‘नगरपालिकाले एकै पटकमा मोटो रकम दिएर कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षण गर्न त कठिन हुन्छ । विगतका वर्षमा कहिले बिउ, कहिले फलफुलका बिरुवा, कहिले टनेल दिएका छौं ।’
पर्वत/ पर्वतको फलेवास नगरपालिकाले स्थानीयतह भित्रका सबै घरका लागि तरकारीका बिउ वितरण गर्न सुरु गरेको छ। किसानलाई तरकारीमा आत्मनिर्भर बढाउन र व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन गर्न‘क्लिन फलेवास ः ग्रिन फलेवास’ कार्यक्रमअन्तर्गत बिउ वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत विभिन्न छ प्रकारका बिउ पालिकाभित्रका करिब छ हजार परिवारलाई उपलब्ध गराइने कार्यक्रमका संयोजक कमल घिमिरेले बताए। झन्डै चार लाख रुपैयाँको लागतमा रायो, मुला, सलगम, धनियाँ, पालुंगो र गाँजरको बिउहरू वितरण गर्ने काम भइरहेको उनको भनाइछ।
चार लाखको लागतमा बिउ बाँड्दा प्रतिपरिवार ७० रुपैयाँको बिउ मिल्ने भए पनि त्यसले किसानहरूलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । ‘प्रतिघरधुरी ७० रुपैयाँ बराबरको छ प्रकारको तरकारीको बिउ दिइरहेका छौं,’ घिमिरेले भने, ‘अघिल्ला वर्षहरूमा पनि यो अभियान सञ्चालन गरिएकोमा अहिले पनि निरन्तरता दिइएको हो ।’
गत आर्थिक वर्षमा हरित फलेवासअभियान अन्तर्गत ११ वटा वडाका चार सय किसानलाई प्लास्टिक टनेल वितरण गरिएको थियो। अघिल्ला वर्षका टनेल किसानले तयारी अवस्थामा राखेका कारण पनि अहिले वितरण गरिएका बिउ त्यहीं हुर्काउनसहज हुने नगरप्रमुख पदमपाणी शर्मा बताउँछन्।
‘नगरपालिकाले एकै पटकमा मोटो रकम दिएर कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षण गर्न त कठिन हुन्छ,’ नगरप्रमुख शर्माले भने, ‘विगतका वर्षमा कहिले बिउ, कहिले फलफुलका बिरुवा, कहिले टनेल दिएका छौं ।’ फलेवास कुश्मा बजारको नजिकै रहेको र उत्पादन क्षमता पनि राम्रो भएकाले किसानलाई व्यावसायिक रुपमै तरकारी खेतीमा लाग्न सजिलो हुनेविश्वास उनको छ ।
अहिले तरकारीको बिउ वितरणको कार्यक्रम पूरा भएपछि टनेलमा तरकारी खेती गर्दै आएका नगरपालिकाभित्रका हरेक किसानलाई पुनः टमाटर लगायतका तरकारीको बिउ वितरण गर्ने कार्यक्रम राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा बताउँछन्।
बिउ वितरण गर्न कृषकहरूलाई सहज होस् भनेर नगरपालिकाबाट वडावडामैबिउ पठाइएको र वडामा रहेका अभियन्ता, टोल विकास संस्थामार्फत किसानलाई बिउ दिइने सापकोटाले जानकारी दिए । उनले भने, ‘किसानलाई बिउ वितरण गरिसकेपछि कृषि प्राविधिकहरूले कृषकहरूलाई व्यावसायिक र आधुनिक कृषिबारेज्ञान दिन्छन् ।’
नगरपालिकाले दिएको बिउ व्यावसायिक कृषिको लागि पूर्ण नहुने भए पनि आफूहरूकालागि भने प्रेरणाको स्रोत भएको फलेवास नगरपालिका१, थापाठानाकी किसान सम्झना भण्डारी बताउँछिन्। व्यावसायिक तरकारी खेतीको लागि कृषक स्वयं नै सक्रिय भएमा मात्र सम्भव हुने उनको भनाइछ।





