स्नायु प्रणालीसम्बन्धी रोग (डिस्टोनिया) बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक किशोरको उपचारमा आर्थिक सहयोग गर्न उनको परिवारले अपील गरेको छ।
मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षीयदीनेश गुरुङको उपचार भारतमा लगेर गर्नुपर्ने अवस्थामा जीवनरक्षा गर्नका लागि आर्थिक सहयोगको अनुरोध गरिएको हो ।
स्थानीय समाजसेवी जयप्रकाश गुरुङका अनुसार दिनेश १२ वर्षको हुँदा स्वास्थ्यसम्बन्धी समस्या देखा परेको थियो। लगत्तै पोखरा र काठमाण्डौका विभिन्न अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराउँदा नशासम्बन्धी समस्या रहेको चिकित्सकहरूले बताएका थिए। नशा सम्बन्धी रोगको उपचार गरिरहँदा समेत स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप परीक्षण गर्दा करिब पाँच महिना अगाडि मात्रै दीपेशमा डिस्टोनिया रोग रहेको पत्ता लागेको हो।
‘यो परिवारले निकै दुःख पाएको छ। त्यो बाबु १२ वर्षको हुँदाबाट स्वास्थ्यमा समस्या देखिएको हो। पोखरा र काठमाडौंका धेरै अस्पतालमा गएर थुप्रो पैसा खर्च गर्दा पनि रोग निको भएन,’ उनले भने,‘लगभग पाँच महिना अगाडि मात्रै डिस्टोनिया भन्ने रोग लागेको पत्ता लाग्यो। पहिले त अवस्था बरु ठीकै थियो, अहिले त अवस्था नै गम्भीर बनेको छ।’
उनको उपचार र त्यससँग सम्बन्धित औषधिहरू नेपालमा सहजै नपाइने भएका कारण चिकित्सकहरूले दीपेशलाई भारतमा लगेर उपचार गराउन सल्लाह दिएको आमा तारादेवी गुरुङले बताइन्। नौ वर्षसम्म उनको उपचारमा करिब २० लाख जति खर्च भइसकेको बताउँदै उनले अब भारतमा लैजाँदा पनि करिब ३० लाख खर्च लाग्ने भएकोले सहयोगबिना छोरा बचाउन सकिने अवस्था नरहेकोले दुखेसो गरिन् ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण परिवारले मात्रै आर्थिक भार थाम्न सक्ने अवस्था छैन। दीपेशका बुवा रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए। तर, उनमा पनि स्वास्थ्य समस्या देखिएपछि केही वर्षअघि नै उनी नेपाल फर्किए। विदेशमा जम्मा गरेको केही रकम पनि दीपेशकै उपचारमा खर्च भइसकेको छ। जीविका चलाउनको लागि डिमुवामा नै सामान्य खाजा पसल गर्दै आएको भए पनि त्यसको उपार्जनले दीपेशको उपचार सम्भव नभएको आमा तारादेवी बताउँछिन्।
दुई छोरी र एक छोरा उनीहरूका सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको छ। दीपेशकी कान्छी दिदी २७ वर्षिया रोशनी गुरुङ पनि सुस्त मनस्थितिको भएका कारण परिवारमा समस्या भएको समाजसेवी जयप्रकाशले बताए।
दीपेशको परिवारलाई सघाउन समाजसेवी जयप्रकाश गुरुङले नै हङकङमा रहेका आफन्तहरूलाई अनुरोध गरेर आर्थिक सहयोग गर्न भनेपछि उनीहरूले केही रकम समेत दिएका छन्। हङकङमा रहेकी जगन गुरुङको सक्रियतामा संकलन गरिएको ८० हजार पाँच सय रुपैयाँ आइतबार दीपेशको परिवारलाई हस्तान्तरण गरिएको छ।





