पोखरा/लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई चेक हस्तान्तरण गरे ।
बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । र्
ै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।
एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालकहरु रहेको क्लबको उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिए । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको हो ।
लुम्बिनी बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट करीब ३ लाख ८० हजार ग्राहकलाई सेवा दिदै आएको छ ।





