बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बीऊको बजार अभावमा मुला लगाउन छाडियो

बीऊको बजार अभावमा मुला लगाउन छाडियो

बीऊ बेचेरै किसानले वर्षमा ५ लाखसम्म पनि कमाउन सकेका थिए । तर पछिल्लो समय हाइब्रिडले बजार खाएपछि किसानले बीऊ लगाउन छाडेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७८, शुक्रबार

बागलुङ/बीऊ उत्पादनमा प्रसिद्ध मानिएको कुश्मीसेरामा पछिल्ला केही वर्षदेखि किसानले मुला लगाउन छाडेका छन् । उनीहरुले बजार नपाएको भन्दै मुला लगाउन छाडेका हुन् ।
२०५२ सालदेखिनै मुलाको बीऊमा अब्बल मानिएको जैमिनी नगरपालिका–१ को टारमा किसानले मुलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा खेतबारी बाँझै राख्न थालेको बताए ।
‘बीऊबाट मनग्ये कमाइ थियो तर आजकल मूल्य पाउनै छाडियो’, जैमिनी नगरपालिका–१ का मोतीप्रसाद पौडेलले भने, ‘६ हजार केजीसम्म बीऊ फल्ने कुश्मीसेरामा ६÷७ केजी पाउन पनि मुस्किल छ ।’ धान भित्र्याएपछि लगाएको मुलाले चैतमा उत्पादन दिन्थ्यो । बीऊ छिनेर मकै लगाउन सकिने भएपछि धेरै किसान मुला लगाउन हौसिन्थे । बीऊ बेचेरै पौडेल लगायतका किसानले वर्षमा ५ लाखसम्म पनि कमाउन सकेका थिए । तर पछिल्लो समय हाइब्रिडले बजार खाएपछि किसानले बीऊ लगाउन छाडेका हुन् । उनीहरुको काममा साथ दिने कृषि कार्यालयसमेत हटेपछि किसान अभिभावकविहीन भएको बताए ।
कृषि मन्त्रालयले ‘कोशी पहाडी तरकारी आयोजना’ र ‘बीऊबिजन प्रवद्र्धन कार्यक्रम’मार्फत् कुश्मीसेरामा मुलाको बीऊ लगाउन थालेको थियो । काठमाडौं र भैरहवाका व्यापारी आएर उनीहरुको उत्पादन खरिद गरेर लैजान्थे । त्यसबाट किसानले राम्रो कमाईसमेत गरेका थिए । टारमा अहिले मुला देख्न छाडियो । झण्डै ८ सय रोपनी जमिनमा लगाउने मुला अहिले दुइचार रोपनीमा खुम्चेको छ । त्यो पनि बिक्रीका लागि नभई एकदुई जना किसानले घरमै प्रयोग गर्न लगाएका हुन् ।
बजारमा आएका हाइब्रिड जातका तरकारी र बीऊबिजनले किसानको सपना सबै चकनाचुर पारिदिएको स्थानीयले गुनासो गरे । किसानले दुःख गरेर फलाउँदा प्रतिकेजी १ सय ५० पर्ने मुलाको बीऊ बजारमा १ सयमै पाइन थालेको पौडेलले बताए । हाइब्रीड लगाएपछि अर्को वर्ष बीऊ लाग्दैन ।
बसाइसराइले कतिपय किसान मधेस पुगे । युवाहरु खाडी र युरोपमा पसेपछि बाबुआमालाई काम नगर्न सुझाए । ‘हामी पैसा पठाइदिन्छौं, काम नगर भनेर फुक्र्याएपछि घरमा बसेका बाबुआमाले जग्गा बाँझै छाडिदिएका छन्’ स्थानीय माया नेपालीले भनिन्, ‘दुःख गर्न नचाहने, बजारमा किन्ने र व्यापारीले पनि हाइब्रीडमा जोड दिएपछि किसानको उत्पादन मासिएको हो ।’
हाइब्रीड बीऊ एकपटकका लागि मात्रै हुन्छ । किसानले फलाएको बीऊ भने पटकपटक प्रयोग गर्न सकिन्थ्यो । कतिपय जमिन घडेरीको रुपमा बिक्री गर्र्ने, बेसाहा खाएर खेत बााँझै राख्ने चलन बढेको छ । धान, मकै र तरकारी फलाएर अन्यत्र पठाउने कुश्मीसेरा बजारमा तराइको तरकारी र हाइब्रीड बीऊ भित्रन थालेको हो ।
कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत दीनेश पाठकले किसानको उत्पादनको ल्याब परीक्षण नभएको र व्यापारीसँग जोडिने अभिभावक कार्यालय नभएर सम्बन्ध टुटेको बताए । ‘बीऊको गुणस्तर नाप्ने ल्याबसँग किसान जोडिन सकेनन्, कृषि कार्यालय पनि तीनचार बर्षसम्म रहेन’ पाठकले भने, ‘बजारमा हाइब्रीडले डेरा जमाइसकेको छ ।’ अब फेरी अनुगमन गरेर उत्पादनमा जोड दिने योजना उनले सुनाए । पछिल्ला दुई वर्षसम्म अनुदानको कार्यक्रम भएपनि किसान र कार्यालयबीच भेटै नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->