बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाँदरले क्षति गरेको राहत पाइँदैन सरकार ?

बाँदरले क्षति गरेको राहत पाइँदैन सरकार ?

गाउँगाउँमा किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारेको छ । तर, बाँदर नियन्त्रण रोक्नलाई स्थानीय सरकारको चासो नै छैन ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७८, सोमबार

तनहुँ – यसपाली कात्तिकको सुरुआतमा भएको बेमौसमी बर्षाले देशभर किसानले लगाएको धानवालीमा धेरै क्षति पु¥याएको छ । किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गर्न लागि परिरहेका छन् ।
कतिपय स्थानीय तहले त किसानलाई राहत दिने घोषणा गरिसके । बाढी पहिरोबाट अन्नबाली क्षति भएका किसानलाई राहत दिएपनि बाँदरबाट पीडित किसानलाई बेवास्था गरिएको आवाज उठेको छ ।
आइतबार व्यास नगरपालिकाले गरेको पहिलो चौमासिकको सार्वजनिक सुनवाईमा बोल्दै व्यास १ का नवराज न्यौपानेले बाँदर पीडित किसानले राहत नपाएको गुनासो गरे । ‘पानीले धान बिगार्दा क्षतिपुर्ति दिने रे ! मेरो त तीन रोपनी जग्गाको मकै सबै बाँदरले सक्यो क्षतिपूर्ति पाइँदैन त !’ उनले भने ।
बाँदर नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको उनको आरोप छ । बाँदर नियन्त्रणमा नगरपालिकाले बन्दुक दिन्छु भनेपनि नदिएको उनले सुनाए । ‘बन्दुक दिन्छु भनेको मरेपछि औषधि भनेजस्तै भयो । आजसम्म पनि बाँदरले सताएको छ । बन्दुक पाइँदैन,’ उनले अक्रोश पोखे । किसानलाई नगरपालिकाले बेलामा बिउबिजन उपलब्ध गराउनुपर्ने उनको जोड छ ।
बाँदर नियन्त्रणको विषयलाई नगरप्रमुख बैकुण्ठ न्यौपानेले हल्का रुपमा लिए । उनले फिस्स हाँस्दै भने, ‘बाँदरले क्षति पु¥याएको राहत दियौं भने थामी नसक्नु होला ! दाइ (न्यौपाने)लाई मात्र छुट्टै हेरौंला !’
बाँदरले किसानलाई हैरान बनाएको यो प्रतिनिधिमूलक आवाज मात्र हो । गाउँगाउँमा किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारेको छ । तर, बाँदर नियन्त्रण रोक्नलाई स्थानीय सरकारको चासो नै छैन । व्यासका मेयर न्यौपानेको प्रतिक्रियाले पनि बाँदर नियन्त्रणमा स्थानीय सरकार उदासिन रहेको स्वतः पुष्टि गर्दछ ।
सार्वजनिक सुुनवाईमा नगरबासीले नगरपालिकाबाट प्रवाह हुने सेवामा धेरै गुनासो गरे । व्यास १ का श्रीकृष्ण पन्थले विकासका योजना समयमै सुरु नहुँदा बर्सेनि बजेट फ्रिज भइरहेको बताए । यो वर्ष जनप्रतिनिधिका लागि अन्तिम वर्ष भएकाले छिटो काम सुरु गर्न सुझाव दिए । ‘प्राविधिकले स्टिमेट गर्न ढिलाइ भएको छ,’ उनले भने ।
नेकपा एमाले व्यास नगर कमिटी अध्यक्ष वीरेन्द्र अधिकारीले बजेट वितरण समानुपातिक नभएको बताए । उनले भने, ‘बजार सरहको बजेटले गाउँमा विकास हुँदैन । मेयरसापले त्यो पटक्कै मिलाउन सक्नु भएन ।’ उनले जनप्रतिनिधि आएपछि जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै अनसन्तुष्टि जनाए ।
सार्वजनिक सुनावाईमा सहभागीले बजार विकास निर्माणमा बजार क्षेत्र केन्द्रित भएको, फोहोरमैला स्थायी रुपमा व्यवस्थापन गर्न नसकेकोमा नगरपालिकाका जनप्रतिनिधिसमक्ष असन्तृष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->