बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोनासँग डराउँदैनन् नागरिक

कोरोनासँग डराउँदैनन् नागरिक


  • संजय रेग्मी
  • माघ ९ २०७८, आइतबार

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले कोभिड–१९ को सङ्क्रमण दरको अवस्थालाई नियालेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ ।

प्रशासनले यो आदेश पनि त्यसै दिएको थिएन् । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठक चलिरहँदा पर्वत अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षा निकाय, पत्रकार सहित अन्य सहभागीले पनि पूर्ण रूपमा विद्यालय बन्द गराउने सहित सार्वजनिक ठाउँमा पनि २५ जना भन्दा बढी भेला हुन नदिन आदेश प्रशासनले दिनुपर्ने बताए ।

कोभिडको पहिलो र दोस्रो चरणमा जस्तो अहिलेको तेस्रो र ओमिक्रोन भेरीयन्टका लक्षण कडा नदेखिएको र सामान्य अवस्थामा नै भित्र भित्रै सङ्क्रमण तीव्र हुन सक्ने जोखिमका कारण डिसीएमसीमा २५ जना भन्दा भेला हुन नपाउने भनिएको थियो ।

‘नमरी स्वर्ग देखिँदैन’ भनेको जस्तो कतिपय नागरिक भने कोरोनालाई बुझ्न र भोग्नका लागि सङ्क्रमण नै पर्खेर बसेको जस्तो देखिएका छन् । जो न त कोरोनासँग डराउँछन, न त प्रशासनसँग नै । यसैका उदाहरण बनेका छन् सहर देखी गाउँसम्म खुलेआम भइरहेका विवाह, मृत्यु संस्कारदेखि कार्यक्रमहरूसम्म । पर्वत सदरमुकाम कुश्मा बजारकै नागरिकले प्रशासनको आदेशलाई लत्त्याउँदै वैवाहिक कार्यक्रमहरूमा सहभागी भएका छन् ।

देशै भरी सहित जिल्लामा पनि सङ्क्रमणको अवस्था बढ्दै गइरहेको बेलामा सदरमुकाम कुश्मा बजारमा भने बाजागाजा सहित तामझामका साथ विवाह भएका हुन् । यो बाहेक शनिवार बिहान पर्वत जेसिजद्वारा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रहरीले पार्टी प्यालेसका सञ्चालकलाई नै पक्राउ गरेको थियो । पार्टी प्यालेसको कार्यक्रम रोक्न पुगेको प्रहरीले विवाहका कार्यक्रमहरू भने रोक्न नसकेको नागरिकको गुनासो छ । शनिवार नै कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा खाने पानीको निर्वाचन समेत भयो ।

‘पार्टी प्यालेसका सञ्चालकलाई लग्यो रे भन्ने सुनेपछि अब कुश्मामा पनि टाइट भएछ । सङ्क्रमणको जोखिम बढ्दै गएछ र त पक्राउ गरेको होला भन्ने लागेको छ,’ कुश्मा नगरपालिका–५ मा बस्दै आएका हरिप्रसाद जैसीले भने, ‘तर दिउसोमा त ठाउँ ठाउँमा बिहे भएको देखियो । बाजागाजा बजाउँदै भिडभाड गरेको देख्दा तिनीहरूलाई कोरोनाले नछुने रहेछ की जस्तो लाग्यो। रत्यौलीमा उस्तै भीड ।’

जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ गतेदेखि लागु हुने गरी पर्वतमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा अनुसार पार्टी प्यालेसलाई माघ १५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द गर्ने गरी आदेश जारी गरिएको छ । उक्त आदेश विपरीत कार्य भएका कारण पार्टी प्यालेसका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

‘नागरिकले टेर्दैनन्, कटुवाचौपारीमा नगर्नु भन्दा भन्दा निर्वाचन गरे, हामीसँग अनुमति नलिई जेसिजले कार्यक्रमको आयोजना ग¥यो । सबै जनाले आँखा चिम्लेको अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन, ‘पुलिसले डन्डा लगाउँदैमा, प्रशासनले कडाइ गरेरै मात्रै सम्भव होला त ? नागरिकका लागि जोखिम भएकै कारण हामीले आदेश दिनु परेको हो । अस्पताल बन्द भएको अवस्था छ, सरकारी कार्यालय र बैङ्कहरू बन्द हुँदै गएका छन् । तर नागरिकले किन केही पिर नमानेका होलान ?’ प्रजिअ खत्रीले प्रश्न गरे जस्तै सडकमा हिँडिरहेका नागरिकहरू पनि मास्क बिना नै खुल्लम खुल्ला देखिन्छन् ।

हनहनती ज्वरो आउनै पर्ने, उठ्नै नसक्ने गरी बिस्तरामा लड्नै पर्ने, खाना खानै नसक्ने, असह्य पिडा हुनुपर्ने अवस्थालाई मात्र बिरामी भएको अवस्थालाई मात्रै गम्भीर रूपमा लिने बानीका कारण नागरिकले ओमिक्रोनलाई बेवास्ता गरिरहेका छन् । सबै अवस्थामा प्रहरीले पक्राउ गरेर चिट काटेर मात्रै सम्भव हुँदैन । व्यक्ति स्वयंको चेतना स्तरमा वृद्धि नभएसम्म कोभिड लगायतका अन्य रोगहरूले भयावह अवस्था निम्त्याउने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डि.बी क्षेत्री बताउँछन् । ‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित हुँदा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । भित्रभित्रै फैलिएको छ, जाँच गरिएकामध्ये ७२ प्रतिशतमा सङ्क्रमण देखिएको छ । यसको अर्थ अब हरेक घरमा पुग्दै छ,’ उनले भने, ‘नागरिकले कत्ति पनि लापरबाही गर्नै हुँदैन । चिकित्सक नै सङ्क्रमित भएर सुतेको अवस्थामा यदि नागरिकलाई उपचार गर्न परे कसले गरिदिन्छ ?’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी पनि नागरिककै मनभित्रबाट सोच नबदलिएसम्म प्रहरीले पक्राउ गरेरै मात्र रोग नियन्त्रणमा नआउने बताउँछन् । आफूहरूले जिल्लामा सङ्क्रमण बढ्नै लागेको अवस्थामा निःशुल्क मास्क वितरण गर्दै सङ्क्रमणको बारेमा माइकिङ गर्दै हरेक दिन हिँडिरहेको उनको भनाई छ । ‘प्रहरीले ल्याएर राख्दैमा वा चिट काटीहाल्दैमा कोरोना नियन्त्रणमा आउने होइन। सबैभन्दा पहिलो कुरा नागरिक हामी सबैको चेतना कति छ आफैँ मूल्याङ्कन गरौँ । प्रहरी आफू बाँच्नका लागि मास्क लगाउनुहोस भन्दै हिँडेको होइन की नागरिकलाई चेतना दिनका लागि हो ।’

डिएसपी बुढाथोकीले भनेजस्तै पछिल्ला तीन वर्षदेखि कोरोना सङ्क्रमणबाट जोगिनको लागि अवलम्बन गर्नुपर्ने उपायको बारेमा हरेक मिनेटमा कुराकानी हुने गरेको छ । चोकमा चिया गफ गर्दा मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट जोगिन सकिन्छ भनेर गफ गर्नेहरूकै अनुहारमा मास्क देखिँदैन, उनीहरू नै भिडभाडमा पुगेका देखिन्छन् ।

तथ्याङ्क अनुसार जिल्लामा दुई सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये कुश्मा नगरपालिकामा मात्रै एक सय ३० जना रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् । शनिवार मात्रै ३१ जनाको परीक्षण गर्दा २१ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर आइतबारदेखि पर्वत अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुँदा जनशक्ति अभाव भएपछि अब परीक्षणको दायरा नै कम हुने सम्भावना छ । जसका कारण गम्भीर लक्षण देखिएको अवस्थालाई मात्रै सङ्क्रमण भएको बुझ्ने नागरिकको चेतनाका माझमा भूसको आगो जस्तै गरी सङ्क्रमण फैलिने जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->