बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी महिलाको पर्वतमा शल्यक्रिया

म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी महिलाको पर्वतमा शल्यक्रिया


  • संजय रेग्मी
  • माघ २३ २०७८, आइतबार

पर्वत / शल्यक्रियामार्फत् पेटबाट बच्चा निकाल्नको लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको ‘थिएटर’ बाट निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ।
पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट घर भएकी २१ वर्षिया तोरन पटेलको शुक्रबार राती आपतकालीन अवस्थामा सफल शल्यक्रिया गरिएको हो ।

तोरनका श्रीमान् ताराप्रसाद रसाइलीका अनुसार २४ घण्टादेखि सुत्केरी व्यथाले च्यापेपछि तोरनलाई शुक्रबार साँझ नै बेनी अस्पतालमा शल्यक्रियाको तयारी थालिएको थियो। शल्यक्रियाका लागि सबै तयारी पूरा भएपछि उनलाई ‘अप्रेसन थिएटर’ मा लगियो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरू शल्यक्रियाको अन्तिम तयारी गर्दै थिए। तर,दुर्भाग्य ‘अप्रेसन थिएटर’ मा बिरामीको घाउमा ‘फोकस’ दिएर बल्ने विद्युत् परिपथमा समस्या आयो। बत्तीकै कारण तोरनको शल्यक्रिया गर्न सक्ने अवस्था रहेन।

‘अप्रेसन गर्ने भनेर उनलाई भित्र अप्रेसन कोठामा लैजानुभएको थियो तर पावर सट भएर हो कि के भएर हो बत्ती नै बलेनछ। धेरै प्रयास गर्दा पनि बत्ती बलेन,’ उनले भने, ‘त्यहाँका डक्टरहरुले बागलुङ र पर्वतका डक्टरहरुसँग कुरा गरेर तोरनलाई तुरुन्तै पर्वत लिएर गएर अप्रेशन गर्ने भनेपछि यहाँ ल्याएर राति नै अप्रेशन गरियो।’
शल्यक्रियाको नेतृत्व गरेका पर्वतका अस्पतालका एमडिजिपी डा. डिबी क्षेत्रीका अनुसार म्याग्दीका चिकित्सक तथा अस्पताल प्रशासनले बागलुङ लगेर शल्यक्रिया गराउन चाँजोपाँजो मिलाउन खोजेको भए पनि धौलागिरी अस्पताल बागलुङमा शैय्या भरिएका कारण पर्वतमा शल्यक्रिया गराउन सुझाव मिलेपछि बेनी अस्पतालले तोरनको शल्यक्रियाको लागि पर्वत अस्पताल पठाएको हो।

‘विद्युत् मर्मत गरेर शल्यक्रिया गर्ने भनेर म्याग्दीको प्राविधिक टिम एक घण्टासम्म लड्दा पनि नबनेपछि बागलुङमा सम्पर्क भएको रहेछ। त्यहाँ प्याक भएपछि हामीकहाँ पठाउनुभयो र हामीले राति नै सफल शल्यक्रिया गरेका छौँ,’ डा. क्षेत्रीले भने, ‘आमालाई पछिल्लो २४ घण्टादेखि व्यथाले च्यापेको रहेछ। बच्चाको मुटुको धड्कन तीव्र बन्दै बन्दै गएको अवस्था रहेका कारण जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’
केही दिनदेखि परिरहेको लगातारको झरीका कारण पर्वत अस्पतालको ‘अपरेसन थिएटर’ मा प्रयोग गरिने कपडाहरू समेत निर्मलीकरण गर्न नपाएको अवस्थामा त्यस्ता ‘एप्रोन’ समेत बेनी अस्पतालले बिरामीसँगै पठाएको थियो । ‘कस्तो संयोग म्याग्दीमा बत्ती बिग्रियो। लगातारको झरीका कारण घाम नलाग्दा यहाँ मसिनमा पकाएर निर्मलीकरण गरेका कपडाहरू सुकिसकेका थिएनन्। थिएटरमा हामीले लगाउने एप्रोन नै नभएको अवस्था थियो,’ उनले भने, ‘दुई जिल्लाबीचको उपयुक्त सञ्चारका कारण शल्यक्रिया गर्दा लगाउने एप्रोन समेत बेनी पठाइदियो, हामीले अप्रेसन सक्यौँ।’

अस्पतालको सेवाको बारेमा चासो राख्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले पर्वत अस्पताललाई केही वर्ष अगाडिसम्म ‘रिफर सेन्टर’ को रूपमा धेरैले हेर्ने गरेको भए पनि अहिले भने कर्मचारी, प्रशासन र व्यवस्थापन सबैको बलमा अस्पतालको सेवामा धेरै स्तरोन्नति भएको बताए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->