बागलुङ/मिसन नेपाल कृषि सहकारी संस्था बागलुङले कृषि उत्पादन र बजारीकरणलाई थप शसक्त बनाउने भएको छ । शनिबार बागलुङमा भएको संस्थाको चौंथो साधारण सभाले कृषि उत्पादनको क्षेत्र पहिचान गरेर उत्पादन र बजारीकरणका कार्यमा शेयर सदस्यहरुको सक्रियता बढाउने घोषणा गरेको हो ।
संस्थाको आगामी योजना प्रस्तुत गर्दै अध्यक्ष दलसिंह खत्रीले बचत बृद्धि, लगानी बृद्धि, सकृयता बृद्धि र शेयरसदस्य तथा कृषि उत्पादनमा लाग्ने प्रण गरे । सहकारीले बागलुङ बजारमा शितभण्डार र तरकारी मण्डी सञ्चालनमा ल्याएको छ । ‘हाम्रो कोल्ड स्टोर्स र मण्डीका लागि आवश्यक तरकारी हाम्रै शेयर सदस्यहरुबाट उत्पादन गर्नु छ,’ खत्रीले भने, ‘आगामी वर्ष सोही अनुसारको योजना बनाएर काम गर्नेछौं ।’
सहकारीका सचिव किशोर थापाले प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा पनि सहकारीले शेयर सदस्य मैत्री कार्यक्रम ल्याएको बताए । ‘मृत्यु संस्कार र जन्म संकारमा सहयोग गर्ने नीति ल्याएका छौं’ थापाले भने ‘बचत, लगानी र शेयर बृद्धिका कार्यक्रम पनि थप शशक्त बनाउँछौं ।’
३६ लाख ७३ हजार शेयर पूँजी रहेको सहकारीले आगामि बर्ष शेयर बृद्धि र सुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको छ । ५ सय शेयर र ५० लाख बढी शेयर पूँजी संकलन गरिने कोषध्यक्ष दिलिप केसीले बताए ।





