बागलुङ/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बागलुङ बजारमा एटीएमसेवा सुरु गरेको छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको सहकारीको शाखा कार्यालयबाट एटीएम सेवा सुरुवात भएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सोमबार एक कार्यक्रमवीच एटीएम सेवाको शुभारम्भ गरे । पौडेलले सहकारी संस्थाहरुलाई पनि पेपरलेश (कागज रहित) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्नेमा जोड दिए । सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरुले सर्वशुभल रुपमा आफ्नो शेयर सदस्यलाई सेवा दिनुपर्नेमा धारणा राखेका थिए ।
भक्तपुरमा प्रधान कार्यालय रहेको सहकारीले किसानलाई लक्षित गरि कृषि उपज खरिदबिक्री केन्द्र संचालन गरिसकेको र दाङ जिल्लामा जग्गा खरिद गरि रोल्पा रूकुमका किसानलाइ फाइदा पुग्ने अदुवा बेसार सुकाउने अत्याधुनिक प्लान्ट स्थापना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका– २ का वडा अध्यक्ष जीवन आचार्यले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन सहकारीका बागलुङ प्रमुख विष्णु भुसालले गरेका थिए ।
साथै संस्थाले फागुन महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिन शुरूवात गरेको जनाइएको छ । मुलुकका विभिन्न २५ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । सहकारीले देशभरका २५ वटा सेवा केन्द्र र मार्टमा ६९७ जनालाई रोजगारी दिएको छ ।





