पोखरा/ अंग्रेजी नयाँ वर्ष मनाउन आउने स्वदेशी र विदेशीले पोखराका होटल ८० प्रतिशत भरिएका छन् । नयाँ बर्षका अवसरमा रेस्टुरेन्ट एण्ड एसोसिएसन अफ नेपाल (रेबान)ले आयोजना गरेको सडक महोत्सवमा सहभागी हुन आएका पर्यटकले होटल र रेस्टुरेन्ट भरिएका हुन् ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरामा एक हजार पर्यटक स्तरका होटल छन् । जसमध्ये लेकसाइड आसपासमा मात्र ७ सय होटल छन् । यी होटलहरुमा ३० हजार बढी बेड रहेको सुवेदीले जानकारी दिए ।
लेकसाइड आसपासका सबै होटल पूर्ण रुपमा भरिएको र पोखरा आसपासका होटल पनि ८० प्रतिशतसम्म बुक भएको सुवेदीले बताए । ‘अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको बसाइँले पोखराका ८० प्रतिशत होटल भरिएका छन्,’ सुवेदीले भने, ‘कोरोना महामारीपछि पहिलो पटक यतिका धेरै मानिस पोखरा बस्न आएका हुन् ।’
कोरोना महामारी अघि अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने सडक महोत्सवमा पोखराका होटलहरु पूर्ण रुपमा भरिने गर्दथ्यो । गतवर्षको महोत्सवमा भन्दा यस वर्षको महोत्सवमा धेरै पाहुना पोखरा आएको रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए ।
‘पोहोरको सडक महोत्सवमा कोरोनाको बढी जोखिम भएर होला, अहिले भन्दा कम मानिस आएका थिए,’ बरालले भने, ‘यसपालि पनि जोखिम त छ नै, तैपनि देशभरबाट नयाँ वर्ष मनाउन आउने नेपालीको संख्या धेरै देखियो ।’ यसवर्ष सडक महोत्सवमा नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको बरालले बताए ।
हान पशिचमाञ्चलका अध्यक्ष सुवेदीले पनि होटलमा बास बस्ने १५ प्रतिशत पर्यटक भारतीय रहेको जानकारी दिए । अंग्रेजी नयाँ वर्ष मनाउन विगत २३ वर्षदेखि लेकसाइडमा सडक महोत्सवको आयोजना गरिँदै आएको छ ।
सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित महोत्सवमा लेकसाइडको शहिदचोकदेखि खहरेचोकसम्म ३ किलोमिटर सडक बन्द गरेर मनाइन्छ । तीन किलोमिटर क्षेत्रमै सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम आयोजना गरिएका हुन्छन् । यसबर्षको महोत्सवमा गृह मन्त्रालयको स्विकृतिमा आतिसबाजी समेत गरिएको रेबान अध्यक्ष बरालले बताए ।
पदयात्रामा जाने मौसमी पर्यटकको भरमा थामिएको पोखराको व्यवसाय बेमौसममा पनि गतिशील बनाउन २३ वर्ष अघि अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव मनाउन थालिएको थियो । तत्कालीन रेवान अध्यक्ष गणेशबहादुर भट्टराईले भारतको गोवामा अंग्रेजी नयाँ वर्ष मनाउन जाँदा देखेको उत्सव पोखरामा सञ्चालन गर्ने निर्णय गरेर सडक महोत्स सुरु गर्न पहल गरेका थिए ।
निरन्तर ५ दिनसम्म सञ्चालन गरिने सडक महोत्सव गत वर्षदेखि कोरोना महामारीका कारण ३ दिन मात्र सञ्चालन गर्ने गरिएको छ । महोत्सव शनिबार साँझ साकिँदैछ ।





