पर्वत/ आर्थिक वर्ष २०७८÷०७९ को सुरुवाती चार महिनाको अवधिमा गण्डकी प्रदेशमा जुवा खालबाट एक करोड २० रुपैयाँ बरामद भएको छ ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार गत साउनदेखि कात्तिकसम्मको अवधिमा ११ जिल्ला रहेको गण्डकी प्रदेशका सात जिल्लामा प्रहरीले गरेको कारबाहीबाट एक करोड २० लाख ४० हजार दुई सय ७१ रुपैयाँ बरामद भएको हो ।
चार महिनाको अवधिमा बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ परेका छैनन् । सोही अवधिमा सबैभन्दा बढी केस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २७ वटा रहेका छन् । त्यहाँ साउनमा छ वटा, भदौमा सात वटा, असोजमा छ वटा र कात्तिक नौ वटा मुद्दा दर्ता भएका छन् । एक महिला र एक सय ६५ पुरुष गरी एक सय ६६ जना पक्राउ परेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट कुल १३ लाख आठ हजार दुई सय १४ रुपैयाँ जफत भएको छ ।
दोस्रोमा कास्की जिल्लाका केस धेरै रहेका छन् । प्रवक्ता पौडेलका अनुसार कास्कीमा साउन र भदौमा पाँच÷पाँच तथा असोज र कात्तिकमा छ÷छ वटा मुद्दा दर्ता भएका छन् भने एक सय ३३ पुरुष र ३४ महिला गरी एक सय ६७ जना पक्राउ परेका छन् । कास्कीबाट प्रदेशका जिल्लाभरमा सबैभन्दा बढी ७१ लाख ६३ हजार एक सय ८० रुपैयाँ बरामद भएको छ ।
केसको सङ्ख्याका हिसाबले आठ केस सहित पर्वत जिल्ला तेस्रो स्थानमा रहेको छ । कार्यालयका अनुसार पर्वतमा साउन, भदौ, असोज र कात्तिकमा बराबर दुई÷दुई गरी आठ केस दर्ता भएका छन् । ४३ जना पुरुष र छ जना महिला गरी ४९ जना पक्राउ परेको पर्वतबाट १२ लाख ६२ हजार ८६ रुपैयाँ जफत भएको छ । यस्तै लमजुङ जिल्लामा साउन, भदौ र असोजमा एक÷एक केस रहेका छन् भने कात्तिकमा दुई केस रहेका छन् । एक महिला र ५० जना पुरुष पक्राउ परेको लमजुङबाट तीन लाख ७१ हजार छ सय ५६ रुपैयाँ बरामद भएको छ ।
सोही अवधिमा तनहुँका ७६ जना पुरुषलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा लिएको थियो । भदौमा एक र कात्तिकमा पाँच वटा केस रहेको तनहुँबाट १४ लाख १३ हजार नौ सय ५० रुपैयाँ जफत भएको छ । गोरखामा साउन, भदौ र कात्तिकमा जुवासम्बन्धी एक÷एक केस रहेका छन् भने २२ जना पुरुष पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख ४२ हजार नौ सय २० रुपैयाँ फेला परेको थियो ।
स्याङ्जामा साउनमा चार, भदौ र असोजमा एक÷एक गरी छ वटा जुवा केसमा ४१ जना पुरुष पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ७८ हजार दुई सय ६५ रुपैयाँ जफत भएको छ ।
सूचना अधिकारी प्रहरी उपरीक्षक पौडेलका अनुसार महिनागत रूपमा तथ्याङ्कको मूल्याङ्कन गर्दा सबैभन्दा बढी कात्तिकमा २५ वटा जुवा सम्बन्धी केसहरू दर्ता भएका छन् । यस्तै साउनमा १९, भदौमा १८ र असोजमा १६ वटा मुद्दा दायर गरिएका छन् । कुल ७७ मुद्दामा पाँच सय ८० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय बताउँछ ।





