बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘बजारको स्वास्थ्य बिग्रियो, कर कसरी तिर्नु ?’

‘बजारको स्वास्थ्य बिग्रियो, कर कसरी तिर्नु ?’


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७८, बिहिबार

बागलुङ – ‘बागलुङबाट आन्तरिक राजश्व कार्यालयको गाडी हिँड्यो भनेपछि म्याग्दीमा व्यवसायीले ढोका बन्द गर्नुपर्ने अवस्था छ । सानो लगानीमा भर्खरै खुलेका व्यवसायीलाई पनि थिचोमिचो सुरु हुन्छ । स्थानीय सरकारदेखि संघीय सरकारका निकायका आँखा करमा गाँडिन्छन्’, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘सरकार लिने काम गर्छ दिने काम गर्दैन, हामी व्यवसायी सधैं थिचोमिचोमा परेका छौं ।’

कटुवालले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण सरकारले सिर्जना गरेमात्रै व्यसायीले कर तिर्ने वातावरण बन्ने बताए । उनी दशौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय बागलुङले आयोजना गरेको कर सप्ताहको उद्घाटन समारोहमा बोल्दै थिए । ‘कोरोनाले थला परेको व्यवसायलाई सरकार आशा देखाउँछ तर केही दिँदैन, लिन छोड्दैन, दिन जान्दैन्’, उनले भने,‘व्यवसायीले खोजी खोजी कर तिर्ने वातावरण बनाइनु पर्छ ।’

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बजारको स्वास्थ्य बिग्रिने गरी हुने कारोबार सरकारी निकायले नियन्त्रण गर्न नसकेको बताए । ‘कर तिरेर सरकारी निकायमा दर्ता भएर ठूलो लगानीमा चलेका व्यवसायीकै अघि सडकमा माइक बजाएर गाडीमा व्यापार हुन्छ’, अधिकारीले भने,‘बिक्री बिल जारी नगरी बेचिएका सामानले न सरकारले कर लिन पायो न उपभोक्ताले राम्रो सामान पाए, मात्रै बजारको स्वास्थ्य बिग्रिएको छ, नियमामक निकाय हेरेर बस्छन् ।’ अधिकारीले तत्काल नियमविपरित भन्सार छलेर आएका सामग्रीको बिक्री वितरण अन्त्य हुनुपर्ने बताए ।

बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजनकुमार शाक्यले कर बाध्यताले नभई रहरले तिर्नुपर्ने वातावरण हुनुपर्नेमा जोड दिए । ‘हामी व्यवसाय गर्छौं सरकारलाई कर तिर्छौं भनेका छौं तर जनशक्ति छैन्, काम नगराई उत्पादन हुन्न’, शाक्यले भने ‘विदेशमा युवा पठाएर विप्रेषण भित्र्याइरहेका छौं, अब हाम्रो उत्पादन पठाएर डलर भित्राउन सोच्नुपर्छ ।’ सीपयुक्त जनशक्ति राज्यले तयार गरे व्यवसायीले रोजगारी दिन तयार रहेको उनको दाबी थियो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले नियमविपरीत हुने बिक्री वितरणको कामलाई रोक्न सबैको सहकार्य हुनुपर्ने बताए । आन्तरिक राजश्व कार्यालयका अनुसार हालसम्म बागलुङमा ४८ हजार २ सय ५९ करदाता दर्ता छन् । तीमध्ये १९ हजार ५ सय १३ जना व्यवसायिक करदाता हुन् ।

कर सप्ताह उद्घाटन समारोहमा कर अधिकृत शिव प्रसाद ढुंगानाले कर शिक्षा, कर दाता सम्मान लगायतका कार्यक्रम रहेको जानकारी गराए । म्याग्दीका व्यवसायीहरुले कर तिर्ने सहज वातावरणका लागि करदाता सेवा कार्यालय स्थापनाको माग गरेका थिए । बेलाबेलामा सरकारले ल्याउने कर छुटका सूचना सम्बन्धित कार्यालय नभएका कारण व्यवसायीसम्म नपुग्ने गरेको उनीहरुको गुनासो थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->