पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताए उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । अर्कैको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको मनाङेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बाको सरकार ढल्ने निश्चित भएपछि मनाङेले कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनलाई काँध थापेर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ सरकारमा पनि मन्त्री बनेका हुन् ।
०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन् । २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् । मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् । संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन् ।
२०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बताएका छन् । यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन् । विवरणअनुसार मनाङे २ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् ।
मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् । यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् ।





