बागलुङ/ स्थानीय तह गठन हुनुपूर्व पर्वतको देविस्थान गाउँ विकास समितिले निर्माण गरेको अधुरो भवनलाई पुरा गरेर सञ्चालनमा ल्याएको छ । फलेवास नगरपालिकाले गाउँ विकास समितिले निर्माणकै चरणमा छोडेको भवनलाई मर्मत गरेर वडा कार्यालय भवनको रुपमा प्रयोगमा ल्याएको हो । भवन फलेवास नगरपालिका–६ को कार्यालय रहने छ ।
मर्मतपछि निर्माण भएको सुविधसम्पन्न वडा कार्यालय भवनको नगरप्रमुख पदमपाणी शर्माले मंगलबार उद्घाटन गरे । उनले पिल्लरमा इट्टा जोडेर गिज्याउने गरी छोडिएको भवनलाई पूर्णता दिई सञ्चालनमा ल्याएको भन्दै लामो समय लगाएर उक्त भवन नगरको स्वामित्वमा ल्याएको बताए । ‘हामीले आजका लागि होईन भोलीका लागि संरचनाको निर्माण गरिरहेका छौं, नयाँ संरचना बनाउँदा पुराना संरचना जिवित राख्छु भनेर हुँदैन्’ उनले भने ‘नगरका पाँच वडाका प्रशासनिक भवन बनेका छन्, दुई वडाका लागि जग्गाको खोजी भैरहेको छ, बाँकी बन्ने क्रममा रहेका छन् ।’
वडा कार्यालय भवनको दोस्रो तल्लामा ट्रस हालेर बिभिन्न कक्षहरु निर्माण गर्ने योजना रहेको इञ्जिनियर टंक खत्रीले बताए । अहिले तयार भएको पहिलो तल्लामा ५ कोठा र सभाहल तयार भएको छ । शौचालय, स्नान गृहसमेत सुविधासम्पन्न बनाईएको उनले बताए ।
नगरले ३ लाख ६२ हजार खर्चेर भवनको मर्मत गरेको थियो । भवन निर्माण भएपछि वडाका प्रशासनिक कामको सम्पादनमा सहज हुने वडा अध्यक्ष भोलानाथ भुसालले बताए ।
उद्घाटन कार्यक्रममा वडा नं. २ का अध्यक्ष गंगा नारायण श्रेष्ठले नगरमा बनेका पूर्वाधारको प्रचार प्रसार कम भएको बताए । २०६९ सालबाट नेपाल सरकारको सहयोगमा गाउँ विकास समितिको लागि भवन निर्माण थालिएको थियो । बजेट अभावमा भवन अलपत्र अवस्थामा थियो । साविकको देविस्थान गाविस र अहिलेको वडा नं. ६ को भौगोलिक केन्द्र पर्ने गरी भवन तयार गरिएको हो ।





