बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरि छिर्ने पर्वत नाकामा अस्थायी प्रहरी पोस्ट

धौलागिरि छिर्ने पर्वत नाकामा अस्थायी प्रहरी पोस्ट


  • ढोरपाटन संबाददाता
  • माघ १५ २०७८, शनिबार

पर्वत / पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका १, मालढुंगामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दी सहित छोटो तथा लामो दूरीका सवारीहरू एकै ठाउँमा जम्मा हुने प्रमुख नाका मालढुंगामा सुरक्षा सतर्कता बढाउन तत्कालका लागि अस्थायी रूपमा प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

उक्त नाका रहेको क्षेत्र नजिकै सहित आसपासको क्षेत्रमा कालीगण्डकी नदीको चाख्लो किनार छ । तिनै किनारहरूबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन हुने गरेको छ । साथै लागूऔषध ओसारपसार, म्याग्दी, मुस्ताङ र बागलुङमा कुनै अपराध गरेर भाग्नेहरू लगायतका कुराहरूलाई नियन्त्रणमा लिनको लागि उक्त स्थानमा प्रहरीको उपस्थिति आवश्यक रहेको डिएसपी बुढाथोकीले बताए ।
‘छिमेकी जिल्ला बागलुङको प्रहरीले मालढुंगामा आफ्नो क्षेत्रमा त प्रहरी पोस्ट राखेको छ । तर यतापट्टिको मुख्य चोक वा नाका भनौं त्यहीं नै प्रहरी नहुँदा सुरक्षा चुनौती बढेको थियो,’ बुढाथोकीले भने ।

प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रशासन शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्य शाखाको आदेश अनुसार अस्थायी प्रहरी पोस्टको उद्घाटन गरिएको हो । गस्तीमा पुगेको प्रहरी टोली बाहेक अन्य बेलामा प्रहरीको उपस्थिति नरहेको मालढुांमा प्रहरी पोस्ट राखिएसँगै मुस्ताङ, म्याग्दी र बागलुङलाई समेत सुरक्षा कायम राख्न बल मिलेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री बताउँछिन् ।
पोस्ट स्थापना गरिएको क्षेत्रका कार्यवाहक वडाध्यक्ष वीरेन्द्र रिजालले मालढुंगामा पहिलेदेखि नै प्रहरी पोस्टको आवश्यकता रहेकोमा ढिलै भए पनि प्रहरी बस्नु खुसीको कुरा भएको बताउँछन् । मुख्य नाकामा नै प्रहरी नहुँदा अपराध वा कानुनले वर्जित गरेका अन्य कारोबार गर्नेहरूलाई सहज भएको हुन सक्ने बताउँदै उनले पर्वत प्रहरीको पोस्टमा हुने सवारी जाँच वा अनुगमनले बाँकी तीन जिल्लालाई समेत सुरक्षित राख्न सहयोग पुग्ने उल्लेख गरे ।

बढ्दो जनघनत्वसँगै हुन सक्ने गैर कानुनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको मिलन बिन्दु समेत रहेको त्यस क्षेत्रमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुग्ने प्रहरीको विश्वास छ । यातायातको चाप, कालीगण्डकीमा हुने दोहन दैनिक सवारी जाँच लगायतको अवस्थाका आधारमा आवश्यकता अनुसारका प्रहरी कर्मचारी उक्त पोस्ट खटाइने डिएसपी बुढाथोकीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->