पर्वत\म्याग्दी र पर्वतका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको लागि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम पर्वतमा सम्पन्न भएको हो । अघिल्लो आर्थिक वर्षदेखि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा रहेको म्याग्दी र चालु आर्थिक वर्षबाट कार्यक्रम लागू हुँदै गरेको पर्वत जिल्लालाई केन्द्रीत गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी गण्डकी प्रदेश संयोजक पवित्रा सापकोटाले बताइन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको संघीय मामिला महाशाखाका प्रमुख सहसचिव बसन्त अधिकारी, मन्त्रालयका उपसचिव रेशम कँडेल र पोषणविज्ञ शेरसिँह दहितले सहजीकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै उनीहरुले बालबालिकाको सकै पक्षको समानुपातिक विकास गर्नको लागि सुनौला हजार दिन निकै महत्वपूर्ण हुने र त्यसपछि पाँच वर्षको उमेरसम्मको अवस्था प्रभावकारी रहने भएकोले त्यो उमेरमा बालबालिकाहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरे । गर्भाधान भएको दिनदेखि हजार दिनसम्ममा ८० प्रतिशत र पाँच वर्षसम्ममा ९० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यही समयमा उनीहरुलाई आवश्यक पोषणको मात्रा पूरा गरिएको हुनुपर्ने उनीहरुको सुझाव छ ।
यस्तै ९५ प्रतिशत क्रोनिक रोगहरु खानाका कारणबाट सुरु हुने भएकाले खाना नै व्यक्तिलाई रोगी बनाउने तत्व भएकाले खानपानको कुरामा विशेष ध्यान दिन र त्यसका लागि स्थानीय तहहरुले विशेष जोड गर्ने खालका कार्यक्रमहरु आवश्यक भएको औँल्याइएको थियो ।
कार्यक्रममा शिक्षक दुर्गादत्त भुसाल, जलजला गाउँपालिकाका सामाजिक विकास शाखाका कर्मचारी लिलाधर सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजु सुनार, म्याग्दीको मंगला गाउँपालिकाका अधिकृत राजेन्द्र आचार्य लगायतले सहजकर्ता सामु जिज्ञासा र सुझाव राखेका थिए ।
कार्यक्रम समापनमा म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल, पर्वतको पैयूँ गाउँपालिकाका प्रमुख खगेन्द्र प्रसाद तिवारी, जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्रबहादुर केसी र जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी. पौडेलले भनाई राखेका थिए ।
पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङका अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पर्वतका कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले समान छ लाख ७० हजार रुपैयाँ तथा जलजला गाउँपालिका, पैयूँगाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र बिहादी गाउँपालिकाले समान छ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाले आठ लाख रुपैयाँ र बाँकी रहेका मंगला, धौलागिरी, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकाले समान सात लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी मन्त्रालयले दिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।





