पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङ स्थित मालढुंगामा हुँदै बगिरहेको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती प्रायः सुनसान हुन्छ। आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित रहेका पनि उत्तिकै छन् ।
छाक टार्नकालीगण्डकीबाट बालुवा निकालेर बेच्नु उनीहरुको कर्म हो । जाडो होस् वा गर्मी सधैंको एउटै बास ब्लकले बनाएका एक तले छाप्रामा अस्थायी रूपमा राखिएका जस्ता पाता। गर्मीमा जस्ता तातेर सुत्नै सकिँदैन । जाडोमा जस्ताबाट शीतका थोपा खसेर निदाउन पाइँदैन।
शनिबार बिहान त्यही अभाव र समस्यामा रहेको माझी बस्तीमा महोत्सव नै लागेको थियो । कालीगण्डकीको किनारसँगै त्रिपालमा सबै कपडाहरू देखिने गरी मिलाएर राखिएको थियो। विद्यालय जाने उमेरका बालबालिकादेखि वृद्ध अवस्थामा रहेकाहरू पनि त्रिपालमा राखिएका कपडाहरू एक–एक लिँदै आफ्नो शरीरमा टाँस्दै नाप्दै गरिरहेका थिए। नापो मिलेमा निःशुल्क घरमा लैजान पाउने, नमिलेमा छानी छानी अर्को नापोको कपडा लिन पाइने। कठाग्रिँने जाडोमा टिनको छानामुनि एकसरो कपडाको भरमा दैनिकी धानिरहेका उनीहरूलाई निःशुल्क कपडा पाएपछि त्यहाँभन्दा खुसी के हुन्थ्यो र ?
उनीहरूका लागि यो मौका भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, कुश्मा नगरपालिका७ र नमूना स्काउटले मिलाएकोहो । पछिल्ला दुई सातायता यी तीन संस्थाले आर्थिक समस्यामा रहेका परिवारको लागि न्यानो कपडा संकलन र वितरणको अभियान थालेका छन्। अभियानका क्रममा इच्छा लागेकाहरूले अभियानका लागि कपडा उपलब्ध गराउँछन्।
कपडा पसलमा रहेका नयाँ तथा दाग लागेर बिक्री नहुने अवस्थामा रहेको वा आम नागरिकले फेसन गएर वा आकार नमिलेर नलगाई थन्क्याएका कपडालाई सफा गरेर अभियानलाई उपलब्ध गराइन्छ। हरेक शुक्रवार ‘सेकेन्ड हेन्ड’ कपडा संकलनका लागि ‘माइकिङ’ गर्दै गाडी नै बजारमा डुलाइन्छ अनि शनिबार समस्यामा रहेकाहरूलाई कपडा लिन आउन आह्वान गरिन्छ।
सोही अभियानअन्तर्गत शनिबार माझी बस्तीमा रहेका परिवारका लागि कपडा बाँडिएको हो। लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ का अनुसार दुई साताको अवधिमा झन्डै चार सय परिवारले कपडा पाएका छन्। चिसो बढ्दै जाँदा गरीब तथा विपन्न परिवारलाई न्यानो कपडाको पीर हुन्छ। दुई छाक गर्जो टार्न मुस्किल भएकाहरूले न्यानोका लागि ज्याकेट, स्विटर, ट्राउजर, मोजा, टोपी, गलबन्दी लगायतका लत्ताकपडा खरिद गर्न मुस्किल हुँदा चिसोबाट हुने असरहरू जानिजानी भोग्नुपर्ने बाध्यता छ। यही अवस्थाको अन्त्य गर्न र अन्यत्र पनि सिकाई होस भनेर नै फरक खालको काम आफूहरूले गरेको उनको भनाई छ।
‘पैसा भएको मान्छेले फेसन र न्यानोपनको आधारमा कपडाहरू रोजेर किनिरहेका हुन्छन्। गत वर्ष लगाएका तथा फेसन गएका कपडाहरू नलगाइ नयाँ किन्नेहरूले घरमा थन्क्याएर राखेका हुन्छन्। ती कपडाले किन्न नसक्नेहरूको जीवन बचाउन सक्छन् भनेर यो अभियान थालिएको हो’, उनले भने, ‘हरेक दिन जसो सङ्कलनको काम भइरहेको हुन्छ। हप्ताभर संकलन भएका न्यानो लुगा शनिवार कुनै ठाउँमा राखेर समस्यामा भएकाहरूलाई लिन आउनको लागि अनुरोध गरेर सकेसम्म धेरैलाई वितरण गरिन्छ।’
गरिब, विपन्न, अल्पसंख्यक, दलित समुदाय लगायत आर्थिक समस्यामा रहेकाहरूलाई चिसोबाट जोगाउनको लागि परोपकारी काम थालिएको हो। बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दाहरूसँग पुराना र सफा कपडा संकलन गर्ने र कुनै एक चोकमा ती कपडाहरू राखेर विपन्न तथा असहाय नागरिकलाई बोलाएर वितरण गर्ने गरिन्छ।
अभियानका क्रममा सिरक, डसना, स्विटर, ज्याकेट, ब्लाङकेट, कुर्था सुरवाल, टोपी, ट्राउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने, ओढ्ने र ओछ्याने कपडाहरू अभियानका लागि प्राप्त भएका कुश्मा नगरपालिका७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले बताए।
‘जाडो महिना सुरु भएसँगै विपन्न, दलित, मजदुर लगायत आर्थिक संकटमा रहेका परिवारहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन् उनीहरूलाई नै मध्यनजर गरेर यो कार्यक्रम चलाइएको हो’, उनले भने,‘आर्थिक संकटमा रहेकाहरू नै चिसोबाट हुने विभिन्न संक्रमणको उच्च सिकारमा रहेको अस्पताल तथा क्लिनिकहरूको तथ्याङ्कले देखाएकाले पनि अभियान सञ्चालन गर्नु आवश्यक रहेको देखिएको छ।’





