पोखरा/गण्डकी प्रज्ञा प्रतिष्ठान आउँदो पुस महिनामा छ वटा कार्यक्रम गर्ने भएको छ । निरन्तर कार्यक्रम गर्ने योजनासहित प्रतिष्ठानले कार्यक्रम तय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले निरन्तर कार्यक्रम गरिरहेका छौं, केही महत्वपूर्ण कार्यक्रम पुस महिनामा गर्दैछौं,’ उनले भने ।
प्रतिष्ठानले नाटक लेखन कार्यशाला, नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठी लगायत कार्यक्रम पुस महिनामा गर्ने गरी तयारी गरिरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
नाटक लेखन कार्यशाला पुस १ गतेबाट ११ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म पोखरामा आयोजना हुनेछ । ११ दिनसम्म पूरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने आयोजकको तयारी छ ।
कार्यशालामा सहभागी हुन नाटकको नमुना पठाउनु पर्नेछ । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर मंसिर २३ गते बेलुका ५ बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
आवेदनमा परेका नाटकहरुमध्येबाट बढीमा ८ जना आवेदकलाई उत्कृष्टताको आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको यो कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिए । कार्यक्रमलाई पोखरा प्रज्ञा प्रतिष्ठानले साथ दिएको छ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुने कार्यशालामा पोखरा थिएटरले सहकार्य गरेको छ । कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नेछन् । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला समेत गरेको थियो ।
यसैगरी पुस ४ गतेबाट ८ गतेसम्म स्याङ्जाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानले सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यशालामा २५ जनालाई सहभागी गराउने तयारी गरिएको कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिए ।
स्थापित जाति विस्तापित भाषाको २ महिने कार्यशाला पुस १० गतेबाट हुनेछ । यो कार्यशाला गण्डकी प्रदेशका माग भएका जिल्लामा गरिनेछ । ‘गण्डकी प्रदेश अन्र्तगतका ८४ जातिमध्ये सिरियल नम्बर एक देखि २० सम्मका २० जातिको अध्ययन गर्नेछौं,’ सचिव श्रेष्ठले भने, ‘प्रत्येक जातिको तीन वटा संस्कृति तथा प्रत्येक जातिको पाँच वटा बाजाको अध्ययन गरेर ती जाति संस्कृति र बाजाको बारेमा पुस्तक नै तयार पार्नेछौं ।’
यो अध्ययनलाई आधार बनाएर विद्यालय अन्र्तगतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयको रुपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी छ । पुस महिनामानै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तय भएको छ । तीन महिना सम्म चल्ने यो कार्यक्रम जिआइटीसँग मिलेर गर्न लागिएको हो ।
पुस दोस्रो हप्ता म्याग्दीमा कवि गोष्ठीको आयोजना हुनेछ । गोष्ठीमा सहभागी कविले आफ्नो रचना सुनाउनेछन् भने कार्यपत्र समेत प्रस्तुत गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैं क्रियाशिल बन्ने कुलपति सुर्य खड्का बिखर्चीले बताए ।





