बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रशासनको आदेश लत्याउँदै कुश्मा : स्कुल बन्द नगर्ने

प्रशासनको आदेश लत्याउँदै कुश्मा : स्कुल बन्द नगर्ने


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७८, शुक्रबार
फाईल तस्विर

पर्वत/ कोभिड१९ संक्रणबढेको भन्दै संघीय सरकारले देशैभरिका विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु बन्द नहुने भएका छन् । बिहीबारनगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय नगर्ने निर्णयमा पुगेको हो ।

छलफलमा सहभागीसबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्यालय बन्द नगर्ने निर्णय भएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए । ‘अहिले विद्यालय बन्द नगर्ने, ईसीडीका शिक्षक पनि चार बजेसम्म नै विद्यालयमा बस्ने,’ उनले भने,‘संक्रमित भइहालेमा तत्कालै प्रधानाध्यापकले एक हप्ताका लागि विद्यालय बन्द गरेर नगरपालिकालाई फोन गरेर जानकारी दिन सकिने सजिलो नियम बनाइएको छ ।’
तर, जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै सूचना निकालेर बढीमा २५ जना भन्दा भेला हुन नपाउने गरी निर्देशन दिइसकेको छ । जबकि सदरमुकाममा रहेको नारायण माध्यमिक विद्यालयमा करिब १३ सय र शिवालय माध्यमिक विद्यालयमा झन्डै पाँच सय विद्यार्थी एकै पटकमा भेला हुन्छन्। जसले प्रशासनको आदेश सीधै उल्लंघन गरिएको मानिनेछ ।

‘सार्वजनिक ठाउँमा त अभिभावक, हामी अरू पनि २५ जना भन्दा भेला भइन्न के रे!’ उनले भने,‘अब विद्यालयमा त एसेम्बली नगर्ने कुरा भएको छ । विद्यार्थीहरू एउटा कोठामा ४०/५० जना त भइहाल्छन् नि !’
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भेला नहुन र मन्त्रालयको आदेश अनुसार नै गर्ने भनेर निर्देशन दिइएको तथा त्यसको व्यवस्थापन स्थानीय तहलाई नै गर्न भनिएको बताइन् । ‘उहाँहरूले माथिको निर्णय मान्नुपर्ने हो। यो कुरा सुन्दासाथ मैले मेयर साबलाई बोलाएर पनि कुराकानी गरें,’ उनले भनिन्,‘जवाफमा उहाँले प्रअहरुले विद्यार्थी छ्ट्टाछुट्टै राखेर जिम्मा लिएर सञ्चालन गर्छौँ भनेर बन्द गर्न मानेन भन्नुभयो ।’

तर अभिभावकहरूले भने विद्यालय जाने १२ वर्ष मुनिका बालबालिकाहरूले खोप नलगाएका कारण अहिले समुदायको सबैभन्दा जोखिमको क्षेत्र विद्यालय नै रहेको बताएका छन् । सरकार र स्थानीय प्रशासनले विज्ञहरूकै सुझाव अनुसार विद्यालय बन्द गर्न भनेकाले विज्ञहरूले दिएको सुझाव गलत नहुने उनीहरूको भनाइछ ।

‘१२ वर्ष माथिकले त बरु खोप लगाएका छन्, मेरा जस्ता २/३ कक्षामा पढ्नेले त खोप पाएका छैनन् । अरूका कारण मेरो बच्चामा संक्रमण भयो भने त्यसको जिम्मा कसले लिने रहेछ ?’ अभिभावक लक्ष्मी शर्मा भन्छिन्, ‘विद्यालय नपठाऊँ मेरो बच्चाले मात्रै पढ्न नपाउने भो, पठाऊँ कोरोना आएरै त बन्द गर्न भनेका होलान् ।’

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको बाक्लो चाप नहुने तथा बाहिरी जिल्लाबाट विद्यार्थीहरू खासै नजाने भए पनि सदरमुकाममा रहेका विद्यालयहरुमा भने विद्यार्थीको चाप उच्च हुनुका साथै विभिन्न जिल्लाका विद्यार्थीहरू रहँदा संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->