बागलुङ/ उत्पादनमा लगानी, व्यवसाय प्रवद्र्धन तथा सदस्य केन्द्रीत कारोबारमा जोड दिँदै शनिबार विभिन्न सहकारीले साधारणसभा गरेका छन् । उत्पादन तथा कृषि क्षेत्रमा लगानी बढाउने नीति सहित संस्थाको दिर्घकालिन रणनीति बनाएर साझेदारी सहकारीले साधारणसभा गरेको अध्यक्ष तेजप्रसाद शर्माले बताए ।
साधारणसभामा संस्थापक अध्यक्ष राजेन्द्र आचार्यले सहकारीले लगानी बढाउँदा किसान तथा मध्यमवर्गलाई वित्तीय कारोबार तथा व्यवसायमा लगानी गर्न सहज भएको बताए । उनले बैंक धाउनुपर्ने बाध्यता हटेको भन्दै सहकारीको सिद्धान्त अनुसार काम गर्दा मध्यमवर्गलाई धनी बनाउन सकिने समेत बताए ।
कार्यक्रममा सामाजिक अगुवा केबी राना मगरले सहकारीहरु हुनेखानेको मात्र नभई, हुँदा खानेको पनि हुनुपर्ने धारणा राखे । संस्थाका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता सचिव डिल्लीप्रसाद गौतमको संचालन र उपाध्यक्ष चुडामणी आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष हरिप्रसाद गौतम, सल्लाहकार पोटकुमारी जिसी, नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य, शेयर सदस्यहरु प्रमिला शर्मा, निलकण्ठ शर्मा, राधा शर्मा लगायतले मन्तव्य राखेका थिए । साधारणसभामा सचिव डिल्लीप्रसाद गौतमको प्रगती प्रतिवेदन र कोषाध्यक्ष गणेशराज लम्सालको आर्थिक प्रतिवेदन पारित भएको थियो ।
शनिबारै व्यापार तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा पनि भएको छ । साधारणसभामा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक युवराज त्रिपाठीले सहकारीहरुले उत्पादनमै जोड दिन आग्रह गरे । उनले लगानी गरेकै सहकारीमा मलजल गर्नुपर्ने भन्दै एकातिर लगानी, एकातिर सहकारी बन्दै गएको बताए ।
कार्यवाहक अध्यक्ष इन्द्रमणी पौडेलको अध्यक्षता, सचिव गोकुल प्रसाद कंडेलको सञ्चालन र सहसचिव झलक सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थापक युगेश्वर वझा, रामचन्द्र शर्मा, पत्रकार कोपिला कँडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट प्रचण्डप्रसाद श्रेष्ठ, उत्कृष्ठ कारोवारी जमुना सापकोटा कंडेल, रविन्द्र कुमार श्रेष्ठ, रामराज सुवेदी, सुमन प्रधान तथा शेयर सदस्यका परिवारबाट उत्कृष्ठ बिद्यार्थी तर्फ स्नेहा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
शनिबारै एकता सहकारी संस्थाको २३ औं साधारणसभा पनि सम्पन्न भएको छ । नयाँ नेतृत्व सहितको अधिवेशन समेत भएकोले सहकारीले सोमबार निर्वाचन प्रक्रिया गर्ने तयारी गरेको छ । यो सहकारी संस्था लिल्लामा क्रियाशील मध्येकै जेठो सहकारी समेत हो ।
सहकारीको साधारणसभामा जेष्ठ सदस्यहरु, उत्कृष्ठ कारोवारी र उत्कृष्ठ कर्मचारी समेत सम्मानित भए । सहकारीले ४१ करोड ९ लाखको कारोवार समेत गरेको प्रबन्धक दिपकजंग राजभण्डारीले बताए । गत बर्ष ४५ करोड कारोवार गरेको संस्थाले चालु बर्ष ६ करोड बढी कारोवार गरेको हो ।
कोरोना संक्रमण लगायतका समस्या भएरपनि संस्थाले व्यवसायिक क्षेत्रमा बढी लगानी गरेको छ । सहकारीले एकता जेष्ठ नागरिक चाडपर्व खर्च, महिलाका साथ सहकारी, बालहित खाता, बीमा तथा सहकारी शिक्षाका कार्यक्रम समेत जोडेर वार्षिक कार्ययोजना समेत बनाएको छ । सहकारीका अध्यष धु्रवप्रसाद शर्माको अध्यक्षता, सचिव महेशचन्द्र प्रधानको संचालन उपाध्यक्ष भूपेन्द्रबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव प्रधान र कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
यसैबीच नवकिरण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा शनिबार सकिएको छ ।। अधिवेसनले शेयर सदस्य तथा शेयर रकम बढाएर लैजाने योजना बनाएको अध्यक्ष चिरन्जीवी गौतमले बताए ।
साधारणसभामा नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले सहकारीलाई आम नागरिकमा जोड्नुपर्ने भन्दै लगानीका क्षेत्रहरु फराकिलो बनाउनुपर्ने धारणा राखे । चिरन्जीवी गौतमको अध्यक्षता, सचिव नवराज शर्माको संचालन र सहसचिव चन्द्रदत्त रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रममा कानूनी सल्लाहकार शिवराज पन्तलेपनि मन्तव्य राखेका थिए । साधारणसभाले दिर्घकालिन योजना बनाएर शेयरवृद्धिका कार्यक्रम ल्याउने योजना समेत बनाएको बताइएको छ ।





