बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शेयर बजारविरुद्ध प्रचण्ड आक्रमक, नेता–कार्यकर्ता आकर्षित

शेयर बजारविरुद्ध प्रचण्ड आक्रमक, नेता–कार्यकर्ता आकर्षित


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७८, बिहिबार

पोखरा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेयर बजारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले मंसिर २६ गते माओवादी केन्द्रको सातै प्रदेश अधिवेशनको उद्घाटनका क्रममा शेयर बजार ‘साम्राज्यवादको विकसित रुप’ भनेर टिप्पणी गरेका थिए ।

प्रदेश अधिवेशनमा प्रचण्डले भनेका थिए,‘पहिला पहिला पुँजीको लगानी उद्योग, उत्पादनमा हुन्थ्यो । त्यहाँबाट आउने नाफा पूँजीपतिहरुले लिन्थे । आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन,मुख्यतया पूँजीको लगानी पूँजीमै हुन्छ ।’
पूँजीको लगानी पूँजीमै हुने वित्तीय पूँजीवादको विशेषता भएर देखा परेको भन्दै उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली बैंक त्यसैको रुप भएको प्रचण्डको जिकिर छ ।भाषणमा मात्र होइन, माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि शेयर बजारविरुद्ध आक्रामक देखिएका छन् । प्रतिवेदनमा उनले छोटो समयमै अकुत सम्पत्ति कमाउन शेयर बजारमा लगानी हुने गरेको लेखेका छन् । यसबाट केही पूँजीपतिले लाभ लिएको भन्दै उनले पुँजीपतिले विश्व अर्थव्यवथा आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरेको जिकिर गरेका छन् ।

‘मुठ्ठीभर पूँजीपति घरानाहरूको हातमा पूँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पूँजीमार्फत् नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताको रुपमा रहेका छन्’,उनले प्रतिवेदनमा उल्लेख गरेका छ ।

पूँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेको प्रचण्डले प्रतिवेदनमा जिकिर गरेका छन् ।
शेयर बजारविरुद्ध प्रचण्ड आक्रामक रुपमा प्रस्तुत भए पनि माओवादी नेता, कार्यकर्ता भने शेयर कारोबारमा आकर्षित देखिएका छन् । शेयर कारोबारमा आममानिस जोडिने क्रममा माओवादी पार्टीका नेता, कार्यकर्ताले पनि लगानी बढाइरहेका छन् ।

माओवादी केन्द्रका नेता एवं हालका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पनि शेयर बजारमा लगानी गरेको देखिएको छ । २०७३ सालमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उजामन्त्री रहेका प्रभाकरले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५ हजार कित्ता शेयर रहेको खुलाएका छन् । उनले सम्पत्ति विवरणमा पिपुल्स हाइड्रो सहकारीमा ५ हजार कित्ता शेयर रहेको र उक्त रकम जनमुक्ति सेनाबाट अवकाश हुँदा प्राप्त भएको विवरणमा भरेका थिए ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका प्रभाकर लगायत मन्त्रिपरिषदका सदस्यले सम्पत्ति विवरण भने सार्वजनिक गरेका छैनन् । अर्थमन्त्री प्रभाकरसँग मात्र होइन, माओवादीबाट निर्वाचन जितेर प्रदेशमा सांसद र मन्त्री भएकाहरुले पनि शेयर बजारमा लगानी गरेको सम्पत्ति विवरणमा देखिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले कृषि विकास बैंकको शेयर खरिद गरेका छन् ।
मन्त्री हुँदा चुमानले बुझाएको सम्पत्ति विवरणमा कृषि विकास बैंकमा ३ हजार २ सय कित्ता शेयर खरिद गरेको उल्लेख गरेका थिए । उनी माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य हुन् ।

यस्तै, गण्डकीमा हाल अर्थमन्त्री रहेका माओवादीकै अर्का नेता रामजी बराल ‘जीवन’ले नेपाल पूर्वाधार विकास बैंकको ६० कित्ता शेयर खरिद गरेका छन् । यस्तै, गण्डकीका पूर्वकृषिमन्त्री लेखबहादुर थापा र हालका कृषिमन्त्री चन्द्रबहादुर बुढाले सहकारीमा शेयर हालेका छन् । थापाले एक सय कित्ता र बुढाले १ हजार कित्ता शेयर किनेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनीहरु दुबैजना माओवादी केन्द्रका नेता हुन् ।
कर्णाली प्रदेशकै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले शेयर बजारमा १५ लाख रुपैयाँ लगानी गरेको उल्लेख गरेकी छिन् । उनले भरेको सम्पत्ति विवरणमा पिपुल्स इनर्जी लिमिटेडको शेयर खरिद गरेको उल्लेख गरेकी हुन् । केसी हालै माओवादी प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश कमिटीको अध्यक्ष चुनिएकी छिन् ।

शेयरमा लगानी गरेका गण्डकीका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले अध्यक्ष प्रचण्डले प्रतिवेदनमा शेयर बजारबारे राखेको दृष्टिकोणमा शतप्रतिशत समर्थन जनाए । शेयरमा साना लगानीकर्तालाई भन्दा पनि अध्यक्ष प्रचण्ड अर्बौं लगानी गरेका पुँजीपतितर्फ इङ्गित गरेको उनको दाबी छ ।
‘हाम्रो अध्यक्षले भन्न खोजेको शेयरमा एक दुई लाख लगानी गरेकाको लागि होइन, अर्बाँै अर्ब लगानी गर्नेहरुप्रति लक्षित छ’, उनले भने, ‘हाम्रा पार्टीका साथीहरुले गरेको सानो लगानीतर्फ संकेत गर्नुभएको छैन ।’ उनले पूँजीको परिचालन उत्पादन र औद्योगिक क्षेत्रमा हुनुपर्ने प्रचण्डको जोड रहेको बताए ।

शेयर बजारप्रति अध्यक्ष प्रचण्ड आक्रामक देखिए पनि अन्य नेता तथा कार्यकर्ता आकर्षित देखिनुमा २ वटा दृष्टिकोणले हेर्नुपर्ने अर्थशास्त्री प्रा.डा. लेखनाथ भट्टराइले बताए । ‘अध्यक्ष प्रचण्डले कि त कार्यकर्तालाई आफ्नो विचारधारा अनुसार प्रशिक्षित गर्न सक्नुभएन, कि उहाँ गलत हुनुहुन्छ’, भट्टराइले भने ‘यो दुइटा कुरामा एउटा हुनुपर्छ ।’
प्रचण्डले कम्युनिष्ट दर्शनका आधारमा शेयर कारोबारप्रति आक्रामक टिप्पणी गरिरहेको भन्दै उनले पुँजीवादको विकास नभई समाजवाद नआउनेतर्फ ध्यान दिन आग्रह गरे । ‘शेयर बजारका बारेमा प्रचण्डको धारणा वैचारिक र व्यवहारिक दुबै दृष्टिले उपुक्त छैन’, उनले भने, ‘शेयर बजारप्रति उहाँले राख्नुभएको धारणामा पुनर्विचार गर्नुपर्छ ।’

शेयर बजारमा रहेका समस्या समाधान गरी व्यवस्थित बनाउनुपर्नेमा भने उनले जोड दिए । पृथ्वीनारायण क्याम्पस पोखराका अर्थशास्त्र विभाग प्रमुख रहेका भट्टराइले शेयर बजारमा समस्या रहेको र केही व्यक्ति तथा कम्पनीको पकड घटाएर व्यवस्थित बनाउने जिम्मेवारी प्रचण्ड र उनको पार्टीको काँधमा रहेको बताए । ‘अर्थ मन्त्रालय सम्हालेको पार्टीका अध्यक्षले यसरी बोल्नु र पार्टीको प्रतिवेदनमा पेश गर्नु गलत छ’, उनले भने, ‘शेयर बजारलाई व्यवस्थित बनाउनेतर्फ उहाँहरु लाग्दा अर्थतन्त्रलाई राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->