बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हार्नेस जीपलाइनमा ‘सुपरम्यान’ स्टाइल

हार्नेस जीपलाइनमा ‘सुपरम्यान’ स्टाइल


  • सञ्जय रेग्मी
  • माघ १५ २०७८, शनिबार

पर्वत / ‘सुपरम्यान’ शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जीपलाइन पर्वतमा ‘सुपरम्यान स्टाइल’ को जीपलाइन गर्न शुरु गरिएको छ । गत पुस २४ गतेबाट जीपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल भने शुरु गरिएको थिएन ।

हालै मात्र अमेरिकी प्रविधिको ‘जीपस्टक ब्रेक सिस्टम’ जडान कार्य पूरा भएपछि ‘सुपरम्यान’ शैलीमा पनि जीपलाइन सुरु गरिएको सञ्चालक राजकुमार क्षेत्रीले बताए । ‘ब्रेक सिस्टम’ को जडान कार्य पूरा भए पनि ‘क्लासिक’ सहित ‘सुपरम्यान’ शैलीमा जीपलाइन रमाउनेहरूको उल्लेख्य उपस्थिति रहेको उनको भनाइ छ ।

‘हामीले क्लासिक स्टाइलको जीपलाइन त रेगुलर गरिरहेका थियौं । तर, बीचमा केही दिन क्लासिक जीपलाइन पनि स्थगित गरेर ब्रेक जडानको काम पूरा गरेका छौं,’ उनले भने, ‘अब जी लाइनको साहसिक खेलमा रमाउन चाहने पर्यटकहरूले क्लासिक वा सुपरम्यान दुवै तरिकाले गर्न सक्नुहुनेछ ।’

सुपरम्यान शैलीको जीपलाइन निर्माणको काम गरेको भारतीय निर्माण कम्पनीका बिग बउल्डरका प्राविधिक इन्जिनियर सञ्जय सिंहका अनुसार यो जीपलाइन ‘सुपरम्यान’ शैलीमा नेपालको पहिलो त हो नै त्यस बाहेक अमेरिकी प्रविधिको ‘जीपस्टक ब्रेक’ प्रयोग गरिएको पनि पहिलो जीपलाइन हो ।

‘हार्नेस, पुल्ली, सिलिङ टेप र काराबाइनर गरेर १७ टन क्षमता प्रमाणित भएको छ । जीपलाइनमा प्रयोग गरिएका सामग्रीहरू अमेरिकी हेड रस कम्पनीका हुन्,’ उनले भने, ‘यहाँको स्पिड, डबल जीपलाइन, रिभर क्रस, रिसोर्टसहितको सुविधाका कारण पनि पर्यटकहरूको आगमन राम्रो हुन्छ भन्ने लागेको छ ।’

जीपलाइनका निर्देशक सुनिल बाँनियाका अनुसार ‘सुपरम्यान’ को ४ हजार ५ सय, ‘क्लासिक’ को ३ हजार ५ सय र ‘टेन्डम’ (एकै पटकमा दुई जना) को ६ हजार ५ सय रुपैयाँ मूल्य तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट शुरु हुने जीपलाइनको शुरुआती गति प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइनको ल्यान्डिङ हुनेछ ।
सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जीपलाइन दुबईमा रहेको र पर्वतको जीपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नका लागि जीपलाइन महत्वपूर्ण हुने उनले बताए । शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जीपलाइनभन्दा पर्वतको जीपलाइन विशेष छ । नदी नै क्रस गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा क्रस हुनेमा पर्वतको जीपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा क्रस गर्छ ।

पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका ५, चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म १४ सय ८० मिटरको दूरीमा जीपलाइन बनेको हो । इन्जिनियर सिंहका अनुसार क्लासिक जीपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । यो जीपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जीपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने छ ।

कम्पनीका अध्यक्ष विदुर पौड्यालका अनुसार कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा पनि पर्यटकहरूको आकर्षण भने नघटेको बताउँछन् । अहिलेसम्मको अवस्थामा विशेष गरी आन्तरिक पर्यटकहरूको आकर्षण रहेको कोभिडकै कारण बाह्य पर्यटकहरु आउने अवस्था नरहेको बताउँदै उनले तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको जानकारी दिए ।

अहिले आन्तरिक पर्यटकहरूको चाप रहेकोमा कोभिडको संक्रमण नियन्त्रणमा आएपछि बाह्य पर्यटकहरूको पनि आगमन हुने र उनीहरूलाई कम्पनीकै रिसोर्टमा बसाइने पौड्यालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->