पाँच वर्षअगाडिसम्म कक्षा पाँचसम्मको पठनपाठन गर्दै आएको विद्यालयमा विद्यार्थी नै नभएपछि नगरपालिकाले शिक्षकलाई अन्यत्रै समायोजन गरेको थियो ।
पर्वत / देशका कतिपय सामुदायिक विद्यालय विद्यार्थी अभावमा मर्ज हुने जोखिममा छन् । बसाइँसराइ दर बढ्नु, जनसङ्ख्या बृद्धिदर कम हुनु तथा निजी विद्यालयमा आकर्षण बढ्दै जाँदा सामुदायिक स्कुलमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गइरहेको छ ।
विद्यार्थीकै अभाव भएपछि पर्वतको फलेवास नगरपालिका ८, ठानामौलाको छाम्मीमा रहेको जनता प्राथमिक विद्यालयका कक्षा एकदेखि पाँचसम्मको पढाइ रोकियो । विद्यालयमा रहेका शिक्षकलाई समायोजन गरेर अरु नै विद्यालयमा लगियो । तर, कसैले पनि कल्पना नगरेको उक्त विद्यालय पाँच वर्षपछि फेरि सञ्चालनमा आएको छ ।
विद्यालय फेरि सुरु भएपछि ठानामौलाका विक्रम नेपालीले घरबाट केही नजिकको सामुदायिक विद्यालयमा बच्चालाई पढाउन पाएपछि खुसी छन् । नहुन पनि कसरी ? नजिकमा सामुदायिक विद्यालय छैनन्, झन्डै एक घण्टा टाढा पर्छ लिमिठाना माध्यमिक विद्यालय, त्यो पनि जंगलको बाटो ।
अवस्था यस्तो थियो कि जब बच्चा विद्यालय जाने उमेरको हुन्छ, उसको लागि विद्यालयको खोजी गर्दै बसाइँ नै सर्नुपर्छ । ‘बच्चा विद्यालय जाने बेला भएपछि बसाइँ सरेर हिँड्नै पर्ने अवस्था आएको थियो । नजिकैको विद्यालय भनेको लगभग एक घण्टा लाग्थ्यो, त्यो पनि जंगलबाट हिँड्नुपर्ने,’ उनी भन्छन्, ‘साना नानीबाबुलाई एक घण्टासम्म जंगलको बाटो पठाउनुभन्दा बसाइँ सरेर पढाउन बरु सजिलो थियो ।’
अर्का स्थानीय रमेश रिजाल पनि सन्तान स्कुल ल्याउन, पु¥याउनै दिनको चार घन्टा खेर गइरहेको बताउँछन् । तर, बन्द भइसकेको स्कुल फेरि सञ्चालनमा आएपछि उनी पनि खुसी छन् । भन्छन्, ‘बिहान र बेलुका छोड्न र लिन जाँदा चार घण्टा बित्ने अवस्थामा अहिले गाउँमा नै फेरि विद्यालय सुरु भयो । स्कुलै बन्द नभएको भए कति आनन्द हुन्थ्यो होला !’
सोही ठाउँका गोविन्दप्रसाद तिमिल्सिना पूर्व गाविस अध्यक्ष हुन् । २०६० सालमा उनको नाम स्थायी शिक्षकमा निस्किएपछि जागिरको दौरान काठमाडौं पुगे । आफ्नै गाउँको विद्यालय विद्यार्थी अभावमा बन्द रहेको देख्दा उनको मन अमिलिएको थियो । काठमाडौंको बसाइँमा पनि आफ्नो सपना भने गाउँको बन्द रहेको विद्यालय सुचारु गराउने नै रहेको उनी बताउँछन् ।
०७६ सालमा जागिरबाट अनिवार्य अवकाश भएपछि ०७७ मा गोविन्द गाउँ फर्किए । लगत्तै उनले गाउँका मान्छेहरूलाई भेला पारे र विद्यालयमा पुनः कक्षा एकदेखि पाँचसम्मकै कक्षा चलाउनेबारे बहस गरे । तर, उनको कुरामा सहमति जुट्न सकेन । उनले दोस्रो प्रयास स्वरूप ०७८ सालमा पुनः भेला बोलाए यस पटक भने उनैले जिम्मा लिएर सुरुमा कक्षा एक र दुईको पढाई सुरु गरे ।
‘पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसें । विद्यालय सुरु गर्नै पर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो,’ गोविन्द भन्छन्, ‘फेरि दोस्रो पटक भेला बोलाएपछि गाउँलेहरूले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौं भने ।’
उनले राजनीतिक रूपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खोज्ने गर्ने काम नगर्ने हो भने आफू विद्यालय चलाउन तयार रहेको बताएपछि सबैको सहमति जुटेको सुनाए । स्कुलमा अहिले २२ जना विद्यार्थी भर्ना भइसकेका छन् ।
पाँच वर्षअगाडिसम्म कक्षा पाँचसम्मको पठनपाठन गर्दै आएको विद्यालयमा विद्यार्थी नै नभएपछि नगरपालिकाले शिक्षकलाई अन्यत्रै समायोजन गरेको थियो । कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीहरू घण्टौंको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गएका थिए । तर, बाल कक्षाका ससाना विद्यार्थीलाई टाढा जान असम्भव भएपछि सोही स्कुलमा बाल कक्षा भने सञ्चालन भइरहेको थियो । बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक जना कार्यालय सहयोगीमात्रै रहँदै आएको विद्यालयमा यतिखेर दुई कक्षासम्मको पढाइ भइरहेको छ ।
अध्यक्ष तिमिल्सिना आफैं शिक्षक भएर विद्यालयमा अध्यापन गरिरहेका छन्, त्यो पनि शुल्क नलिने स्वयंसेवी शिक्षकको रूपमा । ६० वर्ष पुगेकाले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका उनको मन भने जोसिलो युवाको भन्दा व्यग्र छ । यही कारण नै बुढेसकालमा समेत उनले बन्द रहेको विद्यालय खुलाउने आँट गरे, आफैं अध्यक्ष बने, आफैं शिक्षक समेत ।
दोस्रो लकडाउनपछि गत भदौ ३० गतेबाट विद्यालय सुरु भएपछि क्रमिक रूपमा विद्यार्थीहरू बढ्दै गएको र अब क्रमशः कक्षा पाँचसम्मै पठनपाठन गराउने योजनामा आफूहरू रहेको तिमिल्सिनाले बताए । तत्कालीन समयमा शिक्षकहरू सक्रिय नहुँदा विद्यालयले गति लिन नसकेको, अभिभावकले सामुदायिक विद्यालयमा कत्ति पनि चासो नदिएको र निजी विद्यालय भने विद्यार्थी खोज्न घर घरमा पुगेका कारण विद्यालय त्यस्तो अवस्थामा पुगेको अध्यक्ष तिमिल्सिना बताउँछन् ।
स्थानीय अच्युतराज पन्तले विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व लिएर चलाउने भनेपछि घण्टौंको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको बताए । ‘बाल विकासमा भन्दा पढाइ भएको छैन । त्यो भन्दा माथिकालाई फलेवाससम्म पठाउनुपर्ने । बाटोमा कहाँ के हुने हो ? भन्ने पीर,’ उनी भन्छन्, ‘अब सबैको चेत खुलेको छ, बनाए पनि यही स्कुल हो, नबनाए पनि यही स्कुल हो ।’
विद्यालयको खातामा हाल एक लाख ८४ हजार रुपैयाँ रहेको र अब थप रकम आवश्यक पर्ने अवस्थामा गाउँलेहरू थप सहयोग गर्न समेत तयार रहेको अभिभावकहरूले बताएका छन् । विद्यालयमा निर्माण भएका भौतिक संरचनाहरू पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका कारण तिनीहरूको मर्मत र केहीको लागि नयाँ संरचना नै निर्माण गर्नुपर्ने अहिलेको अवस्था छ ।
पहिलेको खानेपानीको आयोजना नै काम नलाग्ने अवस्थामा रहेको र केही फर्निचरहरू समेत प्रयोग गर्न नसकिने अवस्थामा रहेका छन् । तर, विद्यालय सञ्चालनमा आएपछि अध्यक्ष तिमिल्सिना नै नगरपालिकासँगको सहकार्यमा अस्थायी रूपमा पानीको व्यवस्थापन गरेका छन् ।
फलेवास नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउँदै अहिले सुरुमा एक जना शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरू लागेको बताए । विद्यालयले क्रमिक रूपमा कक्षा थप गर्दै जाने र विद्यार्थी संख्या समेत बढाउने भनेका कारण त्यो भएमा पुन दरबन्दी पनि थप गर्न सकिने उनको भनाइ छ ।





