हिउँ पर्न थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ । बर्खायाम सकिएर हिउँद लाग्दै गरेपनि अझै हिमाली भेगमा हिमपात सुरु भएको छैन ।
पोखरा/ मुस्ताङस्थित धौलागिरी श्रृंखलाको पानामाथि हिमालबाट आइतबार उर्लिएको हिमपहिरोको क्षति अझै यकीन भइसकेको छैन । हिमपहिरो जाँदा भागदौड हुँदा ११ जना घाइते छन् । जसमध्ये तीन जना पोखरामा थप उपचार गराइरहेका छन् ।
हिमपहिरो गएको क्षेत्र थासाङ गाउँपालिका २ का वडाअध्यक्ष नरप्रसाद हिराचनका अनुसार अहिलेसम्म २४ वटा चौंरी र याक हराएको यकीन भएको छ । हिमपहिरो गएको क्षेत्रमा राखिएका चौरी गोठमा भने अहिलेसम्म गोठधनी पुग्न सकेका छैनन् ।
‘चौंरी गोठ जानै सकेको छैन,’ वडा अध्यक्ष हिराचनले भने, ‘गोठमा पुगेर हेरेपछि मात्र के कति क्षति भयो थाहा हुन्छ ।’ हिमपहिरोले चौंरी गोठ लैजाने बाटो बिगारिदिएको छ भने ठाउँ ठाउँमा रुख ढलाइदिएको छ । त्यही कारण गोठसम्म पुग्न स्थानीय गाउँलेलाई समस्या परेको उनले बताए ।
स्थानीयले याक र चौंरी चराउन हिउँद र बर्खामा छुट्टछुट्टै राख्छन् । अहिले गाउँदेखि ४, ५ घण्टा हिँडेर जानुपर्ने लेकमा उनीहरुले चौंरी राखेका छन् । गोठ बनाएर राखिएको चौंरी दिनभरि आफैं चर्ने र गोठमा गएर बस्ने स्थानीय गौतम शेरचनले बताए । ती गोठहरुमा रहेका चौंरी र याकको अवस्था बुझ्न स्थानीय जान सकेका छैनन् ।
हिउँ पर्न थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ । बर्खायाम सकिएर हिउँद लाग्दै गरेपनि अझै हिमाली भेगमा हिमपात सुरु भएको छैन । सुख्खायाममा उर्लिएको यो हिउँ धरै वर्ष पुरानो भएको हुन सक्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका संरक्षण अधिकृत सन्तोष शेरचनले बताए ।
‘पुरानो हिउँ हिमालको सबैभन्दा तल रहने भएकाले तलबाट एकैचोटी माथितिर प्रेसर आउँछ,’ कोबाङका स्थानीयसमेत रहेका शेरचनले भने, ‘यसपालिको हिउँको सास गाउँसम्म आएको थियो, यो वर्षौं पुरानो हिउँको पहिरो गएको हुनुपर्छ ।’
हिमपहिरो आएको बेला भागदौडमा निस्किएका स्थानीय निथु्रक्क भिजेका थिए । हिमपहिरो गड्गडाएर आउन थालेपछि भागाभाग गर्दा हिउँको हुरीले भेटाएको स्थानीय गौतम शेरचनले बताए । जमिनबाट ज्वालामुखी फुटे जस्तो माथितिर उर्लिएको हिमपहिरोको हुरीले उनी भिजेका थिए ।
‘हिमपहिरो यहाँसम्म त के आउला र भनेर सोचेका थियौं,’ गौतमले भने, ‘हिमालमा बम पड्काए जस्तो डाँडाकाँडा छोपेर आउन थाल्यो, त्यसपछि त हामी अत्तालिन थाल्यौं ।’ धौलागिरी श्रृङ्खलामा स–साना हिमपहिरो देखिरहेका गौतमले यसपाली अचम्मैको घटना भएको सुनाए ।
गौतमका अनुसार यसअघि झण्डै २४ वर्षअघि पनि धौलागिरि श्रृंखलाबाट ठूलो हिमपहिरो झरेको थियो । जुन हिमपहिरोमा परेर एक जनाको ज्यान गएको थियो । त्यतिबेला गौतमको मात्रै ५४ वटा चौंरी मरेका थिए । २०५४ सालमा गएको त्यो हिमपहिरोले ठूलो क्षति पु¥याएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख राजकुमार गुरुङ त्यतिबेला मुस्ताङका वरिष्ठ रेञ्जर थिए । त्यो हिमपहिरोका कारण भएका क्षति विवरण बटुल्न गुरुङ हिमपहिरोग्रस्त क्षेत्रमा पुगेका थिए । ‘त्यतिबेला टुकुचे पिक र धौलागिरि आइसफलको बीचबाट हिमपहिरो बोक्सेखोलामा झरेको थियो’, गुरुङले भने, ‘त्यतिबेलाको हिउँपहिरोमा पनि धेरै चौंरी परेका थिए, हिमपहिरोले जंगल बिनास गरेको थियो ।’
अहिले पानामाथि हिमालबाट गएको हिमपहिरो पनि बोक्सेखोलामा झरेको छ । यी दुबै हिमपहिरो नजिकैबाट गएको गुरुङले बताए । अहिलेको हिमपहिरोमा झरेको हिउँ र माटो थुप्रिएर बसेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार हिमपहिरोमा झरेका हिउँ बरफ बने पनि पग्लिएर बगेको भने छैन ।
स्थानीय गौतम शेरचनका अनुसार २४ वर्षअघि हिमपात भएकै समयमा हिमपहिरो गएको थियो । ‘त्यतिबेला म बाजेबज्यैसँग कोबाङमै थिएँ, गाउँमै तीन फिट जति हिउँ परेको थियो,’ उनले भने, ‘यसपालि त हिउँ नपर्दै हिमपहिरो गयो ।’





