मुक्तिनाथको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए।

नेपाली सेनाको हेलिकोप्टरमा बिहान १० बजेर ३० बजे जाखा मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेकी राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा र कर्मचारीहरुले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारीले बिहान ११ बजेको समयमा मुक्तिनाथ दर्शन तथा पूजा गरिन्। मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीका अनुसार भण्डारीले मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजाअर्चनालगायतको सम्पूर्ण पूजा पाठ सम्पन्न गरिन्। भण्डारीले करिब १५ मिनेट पूजाअर्चनामा खर्चिएको उनले बताए।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गरिन्। सो क्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथमा अवस्थित ३५ मिटर अग्लो बौद्ध स्तुपाको समेत अवलोकन गरिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ दर्शन तथा अवलोकन गरी शनिबार बिहान ११ :३० बजे अघि बाग्लुङस्थित ढोरपाटन आरक्षण क्षेत्रतर्फ प्रस्थान गरिन्। उनले ढोरपाटनमा पैदलै रिफ्रेसमेन्ट गर्ने कार्यक्रम छ। त्यसपछि उनले ढोरबराह मन्दिर दर्शन गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण क्षेत्रको अवलोकन गर्नेछिन्। बाग्लुङको ढोरपाटन नेपालकै एकमात्र शिकार आरक्षण क्षेत्र हो।

राष्ट्रपति कार्यालयको भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारी शनिबार दिउँसो २ बजे लक्ष्मी निवासी प्रस्थान गर्ने र दिउँसो ३ बजे लक्ष्मी निवासबाट राष्ट्रपति कार्यालय प्रस्थान गर्ने कार्यक्रम छ।





