बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत अस्पताललाई दुई करोडको स्वास्थ्य सामग्री

पर्वत अस्पताललाई दुई करोडको स्वास्थ्य सामग्री


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

पर्वत\१५ शैय्या क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब र लियो क्लबको सहकार्यमा प्राप्त भएको एक करोड १६ लाख ३८ हजार एक सय २०, सांसद पदम गिरीमार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित ३५ लाख, कुश्मा नगरपालिकाबाट १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोषबाट ३३ लाख २५ हजार गरी कुल एक करोड ९९ लाख ६४ हजार एक सय १५ रुपैयाँ मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको हो।
परियोजनाका सभापति तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का चिफ एडभाइजर वसन्त कुमार कर्माचार्यका अनुसार दुई थान आइसियु भेन्टिलेटर, एक थान हेमोडालिसिस मसिन, एक थान पूर्ण डिजिटल एक्स–रे प्रिन्टिङ मेशिन, एक थान अक्सिजन भर्ने कम्प्रेसर मसिन, एक थान मोर्डन कल्चर मेडिया मसिन, एक थान पूर्ण हाइड्रोलिक अपरेसन टेबल, एक थान एनेस्थेसिया वर्कस्टेशन मसिन, एक थान एक्स–रे खिच्ने मसिन (५०० एमए), दुई थान सेन्टीफ्यूज मेशिन, एक थान लेन्सोमिटर म्यानुअल, एक थान पेन्डिएट्रिक लुप ह्यान्डल, एक थान ब्लड रोलर मिक्स्चर, दुई सेट नर्सिङ स्टेसन फर्निचर सेट, १० थान वेटिङ स्टिल चेयर, आठ सेट औषधि राख्ने ¥याक र चार थान घुम्ने कुर्ची गरी कुल १६ प्रकार सामग्रीहरू हस्तान्तरण गरिएको हो।
गैर सरकारी संस्थाहरूमध्येमा सबैभन्दा ठुलो आर्थिक कोष भएको लायन्स क्लब इन्टरनेसनल फउण्डेसनको तर्फबाट अस्पतालको सेवा र सुविधालाई थप प्रभावकारी बनाउनको लागि ती सामग्री ल्याइएको कर्माचार्यले बताए। ‘यहाँको अस्पतालको सेवा सुविधा व्यवस्थित गर्न सकियो भने उपचारको खोजीमा अन्य जिल्लामा जानुपर्ने अवस्था रहँदैन। अस्पतालले गरिरहेको प्रगतिमा हामीले हातमा हात मिलाएका हौं,’ परियोजनाका सभापति कर्माचार्य भन्छन्, ‘केही उपकरणहरू पहिले नै ल्याएर राखिएको थियो, केही अहिले आए।’
सांसद गिरी सहित कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा लायन्स क्लबका आईपीडीजी र वर्तमान एमसीसी मान बहादुर रोकाको योगदानले पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लबहरू मार्फत अस्पताललाई आधुनिकीकरण गर्ने र अस्पताललाई आवश्यक उपकरणहरू उपलब्ध गराउने अभियान सफल भएको उनको भनाइछ ।
परियोजनाको लागि निर्माण भएको स्थानीय मिलान कोषबाट लिइएको उक्त रकमबाट प्रतीक सर्जिकल डाइग्नोष्टिक कन्सर्न पोखराले स्वास्थ्य सामग्रीहरू खरिद गरेको हो।लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट संयुक्त रूपमा ती सामग्रीहरू अस्पताललाई हस्तान्तरण गरिएको हो। त्यस अवसरमा खेतानले लायन्स क्लब निस्स्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताउँदै उनले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको भन्दै खुसी व्यक्त गरे।
सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुसी लागेको बताए। जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->