बागलुङ/कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ वटा उच्च प्रविधिको हरितगृह निर्माण ग¥यो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षहरुमा निर्माण भएका हरित गृहहरुमा किसानले तरकारी फलाइरहेका छन् ।
तरकारी समेत आयात गरेर खानुपर्ने अवस्थामा रहेको बागलुङ अहिले तरकारी, अण्डा र दुधमा आत्मानिर्भर भैसकेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुन बताउँछन् । यान्त्रिक हलो र कृषि उपज प्रशोधन मेसिनहरु पनि ज्ञान केन्द्रले वितरण गरिरहेको छ । किसान आधुनिक बन्दै जाँदा जैविक उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले जैविक उत्पादनलाई पनि जोड दिँदै आएको छ । जिल्लाको निसीखोला, तमानखोला, ताराखोला र ढोरपाटन क्षेत्रमा जैविक उत्पादन संरक्षणको कार्यक्रम छ ।
जैविक खेतीलाई सघाउन कृषि विकास कार्यालयले सुरुवात गरेको प्रदर्शनी स्थल भने उपयोगविहीन थियो । साविकको कृषि विकास कार्यालय खारेज भएपछि उपयोगविहीन भएको कृषि उत्पादन प्रदर्शनी स्थल पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा रहेको प्रदर्शनी स्थल सञ्चालनमा ल्याएर तरकारी, खाद्यबालीको उत्पादन तथा प्रदर्शन थालिएको हो ।
ज्ञान केन्द्रले जैविक उत्पादन र आधुनिक प्रविधिमा उत्पादन गर्ने बिधि अपनाएर प्रदर्शनी स्थलमा तरकारी तथा खाद्यबाली लगाएको हो । ७२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनी स्थलमा दुईवटा उच्च प्रविधिका हरित गृह निर्माण गरिएको छ । त्यो बाहेक जमिनमा विभिन्न प्रजातीका तरकारी लगाइएको ज्ञान केन्द्रले जनाएको छ ।
‘हामी यहाँ बीउ, मल र सिंचाईसमेतको परीक्षण गर्ने गरेका छौं’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने,‘यहाँको सिकाइले किसानलाई सिकाउन सहज हुन्छ । ’ प्रदर्शनी स्थल पुनः सञ्चालनमा आएपछि मकै खेती लगाएको केन्द्रले अहिले गोलभेँडालगायतका तरकारी बालीको परीक्षण गरिरहेको छ । बायोचार (घाँसपात जलाएर बनाइने मल) उत्पादन तथा त्यसको प्रयोग प्रदर्शनी स्थलमा गरिएको छ ।
‘जैविक उत्पादनको परीक्षण बढी गर्ने गरेको छौं, सोही अनुसारको सिफारिस किसानलाई गर्छौं’, ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले भने ‘उत्पादनमा लाग्ने समय, माटोको जाँच, मल, बीउ र सिंचाई गर्दा र नगर्दा हुने उत्पादनको फरक समेत हामी किसानलाई देखाउँछौं ।’ लामो समय खाली रहँदा जंगल बनेको प्रदर्शनी स्थल तरकारी बालीले सिंगारिएको छ । प्रदर्शनी स्थलमा केन्द्रका प्रमुखलगायत बागबानी विकास अधिकृत, बाली विकास अधिकृतहरु पुग्ने गरेका छन् । ‘किसान र बिज्ञ सबैको सिक्ने थलो हो’, उनले भने ‘अझै फराकिलो ठाउँ भए धरै परीक्षण गर्न सकिन्थ्यो ।’
उपयोगबिहिन भएको प्रदर्शनी स्थलको जमिन बेला बेलामा चर्चामा आउने गरेको थियो । कृषि विकास कार्यालय खारेज भएसँगै सदरमुकाममा रहेको प्रदर्शनी स्थलमा धेरैका आँखा गडेका थिए । ज्ञान केन्द्रले उक्त जमिन उपयोग गर्न थालेपछि प्रदर्शनी स्थलको उपयोगको विषयमा चर्चा हुन छोडेको छ ।





