आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

धौलागिरी एफएमको वार्षिकोत्सव : पहिलो दिन गजल प्रतियोगिता

धौलागिरी एफएमको वार्षिकोत्सव : पहिलो दिन गजल प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७८, शुक्रबार

बागलुङ/

दण्ड दिने कि पुरस्कार सोच्नु पर्नेछ,
फूल दिने कि हतियार सोच्नु पर्नेछ ।

शत्रु घाइते बनेर छटपटाएको छ,
गर्ने कि नगर्ने उद्धार सोच्नु पर्नेछ ।

बा’ले घरबाट निकालीदिएका छन्,
लेखौं नलेखौं समाचार सोच्नु पर्नेछ ।

आँफैलाई बिक्रीमा राख्नुपर्छ,
जाने कि नजाने बजार सोच्नु पर्नेछ ।

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका सचिव राम थापा ‘अविरल’को गजल हो यो । त्रिदिवसीय कार्यक्रमसहित धौलागिरी एफएम बागलुङको १७ औं वार्षिकोत्सव बिहीबारदेखि सुरु भएको छ ।
गजल प्रतियोगिताको उद्घाटन थापाले गजल वाचन गरेर गरे । केही समय पहिले रचना गरेको गजल रेडियोको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटनमा सुनाउन पाउँदा खुसी लागेको थापाले प्रतिक्रिया दिए ।
पहिलो दिन रेडियोले स्टुडियोबाटै गजल प्रतियोगिताको आयोजना गरेको हो । २०६१ सालमा स्थपाना भएको रेडियोले हरेक बर्ष फरक–फरक प्रकृतिका कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउँदै आएको छ । यसवर्ष गजल प्रतियोगिता, मैत्रीपूर्ण फूटसल प्रतियोगिता, जिल्ला कारागारमा रेडियो वितरण र मुल समारोह सहितका कार्यक्रम आयोजना गरिएको स्टेशन प्रमुख उमाकान्त शर्माले बताए ।

बिहीबार सम्पन्न गजल प्रतियोगितामा बागलुङका मगर प्रेम प्रथम, बागलुङकै तेजस्वी सरिता गौतम द्वितिय र म्याग्दीका निशान्त बुढा मगर तृतिय भए । सहभागीले देश, समाज, भुगोल र माया प्रेमको विषयवस्तुमा आधारित गजल प्रस्तुत गरेका थिए । विषयबस्तु नरहेकाले उत्कृष्ट रचनालाई स्थान दिईएको निर्णायक संयोजक ताराप्रसाद शर्मा ‘स्टार’ले जानकारी दिए ।

गजल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै एफएमका अध्यक्ष हरिनारायण गौतमले रेडियोका माध्यामबाट समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सञ्चार क्षेत्रको महत्व अझै बढेको उल्लेख गर्दै गौतमले स्रोताको चाहना अनुसारका कार्यक्रम उत्पादन र प्रसारणमा रेडियो सधैं तल्लिन रहेको बताए ।

कार्यक्रमको सञ्चालन पत्रकार तारानाथ आचार्य र गजल प्रतियोगिता संयोजक लक्ष्मी परियारले गरेकी थिइन् । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई कात्तिक २७ गते मुल समारोहमा पुरस्कृत गरिने छ । मूल समारोहको गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले उद्घाटन गर्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->