पोखरा/ पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा भ्रष्टचारविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टचारविरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा कालिका बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पोखराका प्रमुख गोसरी निरौलाले भ्रष्टचारविरुद्ध व्यक्ति स्वयम्बाट सुरुवात गर्नुपर्ने बताए ।
‘हामीले हरेक कुरालाई सामान्य रुपमा छाडिदिन्छौ, कसैले भनेको समयमा काम नगर्नु, पूर्वाधार विकास गर्दा सम्पन्न हुन नपाउँदै जीर्ण बन्नु, सडक एक महिनामै भत्किनु यस्ता यस्ता कुराहरुका बारेमा प्रश्न गर्नुहोस् । आफ्नो समाजमा हुने हरेक गतिविधिको बारेमा सूचना माग गर्नुहोस् अनि मात्रै भ्रष्टचार भएको छ छैन् थाहा हुन्छ’ उनले भने, यहाँ जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता भएकै कारण भ्रष्टचार मौलाएको हो ।’
आयोगका सह–सचिव मेघनाथ रिजालले भ्रष्टचार नियन्त्रण र सुशासनयुक्त प्रवद्र्धनमा युवा विद्यार्थीहरु र प्राज्ञिक संस्थाको भूमिकाबारे एक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनका अनुसार सामाजिक पद र प्रतिष्ठाका लागि सबैभन्दा बढि भ्रष्टचार हुदैँ आएको छ । रिजालले भ्रष्टचारका लागि काम गर्ने आयोगका बारेमा र संविधानले व्यवस्था गरेको विषयमा प्रष्ट पारेका थिए ।
कालिका बहुमुखी क्याम्पसका प्रमुख तथा सुशासनका लागि नागरिक समाज (सुनास)का अध्यक्ष रविन्द्र बास्तोलाले भ्रष्टचार न्युनिकरणका लागि आयोग एउटाले मात्रै गरेर केही नहुने बताए । उनले नागरिक स्तरबाटै यसको अभ्यास हुन आवस्यक रहेको बताए ।
ढोरपाटन समाचार प्रमुख मिश्र सम्मानित
भ्रष्टचारविरुद्ध निरन्तर कलम चलाउँदै आएका ढोरपाटन दैनिकका समाचार प्रमुख बासुदेव मिश्र सम्मानित भएका छन् । सुशासनका लागि नागरिक समाज (सुनासले) वर्षेनी प्रदान गर्दै आइरहेको सुशासन पत्रकारिता पुरस्कार २०७८ बाट उनी सम्मानित भएका हुन् ।
सुनासले भ्रष्टचारविरुद्ध कलम चलाउने एक पत्रकारलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ । मिश्रलाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो । सम्मानित हुँदै उनले आफूलाई थप जिम्मेवारी बोध गराएको सुनाए । पत्रकारिताको माध्यमबाट भ्रष्टचारको उजागर गर्दै आइरहँदा एकातिर सम्मानित हुँदा अर्कातिर भ्रष्टचार बढिरहेको उनले सुनाए । उनले अबका दिनमा नीतिगत भ्रष्टचारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनी नेपाल खबर डटकम र रेडियो अन्नपूर्णमा समेत आवद्व छन् ।





