बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अण्डा उत्पादन छ, समानुपातिक वितरण छैन

अण्डा उत्पादन छ, समानुपातिक वितरण छैन

अण्डाको उत्पादन बढेको छ तर त्यही अनुपातमा खपत छैन ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७८, बिहिबार

बागलुङ/ अण्डामा नेपाल आत्मनिर्भर बन्दै गएपनि लक्षित समूहसम्म अण्डाको वितरण नपुगेको सरोकारवालाले बताए । बालबालिका, गर्भवती महिला र किशोरी समूहमा अण्डा आवश्यक भएपनि ती समूहले थोरै मात्र अण्डा खाएको तथ्यांक भेटिएको हो ।
‘औषत उत्पादनले एक नेपालीलाई वर्षमा ४८ वटा अण्डा खान पुग्छ, तर अहिलेसम्म लक्षित १३ प्रतिशतले मात्रै अण्डा खाएका छन्’, पशु चिकित्सक डा. अनन्त कोइरालाले भने, ‘यो साह्रै कम संख्या हो ।’ अण्डाबाट कुपोषण र ख्याउटेपन घटाउन सहयोग पुग्ने भएपनि खाने बानीमा विकास गर्न नसकिएको उनले बताए ।

अण्डामा पाइने भिटामिन बी १२ र बी ५ ले रोग प्रतिरोधी क्षमता बढाउने, मांसपेशी बलियो बन्ने र छालाको सुरक्षा गर्ने उनको भनाइ छ । त्यस्तै मुटुरोगीलाई समेत अण्डा उपयोगी भएको पत्ता लागेको छ । गर्भको शिशुलाई राम्रो, स्नायु प्रणालीमा सुधार रगतको हेमोग्लोबिन बढाउने, हड्डी बलियो, भिटामिन के समेत पाइने भएकोले कोल्डस्टोर पनि घटाउने उनले बताए । तर, नेपालको सामाजिक तथा साँस्कृतिक चलनले अण्डाको उपभोग कम गरेको छ ।

‘कहिले ब्रत बस्ने, कहिले माछामासु नखाने संस्कारले लक्षित समूहले अण्डा खान पाएका छैनन्’, उनले भने, ‘यो अवस्था बदल्न विद्यालय स्तरमा खाजामा अण्डा अनिवार्य गर्न जरुरी छ ।’ बालबालिकामा अण्डा खाने बानी बसाल्न गर्न सकेमा बालबालिकाको शारीरिक र बौद्धिक विकास हुने उनले बताए ।
सुआहारा परियोजनामार्फत बागलुङमा बिगत दश वर्षदेखि अण्डाको महत्व सिकाएर पनि खानेबानीको विकास हुन नसक्नु दुःखद भएको टिप्प्णीसमेत भएको छ । अण्डाबाट आइरन, प्रोटिन र कार्बोहाइड्रेड पाइने भएपनि खानेबानी भने नभएको हो । ‘अण्डा मिलाएर खान सकेमा अपांग बच्चा जन्मिदैन, किशोरीहरुमा रक्तअल्पता पनि हुँदैन’, सुआहारा परियोजनाका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत केशव भुषालले भने,‘उत्पादन बढीरहेको छ, तर कता खपत भएको छ खोज्न सकिएको छैन ।’ परिश्रम नगर्ने मानिसले खाँदा कुपोषण नघट्ने भन्दै गर्भवती अवस्थादेखि बालबालिका र किशोर अवस्थामा उपयोग गर्ने बानी विकास गर्न उनले सुझाव दिए ।

भुषालका अनुसार २०६८ सालमा ६४ करोड अण्डा उत्पादन भएको नेपालमा २०७० सालमा ८० करोड, २०७३ सालमा १ सय ३५ करोड र २०७६ मा आइपुग्दा १ सय ५० करोड अण्डा उत्पादन भएको छ । अध्ययन अनुसार ११ प्रतिशत सुत्केरी र १३ प्रतिशत बालबालिकाले मात्रै अण्डा खाने गरेको तथ्यांक भेटिएको उनले बताए ।

सुआहारा परियोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनमार्फत बागलुङमा पोषण सम्बन्धी अभियान संचालन भएको छ । उक्त अभियानले पनि अण्डाको उत्पादन र उपभोगमा वृद्धिमा जोड गरेको फाउण्डेसनका अध्यक्ष यमप्रसाद कंडेलले बताए ।
बुधवार आयोजित अण्डा प्रवद्र्धनमा स्थानीय क्षेत्रको सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा सुआहारा परियोजनाका प्रमुख राजेन्द्र अधिकारी, बागलुङ नगरपालिका पशुशाखाका प्रमुख शशी शर्मा र सुआहारा परियोजनाका कृषि अधिकृत भुषालले अण्डाको फाइदा र उत्पादनबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा भेटेनरी व्यवसायी भवनराज बराल, अण्डा व्यवसायी ओमराज शर्माले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->