पोखरा/ रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘जलस्रोत’ सुनेर ताङतिङका जसबहादुर गुरुङले गाउँमा बिजुली बाल्ने सपना देखे । रेडियोबाट लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाका बारेमा जानकारी पाएपछि जसबहादुरले गाउँका अरु २ जना साथीसँग सल्लाह गरे । उनका साथीहरु थिए, गमबहादुर गुरुङ र बलराम सापकोटा ।
२०४५ सालमा रेडियोमा सुनेको भरमा ताङततिङबाट एक दिन हिँडेर उनीहरु तीनै जना गगनगौंडास्थित कृषि विकास बैंकको कार्यालय पुगे । रेडियोमा सुनेका कुरा बताए । गाउँमा बगेर गइरहेको घट्टेखोलाबाट विजुली निकालेर गाउँ झिलिमिली बनाउन चाहेको उनीहरुले बताए ।
बैंकका कर्मचारीले लघुजलविद्युत आयोजना बनाउन अपनाउनुपर्ने सबै प्रक्रिया बताइदिए । बैंककै कर्मचारीले बुटबलस्थित एउटा कम्पनीसँग सम्पर्क समेत गराइदिए । बैंकका कर्मचारी र लघुजलविद्युत आयोजना बनाउने कम्पनीका कर्मचारीले जसबहादुरको सपना पुरा गरिदिने अठोट लिए, त्यसका लागि गाउँलेले गर्नुपर्ने सबै सहयोग जुटाउने जिम्मा जसबहादुरले लिए ।
त्यतिबेला नेपालमा पञ्चायती शासन थियो । जसबहादुरले गाउँकै प्रधानपञ्च देवीजंग गुरुङसँग लघुजलविद्युत बनाउन सल्लाह लिए । प्रधानपञ्च सकारात्मक भएपछि गाउँलेको सहयोग जुटाउन उनीहरुलाई गाह्रो परेन । त्यतिबेला ताङतिङमा बिजुली बाल्ने कुरा गर्दा कसैले पत्याएका थिएनन् ।
‘प्रधानपञ्चले बरु विश्वास गरे, गाउँलेले त कस्तो कस्तो ठाउँमा त बिजुली बलेछैन, ताङतिङ जस्तो ठाउँमा कसरी बिजुली आउँछ भनेका थिए,’ उनले संझिए । त्यतिबेला उनको उमेर जम्मा ३० बर्षको थियो । एउटा युवाले देखेको उज्यालो ताङतिङको सपना अरुले पत्याएनन् ।
मादी गाउँपालिका–२ मा पर्ने ताङतिङ कास्कीको उत्तरी भेगमा पर्छ । त्यतिबेला पोखराबाट १ दिन हिँडेर गाउँ पुग्नुपथ्र्यो । गाउँलेले पोखरा पुग्न एक दिन र गाउँ फर्कन १ दिन गरी २ दिन लगाएर मट्टितेल बोक्नुपथ्र्यो । टुकीको उज्यालो लिन २ दिन खर्चनुपथ्र्यो, ताङतिङबासीले ।
कृषि विकास बैंक र बुटबलको कम्पनीले जब गाउँमा बिजुली बाल्न खोला हेर्न आए, त्यसपछि गाउँलेमा आशा पलायो । गाउँ नजिकैबाट ठाडै बगेको घट्टेखोलाबाट बिजुली निकाल्न सकिने प्राविधिकहरुले बताए, अब भने गाउँलेको मुहार उज्यालिन थाल्यो ।
बैंकले तत्कालिन सरकारको योजना अनुरुप ताङतिङमा लघुजलविद्युत आयोजना बनाउन ५ लाख रुपैया अनुदान दियो । २ लाख जति ऋण दियो । बिजुली बल्ने भएपछि लघुजलविदुत आयोजनाका सामान बोक्न र पावरहाउसमा लैजाने पानीको कुलो खन्न गाउँलेले श्रमदान गरे । त्यतिबेला लघुजलविद्युतको जेनेरेटर बाँसमा झुण्ड्याएर मानिसले बोके । पोखराबाट ३ दिन लगाएर ताङतिङ पु¥याएको जसबहादुरले बताए ।
ताङतिङलाई उज्यालो बनाउन त्यतिबेला १२ किलोवाट बिजुली भए पुग्ने प्राविधिकहरुले अनुमान लगाए । त्यति नै क्षमताको टवाईन ल्याएर जडान गरे । काम थालेको बर्षदिनमै ताङतिङमा बिजुली बल्न थाल्यो । २०४६ सालमै पोखरादेखि दुरदराजको गाउँ ताङतिङबासी बिजुलीको उज्यालोमा रमाए ।
कास्की जिल्लामै पहिलो पटक लघुजलविद्युत आयोजना बनाएर विजुली बालेको जसबहादुरको दाबी छ । बिजुली बलेपछि विद्यार्थीले टुकीमा बसेर पढ्नुपरेन । बिजुलीले दिएको उज्यालो भन्दा ताङतिङबासीको अनुहार खुशीले उज्यालियो ।
‘ताङतिङमा बलेको बिजुली हेर्न त्यतिबेला अरु गाउँका मानिस पनि आएका थिए,’ जसबहादुरले भने, ‘गाउँमा खुशीको सिमा थिएन, गाउँलेले उत्सब नै मनाएका थिए ।’ गाउँमा बनेको लघुजलविद्युतको उद्घाटन तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य नन्दजंग गुरुङले उद्घाटन गरेका थिए ।
वरीपरीका गाउँ अझै टुकीको भरमा थिए । अन्धकारमा गाउँ छ कि छैन भनेर पनि देखिन्थेन । ताङतिङ भने रात परेपछि झिलिमिली देखिन्थ्यो । २०५३ सालमा आएर ताङतिङबासीलाई १२ किलोवाट बिजुलीले पुगेन । उनीहरुलाई दोब्बर भन्दा धेरै बिजुली चाहियो ।|
२०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप स्थापना भइसकेको थियो । गाउँगाउँमा संरक्षण शिक्षा शिविर संचालनमा थिए । गाउँलेलाई घाँसदाउरा गर्दा बनजंगल र बन्यजन्तु जोगाउने उपाय एक्यापका अधिकारीले सिकाउँदै थिए । यसका लागि एक्यापले गाउँलेलाई विभिन्न सहयोग गर्दै थिए । ताङतिङबासीले भने थप बिजुली मागे ।
एक्यापले घट्टेखोला लघुजलविद्युत आयोजनामै अर्को टर्वाइन किनिदियो । सोही आयोजनामा २७ मेगावाटको टवाईन जोडियो । २०५३ मा उक्त टवाईन जोडेपछि ताङतिङको लघुजलद्युत आयोजनाको फेरी उद्घाटन भयो । पूर्वराजा ज्ञानेन्द शाह त्यतिबेला राजा थिएनन् । तैपनि उनैले हेलिकप्टर मार्फत ताङतिङ पुगेर उक्त आयोजनाको उद्घाटन गरेको स्थानीय हिमालय माविका प्रध्यानाध्यापक प्रकाश गुरुङले बताए ।
कृषि विकास बैंकको अनुदानमा किनेको १२ किलोवाटको टर्वाइन नजिकै सेतीखोला गाउँलेलाई बेचिदिए । त्यतिबेला उक्त टर्वाइन १ लाख ५० हजार रुपैयामा बेचेको जसबहादुरले बताए । उक्त रकम घट्टेखोला लघुजलविद्युत आयोजना समितिले राख्यो, जुन आयोजना बिग्रदा मर्मत सम्भारमा खर्च गरिएको थियो ।
कृषि विकास बैंकको ५ लाख अनुदान, २ लाख ऋण र जनश्रमदान गरी १० लाखमा बनेको आयोजनाको ऋण तिर्न बाँकी थियो । त्यसका लागि उनीहरुले बिजुलीको बल्ब अनुसार गाउँलेसँग पैसा उठाए । सय वाटको बल्ब बाल्दा २५ रुपैया उठाएको जसबहादुरले बताए । त्यतिबेला २५ वाटको ४ वटा बल्ब बाल्ने धेरै थिए ।
यसरी पैसा उठाएर ऋण तिर्न उनीहरुलाई हम्मेहम्मे प¥यो । जसबहादुर र उनका साथीहरु मिलेर आफैं पैसा उठाएर ऋण तिरेको उनले बताए । ‘ऋण नतिरे त बैंकले घर बस्नै दिँदैन नि,’ जसबहादुरले भने, ‘हामीले नै पैसा उठाएर बाँकी रकम ति¥यौं ।’
एक्यापले सहयोग गरेको दोब्बर बढी क्षमताको टवाईन चल्न थालेपछि गाउँमा उज्यालोको मात्रा पनि दोब्बर भयो । २ वटा बत्ती बाल्ने घरले चारवटा बाल्न थाले । कसैले टेलिभिजन समेत जडान गर्न थाले । एक्यापका संरक्षण अधिकारीहरुले खाना पकाउन समेत बिजुलीको प्रयोग गर्न उक्साउँथे । किनकी, उनीहरुलाई बनजंगलको संरक्षण गर्नुथियो । दाउराको प्रयोग घटाउनु थियो ।
हिमालय माविका प्रअ प्रकाश ताङतिङकै हुन् । उनले बिजुलीको उज्यालोमा पढ्न पाउँदा विद्यार्थीको पढाई पनि राम्रो भएको उनले सुनाए । पोखराबाट दुरदराजमा रहेको उक्त विद्यालय जिल्लाकै उत्कृष्ठ विद्यालय बन्न पुगेको थियो । ‘गाउँमा बिजुली बलेपछि स्कुलको पढाई राम्रो भयो,’ उनले भने, ‘हाम्रो स्कुलले पोखराका स्कुललाई पनि जित्यो ।’
ताङतिङलाई यसरी उज्यालो बनाएको घट्टेखोला लघुजलविद्युत आयोजना बिगत २ बर्षदेखि बन्द छ । जिल्लाकै पुरानो आयोजनाको विद्युतगृह झाडीले छोपेको छ । टर्वाइनमा पानी लैजाने पाइप बेकामे बनेको छ । विद्युतगृहबाट गाउँमा बिजुली लैजान बनाइएका पोल खियाले ढल्न आँटेका छन्, पोलमा टाँगिएका तारमा बिजुली प्रवाह रोकिएको छ । पानीले घुमाउने टर्वाइन पनि खिया लाग्दै गएको वडा अध्यक्ष एकजंग गुरुङले बताए ।
उनका अनुसार आयोजना बिग्रिएर होइन, गाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेकाले आयोजना बन्द हुन पुगेको हो । यस्तै, ताङतिङबाट सेतीखोला लगेको १२ किलोवाटको टर्वाइन पनि अहिले थन्किएको छ । त्यहाँ पनि राष्ट्रिय प्रशारण लाइन पुगिसकेको छ ।
६० बर्ष लागेका जसबहादुर अहिले परिवारसहित पोखरा बस्छन् । बेलाबखत गाउँ गइराख्छन् । गाउँ जाँदा उनले त्यही लघुजलविद्युत आयोजनाको याद गर्छन् । पञ्चायतकालको अन्धकारमा गाउँमा बिजुली बालेर उज्यालो दिएको क्षण संझन्छन् । ‘यस्तो पानीबाट पनि बिजुली आउँछ, नचाहिने कुरा गछर्’ भनेर उनलाई त्यतिबेलाका बुढापाकाले भनेको संझन्छन् ।
लघुजलविद्युतका बिजुली हामी किन्छौं– प्राधिकरण
नेपाल विदुत प्राधिकरणले गाउँ गाउँमा रहेका लघुजलद्युत आयोजनाको बिजुली किनिदिने बताएको छ । केन्द्रिय प्रशारण लाइन पुगेका ठाउँमा त्यही लाइनमा लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न सकिने प्राधिकरणका गण्डकी प्रमुख केदारराज सिलवालले बताए ।
गाउँमा रहेका लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न प्राधिकरणले ‘इनर्जी नेटिङ’ कार्यविधि बनाएको छ । उक्त कार्यविधिले गाउँका लघुजलविद्युत आयोजनाका बिजुली प्रशारण लाइनमा जोड्न अनुमति दिएको छ । यसका लागि आयोजनामा एउटा छुट्टै मिटर जडान गर्न आवश्यक रहेको सिलवालले बताए ।
‘आयोजनामा जडान गरिएको विशेष प्रकारणको मिटरले प्रशारण प्रणालीमा कति बिजुली खपत भयो भनेर नापजाँच गर्छ,’ सिलवालले भने, ‘त्यही अनुसार लघुजलविद्युत आयोजना चलाएका सामुदायिक संस्थालाई प्राधिकरणले भुक्तानी दिन्छ ।’ केन्द्रिय प्रशारण लाइन पुगेका गण्डकीका केही गाउँहरुका लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रशारण प्रणालीमा जडान गरिएको उनले बताए ।
लघुजलविद्युत आयोजनाका लागि अरु ठुला आयोजनालाई जस्तो प्रशारण लाइन र सवस्टेशन बनाउन आवश्यक छैन । गाउँमा बिजुली बाल्न लगिएको वितरण लाइनमै लघुजलविद्युतका बिजुली जोड्न सकिने सिलवालले बताए । यसरी जडान गर्न १ मेगावाट भन्दा ठुला आयोजनाको हकमा भने प्राधिकरणसँग खरिद विक्री संझौता पिपिए गर्नुपर्ने उनको भनाई छ ।
ताङतिङमा लघुजलविद्युत चलाएका उपभोक्ताले पनि गाउँमा खेर गइरहेको घट्टेखोलाबाट नियमित बिजुली निकालेर बेच्न सक्ने उनले जानकारी दिए । यसका लागि नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालय पोखरा वा केन्द्रिय कार्यालय काठमाडौंमा निवेदन दिन सक्छन् । प्राधिकरणका प्राविधिकले स्थलगत आयोजनाको अनुगमन पश्चात मिटर जोड्ने र बिजुली किन्ने सहमति गर्न सक्ने सिलवालको भनाई छ ।
सरकार र स्थानीय समुदायको लगानी र श्रमदानमा बनेका लघुजलविद्युत आयोजनालाई नियमित बनाउन र त्यसबाट हुने आम्दानीले सामुदायिक संस्था संचालन गर्न टेवा पुग्न सक्ने प्राधिकरणको भनाई छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले मात्र देशभर झण्डै २ हजार १०० वटा यस्ता लघुजलविद्युत आयोजना निर्माण गरिसकेको छ । यी आयोजनाहरुबाट ३७ मेगावाट बिजुली उत्पादन क्षमता रहेको केन्द्रका सुचना अधिकारी कृष्णचन्द पौडेलले बताए । केन्द्रका अनुसार प्रदेश १ र ७ मा बनेका ९० प्रतिशत बढी लघुजलविद्युत आयोजना भने अहिले पनि संचालनमै रहेको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र बाहेक सरकारी, गैरसरकारी र सामुदायिक रुपमा अझ धेरै लघुजलविद्युत आयोजना निर्माण भएका छन् । गाउँमा रहेका खोला, खोल्सा र झरनाका पानी सदुपयोग मात्र होइन, लघुजलविद्युत मार्फत सिचाइका सुविधा समेत पुगेका छन् । यस्ता आयोजनालाई नियमित संचालन गर्न बैकल्पिक उर्जा र प्राधिकरणले संयुक्त पहल थालेको पौडेलले बताए ।
उनका अनुसार प्राधिकरणले मध्यनेपाल लमजुङमा १०० किलोवाट, धनकुटामा ४० किलोवाट, नुवाकोटमा २३ किलोवाटका आयोजना पनि परिक्षणका रुपमा केन्द्रिय प्रशारण लाइनमा जडान गरिसकेको छ । ‘गाउँका सानातिना भनिएका आयोजनालाई राष्ट्रिय प्रशारण प्रणालीमा एकत्रित गर्दा ठुलो परिमाणमा बिजुली जम्मा हुन्छ,’ पौडेलले भने, ‘यसले गाउँलेलाई मात्र होइन, प्राधिकरणलाई पनि फाइदा नै गर्छ ।’





