पोखरा\पश्चिमाञ्चल होटल संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने फेवा नववर्ष महोत्सवका लक्षित गरी छुटको घोषणा गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित छलफल तथा अन्तत्र्रिmया कार्यक्रममा संघले छुटको घोषणा गरेको हो ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनालाई होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । कोभिड १९ बाट प्रभावित पर्यटनलाई पुनर्जागृत गर्न पोखराका विभिन्न पर्यटकीय सेवा सुविधामा विभिन्न क्षेत्रका ब्यवसायीले ३० देखि ५० प्रतिशत छुट दिंदै आएको स्मरण पनि अध्यक्ष सुवेदीले गराए । आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहात महसुस गरेको भन्दै उनले विगतमा ३ प्रतिशत हाराहारीमा रहेको आन्तरिक पर्यटक आगमन अहिले पोखरामा ४० प्रतिशत पुगेको जानकारी दिए । अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने यथार्थ स्थापित गराउन अभियानले सफल भएको बताए । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र यातायात ब्यबसायी सरोज खनाललगायतले भनाई राखेका थिए ।





