‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै
सुखको सधैं प्यासी बनेर…
आफ्नै पौरख खान्छन् आफ्नै सीपमा बाँच्छन् दुःख कष्ट सहेर
सृष्टि यिनले थाम्छन्
असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् तर पनि अँध्यारोमा जीवन बिताउँछन् ….’
कुनैबेला जेवी टुहुरेको को यो गीत मञ्चहरुमा खुबै घन्कन्थ्यो । पञ्चायतकालमा यही गीत लिएर कम्युनिष्टहरु गाउँगाउँ पुग्थे । लुकीछिपी हुने साँस्कृतिक कार्यक्रममा गुञ्जने गीतले महिलाहरुको पीडा बोलेको हुन्थ्यो । गीतले मान्छेको मुट छुँदा त्यसको फाइदा पार्टीलाई हुन्थ्यो ।
अशोक राईको शब्द तथा जेवी टुहुरेको स्वर रहेको यो गीत ‘कम्युनिष्ट’को पर्याय थियो ।यस्ता गीत गाउने कलाकारहरु जनताका प्रिय थिए । जेवी टुहुरेकै कोशीको पानी सलल, पानी चल्दैन रे, बसाइँ हिँड्नेको ताँतीले, नयाँ दिन आयो….जस्ता गीतहरु सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । रातामान्छेहरु जन्मन्थे ।
भनिन्छ–नेपालमा कम्युनिष्ट विचारधारा बढाउनुमा गीत र अनुदित रसियन र चिनियाँ साहित्यको ठूलो योगदान छ ! नेपालका करिब ५० प्रतिशत मान्छेहरु कि गीत सुनेर त कि साहित्य पढेर कम्युनिष्ट भएका थिए ।
त्यसो त, नेकपा मसालसँग आवद्ध रहेको अखिल नेपाल जनसांस्कृतिक मञ्चका जीवन शर्मा, मणि थापा र मोहन चित्रकारहरुले २०४१ सालतिर स्थापना गरेको रक्तिम सांस्कृतिक परिवारका गीतहरु पनि उस्तै कर्णप्रिय र रुवाउने खालका थिए । उनीहरुका गीतहरु विद्रोहका पर्याय थिए ।‘छेकेर छेकिन्न.. इतिहासको पाना …. चल्छ हुरी आउँछ होस् भन्दै क्रान्तिको लागि आह्वान गरिएको होस् वा
‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको
सम्झेर पुरानो दिन आखामा समुन्द्र छल्कियो
झन् धेरै साहूको ऋण संझेर हृदय सल्कियो नै किन नहोस् यी गीतहरुले समाज बोलेको छ । पछिल्लोले त गरीब भरियाको जीवनको प्रतिनिधित्व गरेका हुन्थे । २०४६ सालसम्म आइपुग्दा नेपालका कम्युनिष्टहरु विभिन्न समूहमा विभक्त भए । तर, गीत संगीतमार्फत् जनता जागरुक बनाउन सबैजसो घटकले जनसांस्कृतिक मञ्चका कलाकार उपयोग गर्थे । २०४६ सालको परिवर्तनको लागि जीवन शर्मादेखि जेवी टुहुरेसम्म सडकमा उत्रेका थिए । उनीहरुले गाएका परिवर्तन र क्रान्तिका गीत सुनेर जनता जुर्मुराएका थिए । २०४८ सालको संसदीय निर्वाचनमा एमालेको जनसांस्कृतिक महासंघ सडकमै थियो । उनीहरु फकल्याण्डको टापुबाट… जंगलको बीचबाट .. भनेजस्ता गीतहरु गाएर गोरखा भर्तीको विरोध गर्थे । सँगसँगै सपना देखाउँथे र आफ्नो पक्षमा जनमत सिर्जना गर्थे । जेवी टुहुरेले त तत्कालीन चौथो कोअर्डिनेसन केन्द्रको लागि कामै गरेका थिए । पछि उनको गीतलाई एमालेले भोट माग्न र संगठन बिस्तारमै प्रयोग ग¥यो । तर, जेवीहरुले न्याय पाएनन् ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दाको हतियार पनि यिनै क्रान्तिकारी गायकहरु थिए । माओवादीले आयोजना गर्ने हरेक कार्यक्रममा क्रान्तिका गीत बज्थे । कलाकारहरु आङ सिरिङ्ग पार्ने गीत लिएर मञ्चमा उत्रन्थे र सामन्ती व्यवस्थाको विरुद्ध जनमत तयार पार्थे ।
ती मञ्चहरुमा जीवन शर्माको –
सुकेर जाँदैन रोकेर रोकिँदैन
भरी खेप्ने खेतालाको यै हो जिन्दगानी
वारि छ माइला दाइ पुच्छ्दै पसिना
पारि छन् माइली भाउजू खेद्दै मसिना
सानै छ भुन्टे तर पिठ्युमाथि भारी
डरै डरले तपैतपले हिड्छ कठै बरी
झरनाको चिसो पानी …..जस्ता गीत बजेकै हुन्थे । २०२२÷०२३ तिर मञ्जुल, रामेश, रायन, अरिम,गणेश रसिक, नोरेमहरुले जन्माएको राल्फाले गाएका जागरणका गीतहरु हुन् कि जेवी टुहुरेदेखि रक्तिम परिवारका सदस्यहरु लामो समयसम्म कम्युनिष्टको मञ्चमा उक्लिरहे र उनीहरु नहुँदाको बेलामा नि ती गीतहरु बजिरहे । गण्डकीकै सवालमा कृष्ण गुरुङ,उमा गुरुङ,माया गुरुङदेखि हाल एमाले केन्द्रीय सदस्य मीना गुरुङहरुसम्मले जागरणका गीत गाए । एमालेको संगठन बिस्तारलाई आफ्नो पक्षबाट सक्दो सहयोग गरे । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष ईश्वरमणि अधिकारीको विचारमा जनवादी गीतहरुले साँच्चिकै कम्युनिष्ट जन्माउन र उनीहरुको संगठन निर्माणमा ठूलो भूमिका खेले । ‘त्यो बेला जनतको पक्षमा भएका गीत नै यिनै हुन् किजस्तो लाग्थ्यो,गीतमा जनताकै पीडा भनिएको हुन्थ्यो’,उनले भने,‘जनजनमा भिज्न र जनजागरण ल्याउन जनवादी गीतले ठूलै भूमिका खेलेको हो तर आजकल किन हो, यस्ता गीतहरु उनीहरुले नै छाडेजस्तो छ ।’ पञ्चायतकालीन समयमा चिनियाँ र रसियन किताबहरु फुटपाथमै पाइने र ती सस्ता किताब सबैको पहुँचमा हुँदा पनि कम्युनिष्ट पार्टीलाई फाइदा पुगेको उनको धारणा छ । कांग्रेसले धेरैपछि मात्र कम्युनिष्टहरु शैली पच्छ्याएको र त्यस्तै सांस्कृतिक संघ गठन गरेको उनको भनाई छ ।
फेरिए गीतहरु !
कम्युनिष्टहरुले गीत–संगीतलाई प्रचार र संगठन बिस्तारको माध्यम बनाउन छाडेका छैनन् ।अहिले पनि कम्युनिष्टको मञ्चमा गीत–संगीतले विशेष प्राथमिकता पाउँछ । चितवनमा हालै सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशन होस् वा माओवादी केन्द्रको ८ औं महाधिवेशन कलाकारहरुलाई मञ्च दिन कञ्जुस्याइँ गरिएन । अधिवेशनमा केन्द्रीय सदस्य एवं पदाधिकारी छान्न छाडेर एमाले अध्यक्ष केपी ओलीले दिनभरजसो सांस्कृतिक कार्यक्रम हेरेर बिताइदिए । तर, उनको अगाडि सुनाइएका गीतहरुमा जनताका पीडाभन्दा एमाले र ओली स्वयंको गुणगान बढी थियो । तैं पनि एमाले,सही पनि एमाले…,पूर्वको माया,पश्चिमलाई…जस्ता गीतहरुमा मञ्चमा गुञ्जिए ।
शुक्रबार सुरु भएको एमाले कास्कीको १० औं महाधिवेशनमा पनि उही दृष्य दोहोरियो । जनसांस्कृतिक मञ्चका कलाकारहरुले अधिवेशनको उद्घाटनको क्रममा मञ्च पाए । अध्यक्ष ओलीको भर्चुलअ उद्घाटनपछि कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङले स्वागत मन्तव्य गरेसँगै जनसांस्कृतिक महासंघका कलाकारहरुलाई मञ्च दिइयो । त्यहाँ सुरुमै पश्चिम कोही पूर्व घर.. बज्यो । लगत्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सूर्य खड्का विखर्चीको रचनामा करण तामाङले ‘पूर्व पश्चिम सबै ठाउँमा एमाले चम्कियो… विकास गर्न एमाले लम्कियो…’बोलको गीत गाए । सूर्य खड्का प्रगतिवादी गीतकार बनेको धेरै भएको छैन । उनको गीतले जागरण र मान्छेका पीडा पनि बोल्दैन । त्यसको लगत्तै त झन एमाले मञ्चमा कौरा गीत घन्कियो । कौरा विशुद्ध मनोरञ्जनात्मक थियो । किन यस्तो त ? एमाले निकट जनसांस्कृतिक महासंघमा आवद्ध तथा हाल गण्डकी प्रज्ञा प्रतिष्ठानका सचिव मनकुमार श्रेष्ठले समयसँगै गीत पनि बदलिएको टिप्पणी गरे ।
‘हिजो जनताका गीत गाइन्थ्यो,निरंकुशताको विरोध गरिन्थ्यो, जागरणका भावहरु प्रवाहित गरिन्थ्यो तर अहिले समय बदलिएको छ’,उनले भने,‘निरंकुशताको अन्त्य भएको छ, सत्ता परिवर्तन भइसकेको छ, त्यसैले हामी एकता, समृद्धिका कुरा गरिरहेका छौं, हो सत्ता परिवर्तनले रिजल्ट पाइएन होला तर परिवर्तन त भएको हो नि ।’उनले समयसँगै सिर्जनामा प्रश्नचिन्ह खडा भएको भने स्वीकारे । अहिले परिवर्तनकारी शक्ति नै सत्तामा भएकाले पनि सत्ताको विरोधमा सिर्जनाहरु नभएको तर्क गर्दै उनले भने,‘कि आफ्नै नेताका विरुद्ध लेख्नुप¥यो, हैन भने अवस्था अनुसारकै सिर्जना हुने हो ।’ जनवादी कलाकारहरुले आफ्नो कर्तव्य नभुलेृको दावी गर्दै उनले जनवादी संस्कृतिमा विचलन आउँदा नेताहरुमा पनि विचलन आएको दावी चाहिँ गरे । आफूले पार्टी अध्यक्ष केपी ओलीकै अगाडि संस्कृतिविना देश बन्दैन भन्ने सत्यलाई नबिर्सन र जनवादी कलाकारहरुलाई पार्टीमा स्थान दिन आग्रह गरेको पनि स्मरण गरे ।





