पर्वत/सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधुवा भत्ता प्रदान गर्ने गरिएको छ । तर, पर्वतको फलेवास नगरपालिकाले भने एकल पुरुष अर्थात् विधुरलाई पनि मासिक रूपमा भत्ता उपलब्ध गराउन सुरु गरेको छ ।
यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाको तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालु आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए ।
११ ओटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण संकलनको काम पूरा भएको र यदि कतै छुटफुटमा छुटेका भए तीबाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने प्रवक्ता गौडेलको भनाइ छ ।
‘हामीले ११ ओटै वडाहरूबाट विवरणहरू संकलन गरिसकेका छौं । कतै छुटफुट भएकाबाहेक अहिलेसम्म ८४ जना त्यस्ता पुरुषहरू रहेको पाइएको छ,’ उनले भने, ‘समग्रमा ७० वर्ष उमेर पुग्नेबेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउनेछन् ।’
सामाजिक सुरक्षा भत्ता अन्तरगत ६० वर्ष उमेर पूरा भएका दलित पुरुष र ७० वर्ष पूरा भएका दलित बाहेकका अन्य जातीका पुरुषहरूले नेपाल सरकारले नै उपलब्ध गराउने भत्ता पाउँदै आएका छन् । यही कारण माथिबाट आउने भत्ता नपाउने अवस्थासम्मको लागि ५० वर्ष उमेर पूरा गरेका पुरुषहरूलाई ‘विधुर भत्ता’ दिन थालिएको हो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले श्रीमतीको मृत्यु भएपछि समस्यामा रहेका र एकल अवस्थामा रहँदा औषधि किन्न समेत नसक्ने पुरुषहरू समेत देखिएकाले पुरुषका लागि पनि भत्ताको सुरुआत गरिएको बताए । चालु आर्थिक वर्षमा नै यो कार्यक्रम गर्नका लागि योजना पारित भएपछि शुक्रवारदेखि त्यस्ता पुरुषहरूलाई भत्ता वितरणको काम थालिएको उनको भनाइ छ ।
‘अहिलेसम्म खोजी गर्दा ८४ जना भेटिनुभएको छ । उहाँहरूले मासिक रूपमा नै भत्ता उपलब्ध गराउने छौं,’ नगरप्रमुख शर्मा भन्छन्, ‘एकल अवस्थामा रहेका महिलाले मात्रै होइन, पुरुषहरूले पनि उस्तै समस्या भोगिरहेको हामीले देखेका छौं । आखिर स्थानीय सरकारले स्थानीय नागरिकको मर्का नसुन्ने हो भने सुन्ने कसले ?’





