पोखरा/ माघ १३ देखि २४ गतेसम्म लेखनाथ महोत्सव आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ महोत्सवको आयोजक हो । १७ औं संस्करणको महोत्सव पोखरा २७ तालचोक डाँडाको नाकमा हुने उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
उनले कोभिड १९ कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको बताए । आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादनलाई बजारीकरण, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, उद्यमशीलता र प्रविधि हस्तान्तरण, जातीय भेषभूषा, आन्तरिक एवंं बाह्य पर्यटकहरुको आकर्षण बढाउन महोत्सवले सहयोग पुग्ने उनले जिकिर गरे ।
लेखनाथ महोत्सवको अहिलको संस्करणमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदीबासी जनजाती विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदीवासी जनजाति तथा आमा महिला समूहरुहरुको झाँकी¥याली तथा भेषभूषा प्रदर्शनीलगायतका कार्यक्रमहरु राखिएको प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी गराए । उनका अनुसार दैनिक रुपमा ख्यातिप्राप्त हास्यव्यंग्य, लोकदोहोरी र लाइभ म्युजिक कन्र्सटलाई समेत प्रस्तुत गरिनेछ ।
कोरोनाका कारण व्यापार व्यवसायमा आएको मन्दीलाई ध्यानमा राख्दै महोत्सव प्रवेश टिकट र स्टल भाडा दर तथा अन्य सेवासुविधाहरु २०७६ सरह नै हुने आयोजकले जनाएको छ । वृद्धाबुवा, आमा, अपाङ्ग र एक महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता विवरण कार्डका आधारमा निःशुल्क प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।
महोत्सवसंचालन गर्न ८ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको अध्यक्ष आत्रेयले जानकारी गराए । उनले महोत्सवमा करिब ३ सय स्टल रहने र २ लाख ५० हजार दर्शकले मेला अवोलकन गर्ने अपेक्षा गरिएको बताए । मेला समय अवधिभर करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवबाट १५ लाख बचत गरी प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माणलगायतका सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने घोषणा गरिएको छ ।





