बागलुङ/ बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं. १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखा दुग्ध उत्पादक सहकारीले मंसिर महिना यताको भुक्तानी नगरेका हुन् ।
यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाहरुले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् ।
सहकारीहरुमार्फत बिक्री हुँदै आएको दूधको भुक्तानी समयमा नपाउने यो नयाँ घटना भने होइन । गत वर्षसमेत बागलुङ र पर्वतका डेरी पसलहरुले भुक्तानी नदिएको बहानामा किसानको दूधको भुक्तानी रोकिएको थियो । बागलुङ र पर्वतमा बिक्री गर्दा समस्या भएको भन्दै पोखराको डेरी पसललाई दूध उपलव्ध गराएका सहकारीले यो वर्ष पनि किसानलाई समयमा भुक्तानी दिन नसकेका हुन् ।
बिक्रीबाट आउने रकम भुक्तानी नपाउँदा किसानलाई दैनिकी चलाउन कठिन भएको बागलुङ नगरपालिका–१२ का किसान बाबुदेव पौडेलले बताए । पौडेलले चार महिनाको ५५ हजार बढी रकम भुक्तानी पाउन बाँकी छ । ‘अरु आयस्रोत भएकाका लागि त समस्या नहोला तर हाम्रो त चल्ने स्रोत भनेकै दूध हो’, पौडेलले भने ‘समयमा दुधको भुक्तानी नआउँदा सहकारीले चासो दिएन् ।’ उनले सहकारीले चासो दिएर डेरीसँग भुक्तानी मागेको भए समस्या नआउने बताए ।
किसानले गाईभैंसीका लागि आवश्यक दाना चापटको समयमा भुक्तानी गर्न नसक्दा समस्या आएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । ‘हामीले सहकारीलाई जानेर दूध दिने हो, बजारमा के भएको छ भनेर उहाँहरुले खोज्ने कुरा हो’, किसान पौडेलले भने ‘बेच्न नलैजाउँ भने कहाँ फाल्नू, सहकारीलाई दिएको दूधको पैसा पाउन सधैं कठीन हुने गरेको छ ।’ सहकारीले जगेडा कोषको व्यवस्था गरेरै भएपनि किसानलाई समयमा भुक्तानी दिनुपर्ने उनले बताए ।
सहकारीले भने बिक्री केन्द्र र लभकुश डेरीले पैसा रोकेका कारण किसानलाई भुक्तानी दिन नसकेको बताउँदै आएका छन् । ‘हामीले दूध दिएको पोखराको लभकुश डेरीले मंसिरदेखिको पैसा दिएको छैन्, पैसा आए हामी रोक्दैनौं’, कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले भने ‘हाम्रो किसानको भुक्तानी रोक्ने कुनै मनसाय होइन, हामी पनि किसान हौं, बजारमा समस्या भएकाले रोकिएको हो ।’ लभकुश डेरी पोखराले महामारीको समयमा बजारमा बिक्री भएको भुक्तानी पाउन बाँकी रहेको भनेर समयमा भुक्तानी नदिएको लामिछानेले बताए ।
लभकुश डेरी पोखराले भने सहकारीहरुलाई दिने रकमको बिषयमा हिसाब हेरेपछि मात्रै थाहा हुने बताएको छ । ‘के कति बाँकी छ हिसाब नहेरी थाहा हुँदैन’, डेरीको लेखा शाखामा काम गर्ने बैकुण्ठ ढुंगानाले भने ।
सहकारीहरुले डेरीको तर्फबाट ४० देखि ४५ लाख रुपैयाँ पाउन बाँकी रहेको एक सदस्यले बताए । दैनिक दूध गइरहेको र भर्खरै मात्र दुधको मूल्य बढेकाले पाउनुपर्ने रकम तलमाथि हुने उनले बताए । यहाँका सहकारीहरुले दैनिक १ हजारदेखि १५ सय लिटर दूध पोखरा, कुश्मा र स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।





