पर्वत / कोरोना संक्रमणको अवस्था बिस्तारै बढ्दै जान थालेको तथा नयाँ भेरीएन्ट ओमिक्रोन विश्वभर फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ।
मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै गइरहेकाले जाँदा उनीहरुबाटै कोभिडको नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
उनका अनुसार बुधबार राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेष गरी पर्यटकहरूको लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टा भित्रको एन्टीजिन परीक्षण रिपोर्ट नभएका व्यक्तिहरूलाई जिल्ला प्रवेशमा कडाइ गर्न लागिएको हो। तर,मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूको लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
‘मंसिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागु हुने गरी मुस्ताङ प्रवेशमा विशेष गरी घुम्न आउनेहरूको लागि कडाइ गर्न लागिएको छ। त्यस बाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ’, प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरु एकपटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन्। अहिले विभिन्न देशमा नयाँ भेरिएन्ट फैलिँदै गएको बेलामा पर्यटकहरूको माध्यमबाट मुस्ताङसम्म पुग्नसक्ने जोखिमका कारण कडाइ गरिएको हो।’
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रमहरू नगर्न आदेश दिएको छ। यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ।





