बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले आफ्नो लक्ष भन्दा बढी राजश्व संकलन गर्न थालेको छ ।
कोरोना महामारी र निशेधाज्ञा नभएपछि बढेको व्यवसायिक क्रियाकलाप र सहज आउजाउको अबस्थाले राजश्व संकलन सहज भएको राजश्व अधिकृत महेन्द्र नेपालले बताए । ‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको बिकास भएको छ’ नेपालले भने, ‘बाध्यात्मक अबस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरउन्नती भएर आन्तरिक राजश्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ ।
कार्यालयले गत असोज महिनामा मात्रै १ करोड ७० लाख आयकर संकलन गर्ने लक्ष राखेको थियो । तर उक्त महिनामा ३ करोड ६८ लाख आयकर संकलन भएको नेपालले जानकारी दिए । असोज महिना सम्म ५ करोड ८३ लाख आयकर संकलन गर्ने लक्षमा १ सय ९९ प्रतिशत प्रगती गरेर ११ करोड ६१ लख कर संकलन गर्न सफल भएको हो ।
त्यस्तै घरबहाल कर तर्फ भने कर संकलन कमी भएको छ । १४ लाख संकलन गर्ने लक्ष राखेको असोजमा ३ लाख ६५ हजार मात्रै संकलन भएको छ । असोज मसान्त सम्ममा ५ करोड ८६ लाख संकलन गर्ने लक्षपनि पुरा नभइ ३ करोड ९ लाखमात्रै कर संकलन भएको छ । भ्याट तर्फ २६ करोड संकलन गर्ने लक्ष ५६ प्रतिशत मात्रै पुरा भएको थियो । जहाँ १४ करोड ९६ लाख मात्रै संकलन भएको हो । असोज मसान्त सम्ममा भने लक्ष पुरा भएको छ । ९ करोड ३ लाख संकलन गर्ने लक्षमा ९४ करोड ९१ लख रुपैयाँ संकलन गरेर १ सय ५ प्रतिशत प्रगती गरेको नेपालले बताए ।
त्यसबाहेक कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य कर लगायतपनि संकलन गर्ने गरेको छ । बागलुङमा भने चालु बर्ष शिक्षा स्वास्थ्य कर संकलन भएको छैन । अन्तशुल्क तर्फ २ करोड ६५ लाख लक्ष रहेको असोजमा ३ करोड ६६ लाख र असोज मसान्त सम्ममा ८ करोड ३८ लाखको लक्षमा १ सय ८० प्रतिशत प्रगती गरेर १५ करोड १ लाख कर संकलन भएको छ । सबै शिर्षकमा गरी असोज मसान्त सम्ममा १९ करोड २५ लाख कर संकलन गर्ने लक्षमा कार्यालयले १ सय ३३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर संकलन गर्न सफल भएको हो ।
पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङ सहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरु भएको छ । अहिले बागलुङ कार्यालय मार्फत १७ हजारबढीले कर तिर्ने गरेका छन् । केही समय अघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ । उक्त कार्यालय मार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । सिमित जनशक्ती भएपनि करदाताहरुले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि भने कार्यालयले हरेक बर्ष लक्ष भन्दा बढी कर संकलन गरेर प्रगती समेत देखाउन थालेको छ ।
पछिल्लो समय कार्यालयबाट पाना नम्बर लिने र रोजगार भएका र मजदुरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको पाना नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीहरुको भनाइ छ ।





