नेपालको कुखुरापालन क्षेत्रको अध्ययन, खोज र अनुसन्धान असाध्यै कम छ । देशको कुल जिडीपी (कुल ग्राहस्थ उत्पादन)को ४ प्रतिशत हिस्सा ओगटेको कुखुरापालन व्यवसाय सरकारले आत्मनिर्भर घोषणा गरिरहँदा प्रमाणित गर्ने आधारहरु पर्याप्त छैनन । सरकारले बिना आधार, हचुवाको भरमा र सस्तो लोकप्रियताका लागि घोषणा गरेको देखिन्छ । बरु,अबको ५ वर्षमा कुखुरापालन व्यवसायलाई आत्मनिर्भर बनाउन के–के गर्नुपर्छ भनी कार्ययोजना ल्याउन सकिन्थ्यो । यस लेखमा नेपाली कुखुरापालन व्यवसायमा अहिले देखिएका चुनौती, अवसर र समस्या समाधानका लागि के गर्न सकिन्छ भनी खोतल्ने प्रयास गरिएको छ ।
२०७६/०७७ को पंक्षी उत्पादनको अवस्था
– कुल पंक्षी ८ करोड २५ लाख ९८ हजार ८ सय ७९
–फुल पार्ने कुखुरा १ करोड २९ लाख २७ हजार ८ सय ४२ गोटा
– हाँस ४ लाख २७ हजार २ सय २६
– अण्डा १ अर्ब ६२ करोड गोटा
– कुखुराको मासु उत्पादन २ लाख ५५ हजार मेट्रिक टन
कुखुरापालन व्यवसायमा आवद्ध उद्यमी व्यवसायी
– ३ ग्रान्ड प्यारेन्ट फार्म (१ कलर ब्रोइलर फार्म सहित)
– ३३६ ब्रिडिंग फार्म उद्योग ( ह्याचरी)
– तयारी दाना आयातकर्ता ३७ वटा
– फिड सप्लिमेन्ट उत्पादक १८ वटा
– १२७ दाना उद्योग
– ३२०० औषधि व्यवसायी
– ९ औषधि उत्पादक कम्पनी
– ९ मासु प्रशोधन उद्योग
– २०००० भन्दा बढी पोल्ट्री फार्म
नेपाली कुखुरापालन व्यवसायमा हाल देखिएका चुनौतीहरुलाई खास गरी २ भागमा बाडेर हेर्न सकिन्छ ।
१ बाह्य चुनौती
२ आन्तरिक चुनौती ।
१ बाह्य चुनौती
क. दानाको लागि आवश्यक कच्चा पदार्थमा ६० प्रतिशत हिस्सा मकै र २० प्रतिशत हिस्सा भटमास आवश्यक पर्छ । ८० प्रतिशत मकै र शत्प्रतिशत भटमास आयातमा निर्भर रहेको छ ।
दानाको कच्चा पदार्थमा सबभन्दा बढी हिस्सा (७० प्रतिशत) मकै हुन्छ । २० प्रतिशत हिस्सा भटमासको हुन्छ । दानाको लागि ८० प्रतिशत मकै र शत्प्रतिशत भटमास बाहिरबाट आयात गर्नुपर्ने हुन्छ । मकै र भटमासका लागिमात्र अरबांै नेपाली रूपैयाँ बाहिरिने गरेको छ । जसले गर्दा दानाको मूल्य बढ्न गई कुखुराको प्रति केजी उत्पादन लागत रू. २४०।– देखि रू. २५०।– सम्म र प्रति गोटा अण्डाको उत्पादन लागत रू. १३।– देखि रू १५।– सम्म पुगेको छ । तर, भारतमा यो उत्पादन लागत कम पर्न जाने र त्यहाँको मूल्य सस्तो हुने हुँदा अवैध रूपबाट कुखुरा र अण्डा नेपाल भित्रँदा स्थानीय व्यवसाय डुब्न पुगेको छ । व्यवसायको ८० प्रतिशत उत्पादन साना र मझौला किसानले धानेको अवस्थामा यदि यी साना र मझौला कुखुरापालन व्यवसायी धरासायी भएमा खर्बौं रूपैयाँको आर्थिक सम्पत्ति डुब्ने र केही वर्ष अगाडि आत्मनिर्भर भनि घोषणा गरिएको चिनी व्यवसायको अहिलेको हाल हुने निश्चित छ । अहिले भारतबाट चिनी आयात गर्नुपर्ने अवस्था छ । यदि यही अवस्था हो भने भोलि कुखुराको मासु र अण्डामा पनि चिनीकै अवस्था नहोला भन्न सकिन्न ।
क्र. सं. विवरण परिमाण (मे. टन)
१ मकै ५९०९४२
२ भटमास २२५६७९
३ ब्रोकन राइस ८९३४४
४ धानको ढुटो ९००३
५ कर्न ग्लुटेन मिल ८२०९
६ मेज ब्रान ३६३५
७ पिना (तोरी र तील) ७४०९
८ पिना (सुर्यमुखी) १४५५
९ गहुँको चोकर ६२४३
आ.व. ०७७।०७८ मा मूख्य मुख्य दाना कच्चापदार्थ आयात परिमाण (नोट ः बक्स बनाउने )
ख. दानाको मुल्यमा अत्याधिक मुल्य बढेको र कुखुराको उत्पादन लागत बढ्न गएको ।
०७७ सालको मंसीरदेखि ०७८ सालको मंसीर महिनासम्म दानामा ७ पटक मूल्य बढ्न गयो । यो वर्षमा दानामा प्रति केजी रू. २१।– का दरले बढ्यो । त्यसले गर्दा कुखुराको उत्पादन लागत मूल्य पनि बढ्न गयो । तर, कुखुराको मुल्यमा झन गिरावट आयो । दाना कम्पनी र हयाचरीलाई,सप्लायर्स र गोदाम अनि मासु व्यवसायीलाई नाफा चाहिने तर बडो दुःख गरी कुखुरा पाल्ने किसानले घाटा खाएर कुखुरा पाल्नुपर्ने ? यो न्यायको कुन सिद्धान्त हो ? व्यापारको यो कुन नियम हो ? यदि व्यापारको यस श्रृंखलामा किसानलाइ निकालिदिने हो भने के यो सिस्टम ले काम गर्छ ? यो व्यापारीक श्रृंखलामा के किसानलाइ निषेध गरेर आत्मनिर्भर कुखुरापालन व्यवसायको कल्पना गर्न सकिन्छ ?
मिति कुखुरा (ब्रोइलर) कुखुरा (लेयर्स)
०७७।०८।०२ ३.०० –
०७७।१०।११ २.०० १.०
०७७।११।२६ २.५० –
०७७।१२।२९ ३.०० –
०७८।०४।१८ २.०० १.५०
०७८।०६।०२ २.०० –
०७८।०८।१८ ६.५० ५.००
०७७ मंसिरदेखि ०७८ मंसिरसम्म दानामा भएको मुल्यवृद्धि
ग – बजारमा किसानको सिधा पहुँच नहुनु । बजारका लागि सप्लायर्सको भर पर्नुपर्ने ।
अहिले कुखुरापालन व्यवसायको चेन (श्रृंखला) यस्तो रहेको छ ।
ह्याचरी तथा दाना उद्योग सप्लायर्स — साना तथा मझौला किसान — सप्लायर्स । गोदाम — मासु व्यवसायी — उपभोक्ता
विभिन्न तहमा पाउने मूल्यश्रृंखला यस्तो रहेको छ ।
ह्याचरी तथा दाना उद्योग–सप्लायर्स–साना तथा मझौला–किसान –सप्लायर्स । गोदाम मासु व्यवसायी उपभोक्ता
दाना − रू. ६०।– चल्ला − रू. ३५।– दाना −रू. ८०−८४।– चल्ला − रू. ८०।– जिउँदो कुखुरा प्रति केजी रू. १८०−२२०।– जिउँदो कुखुरा प्रति केजी रू. २००−२४०।– तयारी कुखुरा प्रति केजी रू. ३२०−३६०।– मासु प्रति केजी रू. ४००−५००।–
नोटः बक्स बनाउने
यो श्रृंखलामा न त दाना, न त चल्ला उत्पादीत मूल्यमा किसानसम्म पुग्छ । नत किसानले उत्पादन गरेको मासु तथा अण्डा सोझै उपभोक्तासम्म पुग्छ । रू. ६०।– मा उत्पादन हुने १ केजी दाना र रू ३५।– मा उत्पादन हुने १ गोटा चल्ला किसानले क्रमश रू ८४।– र रू. ८०।– तिर्नुपर्छ । त्यसैगरी किसानले उत्पादन गरेको कुखुरा जिउँदो प्रति केजी रू. १८०−२२०।– मा बेच्न बाध्य छन् भने उपभोक्ताले मासु प्रति केजी रू. ४००।– रू. ५००।– तिर्न बाध्य छन् । यसले प्रष्ट देखाउँछ कि नाफाको ठूलो हिस्सा कहाँ जान्छ ।
घ – खुला सिमाका कारण भारतबाट अवैध रुपमा भित्रने कुखुराजन्य उत्पादन जस्तै अण्डा, चल्ला, जिउदो कुखुरा, चिस्साइएको मासु, मासुका अन्य परीकारहरु रोक्न नसक्नु ।
नेपालमा जब–जब जिउँदो कुखुराको र अण्डाको मुल्य उकालो लाग्छ र किसानले अब त नाफा हुन्छ कि भनि राहतको श्वास फेर्न लाग्छन् तब–तब माफियाहरू अवैध रूपमा जिउँदो कुखुरा र अण्डा भारतबाट भित्र्याउन सुरू गर्छन् । यी बिचौलियाले कहिल्यै किसानलाइ उठ्न दिँदैनन् । त्यसैगरी ठूलाठूला कोल्डस्टोर्सहरूले फ्रोजन मासु भारत, बंगलादेशदेखि आयात गर्छन् । यिनीहरूको बहाना के हुन्छ भने, किसानहरूले नियमित उत्पादन गर्न सक्दैनन् र हामीहरूको आवश्यक माग पूरा गर्न सक्दैनन् । किसान व्यवसायी छैनन् । यसो भनिरहँदा किसानले उत्पादन गरेको बस्तुको मूल्य नदिइ किसान मार्ने को हुन् ? किसानको लागत मूल्य आउने गरि यी माफियाहरू किसानबाट कुखुरा खरिद गरून् त किसानले यहाँको बजार धान्नेमात्र होइन कि बाहिर निर्यात गर्न सक्ने गरी मासु तथा अण्डा उत्पादन गर्न सक्दछन् । अहिले देशभरको खोरमा कुखुरापालन गर्ने हो भने मासु निर्यात गर्नुपर्ने अवस्था छ । किसानहरू त वर्षौं घाटा खाएर खोर खाली राखी व्यवसाय गर्दा लागेको ऋण तिर्न विदेशिन बाध्य छन् ।
ङ – मासुको परीकारमा विविधिकरण नहुनु । मासुको खपत कम हुनु ।
नेपालमा कुखुराको मासुको उपभोगमा विविधता छैन । उपभोक्ताको ठूलो हिस्सा कुखुराको मासु तरकारीका रूपमा मात्र प्रयोग गर्ने गर्दछन् । कुखुराको अर्को ठूलो हिस्सा किमामा जाने गर्दछ । अन्यथा रोष्ट, तन्दुरी, ससेज,चिकेन चिल्लीलगायत विभिन्न परिकारमा कम प्रयोग हुन्छ । मासुको परिकारमा विविधिकरण नहुँदा पनि मासुको खपत कम हुने गरेको छ । इजरायलीहरू प्रतिव्यक्ति वार्षिक ५८.५ केजी कुखुराको मासु उपभोग गर्छन् भने नेपालीहरू मात्र १४ केजी । यदि मासुको परीकारमा विविधिकरण गर्न सक्ने हो भने खपत ह्वात्तै बढ्न सक्छ ।
सबभन्दा बढी वार्षिक प्रतिव्यक्ति मासु (केजी) खपत गर्ने मुख्य १० देशहरू
क्र.सं. देश मासु खपत (के.जी)
१ इजरायल ५८.५
२ अमेरीका ४९.८
३ मलशिया ४६.७
४ अष्ट्रेलिया ४३.९
५ ब्राजिल ४०.६
६ अर्जेन्टिना ४०.४
७ साउदी अरेविया ४०.०
८ न्युजिल्याण्ड ३७.४
९ चिली ३६.१
१० दक्षिण अफ्रिका ३६.१
श्रोत ओइसिडी, एफएओ एग्रीकल्चरल आउटलुक
च – भारतीय रुची । भारतले नेपाललाई आफ्नो बजारका रुपमा लिनु ।
नेपाल दुई ठूला राष्ट्रका बीचमा रहेको छ । चीनसंग सीमित व्यापारीक कारोबार छ भने भारतसँग खुला व्यापार छ । भौगोलिक जटिलताले गर्दा चीनसँग कम र भौगोलिक सुगमताका कारण भारतसँग बढी व्यापारीक कारोबार हुनु स्वभाविक हो । तर, भारतसँगको खुला सिमाका कारण भारतीय कृषि उत्पादनको अवैध आयात (मूल्य कम राखी राजश्व कम तिरी नाकाबाट माल भित्र्याउनु पनि अवैध आयात नै हो ।) चोरी बाटो वा लुकाइछिपाइ कुखुरा,चल्ला तथा अण्डा भित्र्याउने जस्ता कार्यले नेपाली बजार । नेपाली उत्पादन मर्कामा परेको छ । भारतले नेपालबाट भारत जाने नेपाली वस्तुहरू जस्तै अदुवा, अलैंची, चियापत्ती जस्ता वस्तु महिनौं भन्सारमा रोकिदिने र त्यसको गुणस्तर खस्केपछि मात्र बजारमा जान दिने नीति तर आफ्नो विषादीयुक्त, अस्वस्थ्य उत्पादनहरू बलजफ्ती नेपाल भित्र्याउने नीति हानिकारक छ । भारत नेपाललाई आफ्नो पकेट बजार ठान्दछ । भारतीय रूची के हो भन्ने कुरा हामीलाइ प्रष्ट थाहा छ । यदि नेपाली उत्पादनले नेपाली बजार लिने हो भने भारतीय उत्पादन खपत कहाँ गर्ने उसको ठूलो चिन्ताको विषय हो । तसर्थ राज्यले भारतीय रूचीका सम्बन्धमा आफ्नो स्पष्ट दृष्टिकोण ल्याइ यसका लागि आवश्यक सकारात्मक कुटनीतिक पहल जरूरी छ ।
छ – नीतिगत अप्ठ्याराहरू
यदि कुखुरापालन व्यवसायलाई थप व्यवस्थित, मर्यादित र नाफामुलक व्यवसाय बनाउने हो भने नीति नियमहरूको कार्यान्वयनमा एकद्वार नीति आवश्यक छ । जस्तो कि – कुखुरालाई चाहिने भिटामिन, मिनरल्स, औषधिहरूको प्राविधिक ज्ञान कृषि मन्त्रालयमा छ । तर, ती भिटामिन, मिनरल्स, औषधीहरू ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको इजाजत चाहिन्छ । कुखुरा र अण्डा उत्पादन सम्बन्धी सबै काम कृषि मन्त्रालयमार्फत् हुन्छ तर कुखुरा र अण्डाको मुल्य निर्धारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्छ । दाना र औषधिको गुणस्तरमा हुने अनियमतताको छानविन गुण तथा नापतौल विभागमार्फत् हुन्छ । फेरि समय अनुरूप परिवर्तन हुनु पर्ने कानुनहरू अझ परिमार्जन हुन सकेका छैनन् । कसैले तौलमा गडबडी गरे ३० वर्ष पुरानो नियम अनुसार कारवाही हुन्छ । यसरी फरक–फरक मन्त्रालयमार्फत् काम कारवाही गर्नुपर्दा मन्त्रालयबीच समन्वय गर्न समय लाग्ग्ने र किसानले न्याय पाउन नसक्ने अवस्था रहेको छ । ढिला गरी न्याय पाउनु पनि न्याय नपाए सरह नै हो ।
२ आन्तरिक चुनौतीहरु
क – पूँजीको अभाव ।
ख – लहैलहैमा व्यवसायमा हात हाल्नु । विना बजारको अध्ययन, विना ज्ञान सीप, पेशामा हाम फाल्ने ।
ग – प्रतिस्पर्धी बन्न नसक्नु । गुणस्तर उत्पादनमाभन्दा सस्तो मुल्यमा प्रतिस्पर्धा गर्नु ।
घ – उत्पादनलाई बजारसँग जोड्न नसक्नु ।
ङ – व्यवस्थापकीय ज्ञानको कमी ।
च – किसानहरु संगठित हुन नसक्नु ।
कुखुरापालन व्यवसायका अवसरहरू
१ कुखुरापालन व्यवसायले वर्षभरमा रू २.५ खर्बको आर्थिक कारोबार गर्दै नेपालको कुल जीडीपीको ४ प्रतिशत हिस्सा ओगटेको छ ।
कुल जीडीपीको ४ प्रतिशत हिस्सा र २.५ खरबको स्वदेशी लगानी राष्ट्रिय पूँजी विकासको बलियो आधार बन्न सक्छ । यसलाई थप व्यवस्थित, व्यावसायिक र सांगठानिक रूप दिने हो भने थप ५ गुणा आर्थिक कारोबार र १० लाख भन्दा बढी रोजगार सृजना भइ कृषिमा आधारित दीगो अर्थतन्त्रको विकास हुन सक्दछ । यसले कृषिजन्य उत्पादनमा आयातमा हुने खर्बौंको व्यापार घाटा कम गर्नेछ । कुखुरापालन व्यवसायसंँगै यसका लागि आवश्यक कच्चा पदार्थ जस्तैः मकै र भटमासको पनि विकास र विस्तार हुनेछ ।
२ छिमेकी मुलुक चीनमा कुखुराको मासुको ठूलो बजार छ । चीनमा निर्यात गर्न सक्ने संभावना धेरै छन् ।
चीनमा अहिले पनि कुखुराको मासु अमेरीकादेखि आयात हुन्छ । प्रतिस्पर्धी मूल्यमा कुखुरा उत्पादन हुँदा हामी स्वभाविक रूपमा चीनमा कुखुराको मासु निर्यात गर्न सक्छौं । भारतमा १ केजी जिउँदो ब्रोइलर कुखुरा उत्पादन गर्न ने.रू. १८०।– लाग्छ भने अमेरीकामा रू. १६०।– लाग्दछ । नेपालमा भने १ केजी जिउँदो ब्रोइलर कुखुरा उत्पादन गर्न ने.रू. २४०।– लाग्दछ । स्थायी संरचना हुने र स्थायी रूपमा उत्पादन गर्न सक्ने हो भने चीनले अवश्य पनि अमेरीका भन्दा नेपालसँग व्यापार संझौता गर्नेछ । त्यसका लागि आवश्यक वातावरण तयार गर्न जरूरी छ ।
३ मासु र अण्डासंगै मकै, भटमास, माछा लगायतका कृषिजन्य उत्पादन मार्फत् ठूलो मात्रामा रोजगार र स्वदेशी पूँजीको विकास गर्न सकिन्छ ।
नेपालमा धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । सरकारले दानाका लागि आवश्यक कच्चा पदार्थ मकै, भटमास नेपालबाटै उलब्ध गराउने नीति लिने हो भने नेपालका सबै जग्गा जमिनमा हरीयाली छाउनेथियो । यसले थप रोजगारीको सिर्जना गर्ने थियो । त्यत्ति मात्र होइन, मकै र भटमास आयातका लागि वर्षेनी बाहीरीने ठूलो पूँजी (अरबौं रूपैयाँ ) नेपालमा नै रोकिने र राष्ट्रिय पूँजी विकासमा थप टेवा पुग्नेथियो ।
४ कुखुराको मासुबाट सस्तो र सुलभरूपमा मानव शरीरलाइ चाहिने प्रोटिन प्राप्त गर्न सकिन्छ ।
कुखुराको मासु मानव शरीरलाइ आवश्यक पर्ने प्रोटिनको सबभन्दा सस्तो र सुलभ श्रोत हो । कुखुराको मासुमा २८ प्रतिशत प्रोटिन पाइन्छ । प्रोटिनको सहज प्राप्तिले मानिस थप निरोगी र स्वस्थ्य रहनेछन् । मानिसको कार्यक्षमतामा वृद्धि हुनेछ । यसले परिवारमा पर्न जाने आर्थिक भारलाइ कम गर्न सघाउ पुग्नेछ ।
कुखुरापालन व्यवसायलाइ आत्मनिर्भर बनाउन के गर्नपर्छ ?
१ दानाको लागि आवश्यक कच्चा पदार्थ जस्तै मकै, भटमास, माछाको धुलोलगायतका कृषिजन्य उत्पादन नेपालमै गर्ने । दाना कम्पनीहरूले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थका लागि जग्गा लीजमा लिइ वा किसानहरूसँग समन्वय गरी मकै, भटमास, तोरी, तिल, सूर्यमुखीलगायतका कृषि उपज उत्पादन गर्ने । सरकारले जग्गा लीजमा लिन भूमि बैंकमार्फत् सहजीकरण गर्ने ।
२ उत्पादन लागत कम गर्न दाना कम्पनीबाट सिधै खोरसम्म दाना पु¥याउने । किसानहरूलाइ मुल्य श्रृंखलासँग जोड्ने । सहकारीमार्फत् किसानहरूलाइ संगठित गर्ने ।
३ अवैध रूपमा भारतबाट भित्रने पशुपंक्षीजन्य उत्पादन रोक्न थप क्वारेण्टिनको व्यवस्था गर्ने । क्वारेण्टिनलाई दक्ष जनशक्ति र आधुनिक प्रविधियुक्त बनाउने । लुकीछिपी आउने कृषिजन्य उपज जफत गरी नष्ट गर्ने । सामानको मूल्य बराबरको रकम थप जरीवाना गराउने ।
४ मासुको उत्पादनमा विविधीकरण गर्ने । स्वदेशी उत्पादनको खपत बढाउन कडा नीति नियमहरू बनाउने । बाह्य बजारको खोजी गर्ने ।
५ किसानको सहभागितासहितको राष्ट्रिय पोल्ट्री विकास बोर्डको गठन गर्ने ।
६ राष्ट्रियस्तरको मूल्य निर्धारण समिति र राष्ट्रियस्तरको अनुगमन समिति बनाउने । यी समितिहरूको कार्यक्षेत्र स्पष्ट उल्लेख गर्ने ।
७ नीतिगत बेथितिहरूको अन्त्य गर्ने ।नीतिनियमहरूको कार्यान्वयनमा एकद्वार नीति अपनाउने ।
८ कम मूल्यको बील बनाइ वा अन्य वस्तुको सट्टा कुखुराको मासु र मासुबाट बनेका अन्य परिकारहरू भित्र्याउने कामलाई थप कडाइ गर्ने । त्यस्तो बस्तु जफत गरी बस्तुको मूल्य बराबरको रकम जरीवाना तिराउने ।
(ध्रुव श्रेष्ठ, किसान हुन् । बा.न.पा. १४, बागलुङमा श्रेष्ठ एग्री फार्महाउस संचालन गर्छन् । कुखुरापालक किसान संघका केन्द्रीय सदस्य उनी हाल किसानद्वारा संचालित किसान आन्दोलनका सक्रिय सदस्य हुन् ।)





