बेनी/न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीकोअध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।
म्याग्दी र छिमेकी जिल्ला पर्वतमा सेवा केन्द्रसमेत रहेको सहकारीको बेनीनगरपालिका४,सिंगा तातोपानीमा भएको वार्षिक साधारणसभाबाट उपाध्यक्षमा रामजीप्रसाद सुवेदी,सचिव चन्द्रकुमार केसी, कोषाध्यक्ष बमबहादुर पुन छन् । कार्यसमितिको सदस्यहरूमा रविन्द्र कार्की‘रवि’,विमला गौचन,अनिता कार्की, वीरेन्द्रमान शाक्य, कृष्णकुमार शेरचन, होमप्रसाद सुवेदी,हेमन्त थापा, भीमविक्रम मल्ल, ठकराज बरुवाल र तुलप्रसाद श्रेष्ठ रहेको वरिष्ठ प्रवन्धक वसन्त श्रेष्ठले जानकारी दिए।
साधारणसभाबाट गोविन्दप्रसाद पौडेलको संयोजकत्वमा टीकाराम शर्मा र मानसिंह सापकोटा सदस्य रहेको लेखा समितिसमेत चयन गरेको छ । साधारणसभाले तातोपानी, बाबियाचौर, दरबाङ, पोखरेबगर र छिमेकी पर्वतको जलजला गाउँपालिकामा रहेको सेवा केन्द्रका संयोजक तथा सदस्य चयन गरेको छ । म्याग्दी जिल्लाको पुरानो सहकारीले गत आर्थिक वर्षमा ५ हजार १७८ शेयर सदस्यको ७ करोड ६९ लाख ६७ हजार रुपैयाँ सेयर पुँजी, निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैयाँ, कर्जा लगानीमा ६३ करोड ९ लाखरुपैयाँ छ ।
सहकारीले सोही अवधिमा विभिन्न कोषमा २ करोड १९ लाखरुपैयाँ, कुल आम्दानी १० करोडरुपैयाँ र कुल खर्च ८ करोडरुपैयाँ र मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ गरेको छ । सहकारीका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निकट भविष्यमा छिमेकी जिल्ला बागलुङ र गण्डकी प्रदेशको राजधानी पोखरामा शाखा विस्तार गरी प्रदेशस्तरीय सहकारी बनाउने योजना रहेको बताए। वित्तीय कारोबारसँगै सामाजिक एवं मानवीय सेवामा समेत सक्रिय रहेको सहकारीले म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैयाँ छात्रवृति सहकारीले हस्तान्तरण गरेको थियो । जिल्लाभित्र दृष्टिविहीन, वृद्धवृद्धासहित जेहेन्द्र विद्यार्थीलाई उच्च माविसम्मको अध्ययनका लागि समेत सहकारीले सहयोग गर्ने गरेको छ ।





