पर्वत/ नक्कली कागजातहरू बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय आशिष केसीलाई पक्राउ गरिएको हो । आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदाहुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू संकलन गरी पुन ः अर्को नागरिकता प्रमाण पत्र लिएको पाइएको इन्स्पेक्टर अधिकारीको भनाइछ ।
उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू उपर छानबिन गरी आवश्यक कारबाहीको लागि पठाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतबाट शुक्रबार प्रहरीमा गएको पत्र अनुसार शुक्रवार नै केसीलाई नियन्त्रणमा लिइएको हो ।
केसीका विरुद्धमा लिखतसम्बन्धी कसुर ‘किर्ते गर्न नहुने’ मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।





