तनहुँ/जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत बर्षको तुलनामा १६.४५ प्रतिशत धान उत्पादन घटेको हो । यो बर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ प्रकृति न्यौपानेले जानकारी दिइन् ।
१० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानवाली लगाईएको थियो । १२५ हेक्टरमा लगाईएको धानखेतीमा बाढी पहिरो र वर्षाले क्षति पुु¥याएको थियो । गत वर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको न्यौपानेले जानकारी दिइन् । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको छ ।
बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले बर्सेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यसपालि धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाको कारण उत्पादन घटेको हो । अर्कोतर्फ बर्सेनि धान लगाउने क्षेत्रफल घट्दा उत्पादन स्वतः कम हँुदैछ’ उनले भने । तिवारीका अनुसार गाउँका टारी खेत जनशक्ति अभावमा बाँझिएका छन् ।
राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुदाँ लहलह धान झुल्नुको सट्टा बडेमानका कंक्रिटका घर ठडिएको तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउन भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्’ उनले भने । सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य भूमिमा घरटहरा बनाउन नपाइने प्रावधान लागु नगरेसम्म बर्सेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने उनको भनाइ छ ।
तर, बढ्यो चैते धान
चैते धान उत्पादन भने यो वर्ष बढेको छ । कार्यालयका अनुसार यो वर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाईएको थियो । १६ हजार ८९८ मेट्रिक टन उत्पादन भएको छ । गतबर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा लगाईएको चैते धान ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँट धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मंसुली, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् ।
टाइसिन, बासमती लगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कृषि अर्थ विज्ञ न्यौपानेले बताईन् । ‘घरमा उपभोग गर्नलाई मात्रै रैथाने जातका धान लगाएको पाइन्छ’ न्यौपानेले भनिन्, ‘कम उत्पादन हुने हुदाँ किसानको आकर्षण उन्नत जातमा बढेको छ ।’





